\
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।
बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताएका हुन् ।
देउवाले सबै नेतालाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनको भनाइ छ । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीका रूपमा निर्माण गर्ने उनको भनाइ छ ।
‘मलाई के कुरामा विश्वास छ भने हाम्रो अर्जुन दृष्टि भनेको आउने आम निर्वाचन, आउने निर्वाचनमा पार्टीलाई एक बनाएर लानसक्ने जुन उहाँको खुबी छ, त्यो नै उहाँको दोस्रो कार्यकालमा निर्वाचित हुनुको मूल कारण हो भन्ने मलाई लागेको छ । र उहाँको दोस्रो कार्यकाल हामी एउटा स्ट्रोङ टिमवर्क गरेर यो पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित, जनता केन्द्रीत, देश केन्द्रीत, देशको स्वार्थ र आवश्यकता केन्द्रीत पार्टीको रूपमा एउटा गतिशील पार्टी हामी निर्माण गर्छौ । उहाँ सबैलाई व्यवस्थापन गर्नुहुन्छ । शेरबहादुरजीको मूल खुबी नै व्यवस्थापन गर्नसक्ने उहाँको खुबी हो’ उनले भने ।
पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भीड लागेको छ । नेता, कार्यकर्ताले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।
देउवालाई बधाई दिन बालुवाटार पुगेका कांग्रेसका नेता अब्दुल सतारले प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाई बहुमत दिलाउन्का लागि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे । आगामी दिनमा पार्टी सशक्त भएर अगाडि बढ्ने उनले बताए ।
नेता सतारले देउवालाई कांग्रेसका नेता, कार्यकर्ताहरू काँधमा काँध जोडेर सहयोग गर्न तयार रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।