धनराजको प्रकाशमानलाई कटाक्ष - छोराले लुकेर भेडा सबै बेचिदिन्छ

नेपाली कांग्रेसको फेरि सभापति भएपछि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा बधाई र शुभकामना ग्रहण गरिरहेका छन् । उनको जितमा निर्णायक बने – प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ ।

यी तीनै जना सभापति पदको निर्वाचनमा देउवासँग प्रतिस्पर्धा गरेका थिए । दोस्रो चरणमा देउवालाई समर्थन गर्दा सभापति पदका अर्का उम्मेदवार डा. शेखर कोइराला हार्न पुगे । 

हारेका शेखरले मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्न बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गरे । कार्यक्रममा महामन्त्री पदका उम्मेदवार डा. मीनेन्द्र रिजालपछि बोले उपसभापति पदमा उम्मेदवार धनराज गुरुङले ।
उनले प्रकाशमान सिंहलाई लक्षित गर्दै भने, ‘मलाई विश्वासै पनि छैन । बडो अचम्म लागिरहेको छ । पटक्कै विश्वास छैन । म मान्न पनि मान्दिनँ । विश्वास पनि छैन । तर, मैले विश्वास नमान्दा नमान्दै पनि एउटा कुरा अचम्म लागिरहेको छ । बाबु भन्छन्, छोरा यी भेडा होइनन् तर, छोरा लुकेर भेडा सबै बेचिदिन्छ ।’

कांग्रेसका तत्कालीन सर्वोच्च नेता गणेशमान सिंहले नेपाली जनतालाई भेडा भनेको प्रसंग अझै पनि चलिरहन्छ । गणेशमानको त्यही प्रसंगलाई घुमाउरो शैलीमा जोड्दै प्रकाशमानमाथि गुरुङले कटाक्ष गरेका हुन् ।

महाधिवेशनमा प्रकाशमानले नैतिकता पनि बेचेको टिप्पणी गुरुङको छ । तर, गणेशमानले राजनीतिमा नैतिकता हुने र जुन बेच्न नहुने भनेकोमा प्रकाशमानले भने मौकामा नैतिकता बेचिदिएको बताए । 

निर्वाचनमा शेखरको हारलाई उनले जितको रूपमा व्याख्या पनि गर्न भ्याए ।
‘शेखर कोइरालाको आज मत गन्दै गर्दा, टाउको गन्दै गर्दा अलिकति कम भयो होला तर हामी विचारले हारेका छैनौँ । विचारले जितेको छ । आस्थाले जितेको छ । सदाचारले जितेको छ । त्ससले गणेशमानजी, किसुनजी, महेन्द्रनारायण निधिजी, विपी कोइरालाको रगतले मात्रै छोरा होइन । हामी छोराको दाबेदार हौँं । निष्ठाको दाबेदारीहरू हौँ । आज हामीले हारेका छैनौँ ।’



उनले उच्च मनोबलका साथ कांग्रेसलाई सशक्त पार्टी बनाउने र निष्ठाको राजनीतिमा डोहोर्‍याउने प्रयत्न गरिने बताए ।



  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १६:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया