अर्थतन्त्रमा खतराको घण्टी : अधिकांश सूचक नकारात्मक
विप्रेषण ह्वात्तै घट्यो

उच्च तरलता संकट, शोधनान्तरमा देखिएको उच्च घाटा र विदेशी मुद्राको सञ्चितिमा आएको गिरावटले अर्थतन्त्र गम्भीर अवस्थमा पुगेको देखिएको छ । चालू आर्थिक वर्षका पहिलो चार महिनामा देखिएका यी सूचकहरूले अर्थतन्त्रको अप्ठेरो अवस्था आकलन गर्न थालिएको हो ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा भएको उच्च आयात र रेमिट्यान्स आप्रवाहमा कमीका कारण शोधनान्तर घाटा उच्च भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब रुपैयाँले घाटामा छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० रुपैयाँले बचतमा थियो ।

यति मात्रै होइन, विदेशी मुद्रा सञ्चितिमा समेत गिरावट आएको छ । समीक्षा अवधिमा विदेशी मुद्रा सञ्चितिमा ११ प्रतिशतले गिरावट आएको छ । गत आवको सोही अवधिमा नेपालको विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा चालू आबको सोही अवधिमा घटेर १२ खर्ब ४४ अर्ब रुपैयाँ झरेको छ ।

महँगीको चाप उस्तै

पछिल्लो महिना बजारमा महँगी ह्वात्तै बढ्दा सर्वसाधारणले निकै सास्ती व्यहोर्नुपरेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत रहेको थियो ।



समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत रहेको छ । कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेल, यातायात, माछा तथा मासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २९.११ प्रतिशत, १२.३६ प्रतिशत, १०.९१ प्रतिशत, १०.७० प्रतिशत, १०.३० प्रतिशत र १०.२४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५.०० प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ कात्तिकमा यी क्षेत्रमा क्रमशः ३.३९ प्रतिशत, ४.६९ प्रतिशत, ३.६४ प्रतिशत र ४.३२ प्रतिशत मुद्रास्फीति रहेको थियो । यो महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.४१ प्रतिशत रहेको थियो ।



समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४३ प्रतिशत, ६.१५ प्रतिशत र ७.२६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २०.१० प्रतिशत रहेको छ ।

आयातले थिचिएको अर्थतन्त्र

चालू आवको पहिलो चार महिनाको आयातले अर्थतन्त्रमा ठूलो चाप देखिएको छ । साउनदेखि कात्तिकसम्ममा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामललगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को ४ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः २९.२ प्रतिशत, ६०.० प्रतिशत र २३.८ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपात क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

विप्रेषण ह्वात्तै घट्यो

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई ९६,३८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आई ३४५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

तर, सो अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी भने बढेको छ । सो अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ७७ प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ रुपैयाँ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रुपैयाँ मात्र भित्रिएको थियो ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १८:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया