सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् । 

पुँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भीर भएर लागिपरेको उनले बताए । मन्त्री शर्माले मासिक रूपमा १० प्रतिशत पुँजीगत खर्च गर्ने योजना बनाएको, तर प्रतिस्थापन बजेट ल्याउनुपर्ने लगायतका कारणले खर्च हुन नसेको स्वीकार गरे । पुँजीगत खर्च विगतका सरकारले पनि गर्न नसकेको बताउँदै उनले सरकार र केन्द्रीय बैंक बजारको अहिलेको तरलता अभाव अन्त्य गर्न गम्भीर भएर लागेको बताए । 

अर्थमन्त्री शर्माले विद्युत् निकासीभन्दा पनि आन्तरिक खपत बढाउने नीति आवश्यक भएको बताए । उनले नेपालमा उत्पादन हुने विद्युत् भारतमा बिक्री गरेर व्यापार घाटा कम नहुने पनि बताए । उनले विद्युत् महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीयोग्य रकम प्राप्त नहुँदा अर्थतन्त्रमा ठूलो असर परेको बताए । अध्यक्ष गोल्छाले सरकारले राजस्व उठाए पनि खर्च गर्न नसक्दा बजारमा तरलता अभाव भएको बताए । 

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत रूपमा लगानीकर्तालाई संरक्षण गर्नुपर्ने बताए । सरकारले लगानीमैत्री कानुन निर्माण गर्नेबित्तिकै लगानी आफैँ भित्रिने उनको दाबी थियो । 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १८:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया