आज दिउँसोबाट नै सुरु हुने भनिए पनि विभिन्न विषयमा मत नमिल्दा कांग्रेसमा नयाँ उपसभापति छान्नका लागि भएको निर्वाचनको मतगणना केही बेरअघि मात्र सुरु भएको छ ।
यो मतगणना कांग्रेस पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।
कांग्रेसको १४ औं महाधिवेशनले दुई जना उपसभापति चुन्नेछ । दुई जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
यसअघि कांग्रेस महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भइसकेका छन् । देउवा कांग्रेस सभापतिमा निर्वाचित भएको यो दोस्रो पटक हो । कांग्रेस महाधिवेशनमा पहिलो चरणमा सभापतिका आकांक्षी पाँचै जनाले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो ।
निर्वाचनमा देउवाले सभापतिका प्रत्याशी शेखर कोइरालालाई पराजित गरेका हुन् ।
उपसभापतिमा चाहिँ देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार छन् । त्यस्तै, कोइराला प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार रहेका छन् । सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिएकी छिन् ।
अनि महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवार दिएका छन् । उनले कुनै पनि प्यानलमा नरही स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।
यीमध्ये सभापति निर्वाचनको पहिलो चरणमा २ हजार मत कटाएकाले देउवा प्यानलका दुई जनालाई बलियो देखिएको छ । सँगसँगै कोइराला प्यानलका दुई उम्मेदवार गुरुङ र भण्डारीमध्ये एकले जित्न सक्ने अनुमान पनि गरिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।