राष्ट्र बैंक भन्छः बैंकहरूमा तरलता अभाव छैन

काठमाडौं– पछिल्लो समयमा नेपालका वाणिज्य बैंकमा तरलता अभाव रहेको चर्चा चुलिएको छ । तर, नेपाल राष्ट्र बैंक भने तरलता अभाव नरहेको प्रस्ट पार्दै आएको छ । 

दसैैँअगाडि आक्रमक बैंकिङ गरेका बैंकहरूले दसैँलगत्तै तरलता अभावका संकेत देखिन थालेको बताएका थिए । सरकारले लक्ष्यअनुरूप कर संकलन गरेको छ, तर खर्च गर्न नसक्दा यसले अझै तरलता बढाउने कतिपयको बुझाइ छ । 

अहिले सरकारसँग सवा २ खर्ब अर्थात् बजेटको २० प्रतिशत रकम जम्मा भइसकेको सरकारले बताइरहेको छ । १३ खर्ब बजेटमा यति मोटो रकम जम्मा गरेर राख्दा स्वाभाविक रूपमा बैंकमा निक्षेप घट्छ, तर यसले तरलता नै भने नहुने जानकारहरू बताउँछन् । 

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला केही दिनमा बैकहरूले ६ अर्ब ३३ करोडबराबरको अमेरिकी डलर बिक्री गरेका छन् । यस्तै, राष्ट्र बैंकले ३ अर्ब १९ करोड रुपैयाँबराबर अमेरिकी डलर खरिद गर्ने सम्झौता गरेको छ । यसकारण पनि बैंकमा तरलताको समस्या नभएको पुष्टि हुन्छ ।
 
राष्ट्र ऋण व्यवस्थापन विभागका प्रमुख नरबहादुर थापा भने बैंकमा तरलता अभाव नरहेको बताउँछन् । ‘राष्ट्र बैंकमा अनिवार्य नगद मौज्दातभन्दा बाहिर पनि मोटो रकम मौज्दात रहनु र अन्तरबैंक ब्याजदर पनि १ प्रतिशतको हाराहारीमा रहनुले बैंकमा तरलता नभएको पुष्टि गर्छ,’ उनले भने, ‘बैंकमा तरलताअभाव हो वा होइन भन्ने यिनै दुई इन्डेक्स हेर्ने हो ।’

राष्ट्र बैंकको जनरल लेजरमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसँग अनिवार्य नगद मौज्दातबाहेक ४९ अर्ब ८१ करोड नगद मौज्दात रहेको छ । थापाको कुरालाई आधार मान्दा अहिले बैंकमा तरलता अभाव नरहेको पुष्टि हुन्छ । 

राष्ट्र बैंकका अनुसार अन्तरबैंक ब्याजदर १.१ प्रतिशत मात्रै रहेको छ । यसले गर्दा पनि बैंकमा तरलता अभाव नरहेको बुझिन्छ । थापाका अनुसार बैंकमा अहिले भनिएको जस्तो तरलता अभाव भएको भए अन्तरबैंक ब्याजदर ६ प्रतिशत भन्दा माथि हुनुपर्ने थियो । तर, मौद्रिक नीतिले तोकेको भन्दा कम ब्याजदर हुनाले पनि तरलता नरहेको पुष्टि गरेको छ । 



नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षदेखि ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा स्थायी तरलता सुविधा दर ७.० प्रतिशतबाट ६.५ प्रतिशत र तल्लो सीमाको रूपमा दुईहप्ते निक्षेप संकलन दर ३ प्रतिशतबाट ३.५ प्रतिशत कायम गरिएको छ । अल्पकालीन बजार ब्याजदरमा हुने उतार–चढावलाई न्यूनीकरण गर्न ब्याजदर करिडोरको परिधि केही साँघँरो बनाइएको राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ । 

यस्तै, राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर ३.२७ प्रतिशत रहेको छ ।



नेपाल बैंक लिमिटेडका सिइओ देवेन्द्रप्रताप शाह पनि अहिले बैंकले प्रचार गरेकोे जस्तो तरलता भने नरहेको बताउँछन् । ‘नेपाल राष्ट्र बैंकले पनि भनिरहेको छ बैंकमा तरलता अभाव छैन,’ उनी भन्छन् ।

गत असारमा सार्वजनिक गरेको मौद्रिक नीतिमा सिआरआर ६ प्रतिशतबाट साढे ४ प्रतिशतमा झरेको छ । तर, सिसिडी रेसियो भने ८० प्रतिशतबाट फेरिएको छैन । त्यसले बैंकहरूसँग लोनएबल फन्ड वा लगानीयोग्य रकम नभएको शाह बताउँछन् । लगानी गर्नका लागि रकम नभए पनि बैंकसँग तरलताको लागि भने समस्या नभएको उनले बताए । 

सरकारले विभिन्न स्थानीय तहलाई खर्च गर्ने अधिकार दिएको छ । यसले देशमा मुद्रास्फीति हुन सक्ने चर्चा चलिरहँदा बैंकमा अचानक तरलताको अभावलई कसरी देखियो ? अर्काेतिर तथ्यांक र विज्ञलाई आधार मान्ने हो भने नेपालमा तरलता अभाव छैन । तर पनि बैंकहरू तरलता अभाव भयो भनेर प्रचार गरिरहेका छन् । 

सरकारको खर्च बढाउन र आफ्नो नाफा बढाउन बैंकहरूले तरलता अभाव भयो भन्ने झुटो भ्रम सिर्जना गरेको आरोप पनि बैंकहरूमाथि लागेको छ । 

  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार १७:५८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया