\
२०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार पार्टी उपसभापति पदमा पराजित भएपछि छटपटिएका छन् । उनी यसकारण पनि छटपटिएका हुन् कि अहिलेसम्म उनले कुनै पनि निर्वाचनमा हार बेहाेर्न परेको छैन ।
पार्टीको १४ औं महाधिवेशनमा नेतृत्व छनौटका लागि भएको निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । गएराति भएको उपसभापति पदको मतगणनामा गच्छदार पराजित भएका हुन् । उनी पराजित भएसँगै निर्वाचन समितिसँग पुनः मतगणना गर्नुपर्ने माग समेत राखिसकेका छन् ।
ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएसँगै गच्छदारको राजनीतिक जीवनमा भने धब्बा लाग्यो। । उनलाई बालुवाटारको ११३ रोपनी जग्गालाई व्यक्तिको नाममा बनाएर भ्रष्टाचार गरेको आरोप लागेको थियो ।
उनी १० लाख धरौटी बुझाएर विशेष अदालतबाट छुटेका थिए ।
२०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गरेका गच्छदार मधेसका चर्चित नेता हुन् । २०१० साल माघ १९ गते जन्मिएका उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का संस्थापक अध्यक्ष हुन् । यति मात्र नभई उनी संविधानसभाका सभासद पनि हुन् ।
गच्छदार मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालीन मधेसी जनअधिकार फोरमको सभासदको रूपमा निर्वाचित भएका थिए ।
उपप्रधान एवम् भौतिक योजना तथा निमार्णमन्त्री समेत भइसकेका गच्छदार मधेसी जनअधिकार फाेरम (लाेकतान्त्रिक) छाडेर आफ्नो पुरानो घर नेपाली कांग्रेसमा फर्किएका हुन् ।
कहिल्यै हारेनन्
२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०५२, २०५३ र २०५६ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
पार्टी विभाजनपछि शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकमा २०६० देखि २०६४ सालसम्म उनी महामन्त्रीको भूमिकामा थिए । त्यसपछि भने उनी मधेसकेन्द्रित दलमा लागे ।
मधेसी जनअधिकार फोरम नेपाल हुँदै आफ्नै अध्यक्षतामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसमेत गठन गरे । २०७४ सालमा भने उनी पुरानै पार्टी कांग्रेसमा फर्किए । २०४८ सालदेखि उनले निरन्तर चुनाव जित्दै आएका छन् ।
२०४८, २०५१, २०५६ मा प्रतिनिधिसभा सदस्य तथा संविधानसभामा २०६४ र २०७० मा प्रत्यक्ष निर्वाचित उनी २०७४ मा सुनसरी ३ बाट विजयी भएका हुन् । २०५२ देखि २०५९ सम्म पटकपटक गरी पाँचपटक मन्त्री भएका गच्छदारले २०६६ २०६८, २०७२, २०७३ र २०७४ मा गरी पाँचपटक उपप्रधानमन्त्रीको समेत जिम्मेवारी पाएका थिए ।
जब उपसभापतिमा हारे...
पार्टी कार्यालय सानेपामा भएको मतगणना चल्दैगर्दा गच्छदार र शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका धनराज गुरुङबीच प्रतिस्पर्धा चलिरहेको थियो । ३५५८ मत गणना गर्दा धनराजले गच्छदारलाई उछिने । उनीहरुबीचको मतान्तर त्यतिबेला ६ मतको मात्र थियो ।
सभापतिमा देउवा विजयी भएसँगै देउवा प्यानलका गच्छदारले विजयी निकाल्न सक्ने आशंका थियो । तर, झिनो मतान्तरले उनी पराजय बेहाेरे ।
त्यसपछि उनको छटपटी सुरु भयो । उनी पुनः मतगणनाको माग गर्दै पार्टी केन्द्रीय निर्वाचन आयोगमा पुगे । अहिलेसम्म एकपटक पनि नहारेका उनलाई यो पटकको हार निकै असामान्य बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।