दुर्गमकी स्वास्थ्यकर्मी : डेलिभरीदेखि घाँस-दाउरासम्म

बाजुराकाे खप्तड छेडेदह गाउँपालिका-१ मा रहेको काँडा स्वास्थ्यचौकीमा कार्यरत अनमी २७ वर्षीया मनदेवी बुढा दिउँसो अफिसमै हुन्छिन् । साँझ बिहान भने घाँस दाउरामा बढी व्यस्त हुन्छिन् । 

स्वास्थ्यचौकीबाट कुनै त्यस्तो इर्मेजेन्सी कल नआएमा उनी बिहानको समयमा घरकै काममा व्यस्त हुने गरेको बताउँछिन् । 

‘अस्पताल समयबाहेक घरको काम पनि गर्नुपर्‍याे’, उनले भनिन्,‘बिहानको समय इर्मेजेन्सी केस नआएमा घरमा नै हुन्छु ।’ 

दिउँसोको समयमा भने उनी स्वास्थ्यचौकीमै व्यस्त हुन्छिन् । दुर्गममा सुविधा सम्पन्न अस्पताल नहुँदा स्वास्थ्यचौकीको उपचारमा निर्भर रहनुपर्ने बाध्यता हुन्छ । ‘डेलिभरीको केसमा त्यस्तै समस्या भए घरमा समेत पुग्नुपर्दछ’, उनले भनिन् । 

बिहान-साँझ घरको काम नगरेर दुर्गममा रोजीरोटी नै नचल्ने बताउँदै उनले घाँस दाउरा गर्न टाढाटाढासम्म पुग्नुपर्ने हुन्छ । २०७१ सालमा अनमी पास गरेकी उनले त्यसपछि निरन्तर स्वास्थ्य चौकीमा सेवारत छिन्  । 

दुर्गममा बसेर स्वास्थ्य क्षेत्रमा सेवा दिन चुनाैती रहेकाे उनकाे भनाइ छ ।



उनले भनिन्, ‘दुर्गममा बसेर स्वास्थ्यमा सेवा गर्नु चुनौती छ । अन्य केसको त कुरा नै छाडौं। डेलिभरीको केसमा धेरै नै समस्या भएमात्र स्वास्थ्यचौकी पुग्छन् । स्रोतसाधन नभएको ठाउँमा  बचाउन नै हम्मेहम्मे हुन्छ ।’

दुर्गममा स्थायी कर्मचारी कोही जान नमान्ने हुँदा २ वर्षदेखि काँडा स्वास्थ्यचौकीमा दरबन्दी खाली छ । ५ वर्षदेखि करारमा काम गर्दै आएकी मनदेवी बताउँछिन् ।



‘दुर्गममा कर्मचारी आउन मान्दैनन् । दुईजना अनमी र एचए कोटा खाली छ’,उनले भनिन्।

 मनदेवीका दुईवटा छोरा छन् । श्रीमानकाे साथ हुँदा काम गर्न सम्भव भएकाे उनी बताउँछिन्।

उनले काम गर्ने स्वास्थ्यचाैकीमा ३ जना स्वास्थ्यकर्मी छन् । अन्य दुईकाे घर चाैकीभन्दा टाढा हुँदा अन्य समयमा पनि उनलाई बिरामी हेर्नुपर्ने हुन्छ । उनलाई सहयोग गर्ने महिला अर्की विन्दु कटुवाल हुन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा काममा चाप हुने गरेको उनले बताइन् । घर परिवारको सहयोग र सद्‍भावले स्वास्थ्य पेशामा लागेकी मनदेवी जुन वेला पनि सेवा गर्न तत्पर हुने गरेकी छन् । 

जुनसुकै बेलामा पनि बिरामी आउने हुनाले घरकाे काम छाडी चाैकीतिर लाग्ने मनदेवी स्वास्थ्य सेवाप्रति निष्ठावान भएकाे बताउँछिन् । ‘मेरो पनि सानैदेखि स्वास्थ्य पेशामा लाग्न रहर थियो । म निष्ठाकाे भावनाले नै यस क्षेत्रमा लागिरहेकी छु’, उनले भनिन् । 

अस्पतालमा हाल स्थायी दरबन्दीमा नरेन्द्र बुढा मात्र रहेका छन् ।

  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १०:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया