क्यानले खेलाडी र पदाधिकारी दुवै असन्तुष्ट हुनेगरी कसको सहमतिमा गर्यो विवादास्पद निर्णय ?

नेपाल क्रिकेट संघ (क्यान)मा भएको बेथिति बेलाबखत नराम्रोसँग उदाङ्गो भएर बाहिर आउँछ । हिजो (बुधबार) यस्तै भयो । क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान र उप-कप्तानसहित चार जना खेलाडीलाई कारवाही गर्यो । कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दियो । 

क्यानको निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने क्यानले अहिले खेलाडीमाथि राजनीति गरिरहेको आरोप लागेको छ । 

हुन त नेपाली खेलकुदमा राजनीतिले नगिजोलेको कुनै खेल नै बाँकी छैन । कति बेला कुन खेलका खेलाडीमाथि थिचोमिचो भएको सूचना सार्वजनिक हुन्छ भन्ने मात्र हो । अहिले क्रिकेटमा भएको राजनीति छताछुल्ल भएको छ ।

संयोग पनि गजबको छ । जब कुनै महत्वपूर्ण खेलकुद प्रतियोगिता नजिक आउँछ तब यस्ता फोहोरी खेलहरु सतहमा देखापर्ने गरेका छन् । यस्ता फोहोरी खेलले खेलकुदप्रेमीको मन त चिसो बनाउँछ नै त्योभन्दा पनि बढी खेलाडीको मनोबल गिराउने गरेको छ । 

अहिले यस्तै फोहोरी खेलका कारण चर्चाको विषय बनेको छ क्यान । 

क्यानको बुधबार बसेको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाउँदै सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो । 



क्यानले ज्ञानेन्द्र र दीपेन्द्रसहित अन्य दुई खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई समेत कारबाही गरेको घोषणा गरेको थियो । कारवाहीस्वरूप उनीहरुलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाकबाट ६ महिना बाहिर राख्ने निर्णय गरिएको छ ।

नेपाल क्रिकेट संघको अनुशासन उल्लंघनसमबन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिसबमोजिम खेलाडी आचारसंहिता उल्लंघन गरेको आरोपमा उनीहरुलाई कारवाही गरिएको भनाई क्यानको छ । 



केही महिनाअघि क्यानले २०२१ को ग्रेड सार्वजनिक गर्न नसकेपछि २०२० को ग्रेडलाई आधार मानेर खेलाडीलाई सुरुवाती ६ महिनाको तलब दिएको थियो । बल्लतल्ल बाँकी ६ महिनाको ग्रेड टुङ्गो लगायो तर क्यानले त्यसलाई सार्वजनिक गर्ने आँट गरेन ।

क्यानले ग्रेड निर्धारण गुपचुप राख्न खोजे पनि बाहिरियो । त्यसपछि केही खेलाडीले सार्वजनिक रूपमा नै त्यसको आलोचना गरे । 

यसमा सुरुमै प्रश्न क्यानमाथि नै उठ्छ– ग्रेड सही र न्यायपूर्ण थियो भने सार्वजनिक किन गर्न सकिएन ? कसरी स्थिति यहाँसम्म पुग्यो ? आन्तरिक छलफलबिना कप्तानसहित चार खेलाडीले ग्रेडबारे मिडियामा गएर किन बोले ?

क्यानले खेलाडीसँग स्पष्टीकरण समेत सोध्यो । आलोचनालाई कारण देखाउँदै सुरु भएको स्पष्टीकरण प्रकरण अहिले प्रतिबन्ध लगाउने निर्णयमा पुगेर टुङ्गेको छ । 
ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कात्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टि जनाउँदै मिडियामा बोलेका थिए । 

सोमपालले आफूलाई ग्रेड ‘बी’मा राखेर अन्याय गरेको बताएका थिए । ‘सी’मा परेका कमल पनि सन्तुष्ट थिएनन्, त्योभन्दा बढी उनी अन्य खेलाडीको ग्रेडबारे असन्तुष्ट थिए । 

ज्ञानेन्द्र र दीपेन्द्र ग्रेड ‘ए’मा थिए । यद्यपि, उनीहरूले ग्रेडमा केन्द्रित रहेर आलोचना गरेका थिए । खेलाडीले आफूमा भएको अन्याय तथा कुनै पनि असन्तुष्टि क्यानसँग स्पष्ट राखेका थिए । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग गत कात्तिक २५ गते स्पष्टीकरण सोधेको थियो । उनीहरूले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । 

तर, क्यान सन्तुष्ट देखिएन । यो विवाद यतिकैमा मत्थर भएन ।

कप्तान ज्ञानेन्द्रसहित १९ खेलाडीले सामूहिक हस्ताक्षर गर्दै मंसिर ५ गते ११ बुँदे माग राखेर क्यानलाई पत्र लेखे । पत्रमा सात दिनमा जवाफ दिन भनिएको थियो । तर यसमा पनि क्यानले खेलाडीलाई चित्त बुझ्दो जवाफ दिन सकेन । जसका कारण समस्या झन् बल्झियो । विवाद छताछुल्ल भयो । 

पदाधिकारीको नै सहमती नभएको निर्णय

क्यानले मंसिर ३० गते बुधबारका दिन चार खेलाडीलाई कारवाही गरेको सम्बन्धमा विज्ञप्ति निकाल्यो । जसमा क्यानका केन्द्रिय पदाधिकारी छुम्बी लामा लगायत ६ जनाले असन्तुष्टि जनाए । 

‘खेलाडीले दिएको एउटा सामान्य अभिव्यक्तिमा क्यानले किन यति कठोर निर्णय लियो ? यो निर्णय स्वीकार्य छैन ?’, लामासहित ६ जना पदाधिकारीले बैठकमा असन्तुष्टी जनाएका थिए । 

‘अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने संस्था क्यानमा खेलाडीले गुनासो नपोखे कहाँ पोख्ने ?,’ उनीहरुको प्रश्न छ । 

खेलाडीहरूले क्यानको प्रतिष्ठामा आँच आउने अभिव्यक्ति नदिएको दाबी क्यानका केन्द्रिय पदाधिकारी लामाको छ । उनले भने, ‘खेलाडीहरु क्यानमा नआएर मिडियामा गए तर क्यानको प्रतिष्ठामा आँच आउने, बदनाम गर्ने कुरा बोलेको भए पो कारबाही गर्ने हो । बोल्नै नहुने कुरा बोले जस्तो त मलाई लाग्दैन ।’

क्यानको निर्णयप्रति असन्तुष्टी जनाउँदै उनले भने, ‘एउटा सामान्य अभिव्यक्तिलाई लिएर खेलाडीमाथि यति ठूलो सजाय गर्न हुँदैन । खेलाडीमाथि नियत राखेर क्यानले कारवाहीको निर्णय गरेको देखिन्छ । एउटा अभिभावकजस्तो संस्थाले यसप्रकारको निर्णय गर्नु सरासर गलत हो ।’ 

लोकतन्त्रमा आफ्नो व्यक्तिगत धारणा राख्ने हक जसलाई पनि हुने धारणा लामाको छ । खेलाडीमाथि गरिएको कारवाही कुनै ऐन, कानुन र नियम अनुरुप नभएको समेत उनले स्पष्ट पारे । 

‘खेलाडी र हामीबीच दुरी हुनु हुँदैन । गम्भिर विषयमा छलफल गर्नुपर्छ । गलत भएको हो भने खेलाडी र हामी बिच सहमतिको बाटो रोजौँ भनेको हो । हामीले असन्तुष्टी जनाउँदा जनाउँदै कसरी यो निर्णय पारित भयो थाहा भएन,’ लामाले भने । 

क्यानका अर्का एक पदाधिकारीले खेलाडीलाई खेल्न वातावरण नदिने र क्यान आफैले खेलाडीसँग निउँ खोज्ने काम भइरहेको आरोप लगाए । 

‘खेलाडीले क्यानले गरेको खेलाडी स्तरीकरण सुधार्नु प¥यो भनेर भनेका रहेछन् । हामीले क्यानको विरुद्धमा केही बोलेका छैनौं भन्ने धारणा खेलाडीको आएको थियो । बैठकको बेला पनि यहि कुरा छलफल भएको र खेलाडीको आशय गलत नभएको निस्कर्ष निकालिएको थियो,’ लामाले बताए । 

बर्षौ देखि नेपाली क्रिकेटमा योगदान दिँदै आएका खेलाडीलाई गरिएको यो अपमानजनक निर्णयप्रति आफू खुसी नभएको उनले जनाए । 

सामाजिक सञ्जाल मार्फत खेलाडीको असन्तुष्टि 

क्यानले चार खेलाडीमाथि कारवाही गरेपछि त्यसको विरोधमा अन्य खेलाडीहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि व्यक्त गरेका छन् । 

राष्ट्रिय टोलीका खेलाडी विनोद भण्डारी, कुशल भुर्तेल, करण केसी, अविनाश बोहोरा, रोहित पौडेल लगायतका खेलाडीले क्यानको निर्णयको फोटो पोष्ट गर्दै ‘आइएम डन टु’ तथा ‘आइ थिङ्क आइएम डन’ भन्ने स्टाटस पोष्ट गरेका छन् । 

यसको मतलब खेलाडीहरु यो निर्णयदेखि खुसी छैनन् । ‘खेलाडीलाई जे पनि गर्न पाउने, सिधा नियत राखेर गरिएको कार्य हो यो । यसमा कोही खेलाडी पनि सन्तुष्ट छैन,’ एक राष्ट्रिय क्रिकेट टिमका एक खेलाडीले भने ।   

खेलाडीहरूले आफ्नो सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राम मार्फत क्यानको यो कार्यप्रति असन्तुष्टि जाहेर गरेका हुन् । 

नेपाली राष्ट्रिय क्रिकेट टिम आउँदै गरेको ग्लोबल क्वालिफायरमा तथा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरियता कायम तथा व्यवस्थापन गर्न ओडीआई खेल्ने तयारीमा रहेको छ । यससँगै क्यानले भर्खरै प्रमुख प्रशिक्षकमा पुबुदु दसनायकेलाई नियुक्त गरेको छ । पुबुदुलाई नेपाल फर्र्काएको जस लिएर सक्दा नसक्दै खेलाडीमाथि कारवाही गरेर क्यानले विवाद बढाएको छ ।

स्वयं क्यान पदाधिकारीलाई नै दुःखी बनाउने गरी कसको सहमतीमा क्यानले यस्तो कदम उठाएको हो भन्ने प्रश्न अहिले उठेको छ । 

अब के होला?

क्यानको निर्णयप्रति राष्ट्रिय टोलीका धेरै खेलाडी तथा पदाधिकारीले असहमति जनाइसकेका छन् । ठूला प्रतियोगिताको मिति नजिक आइसकेको छ । सबैको मन अहिले यही प्रश्न उठेको छ– यस्तो बेला क्यानले अब कस्तो कदम चाल्ला त ? 

क्यानका केही पदाधिकारीले राष्ट्रिय टोलीमा रहेका १०/१२ जना खेलाडीले नखेल्दैमा केही फरक नपर्ने अभिव्यक्ति केहि दिन अघिदेखि दिंदै आएको थिए । ती अभिव्यक्तिलाई अहिले क्यानको हिजोको निर्णयसँग जोडेर हेरिएको छ । 

कप्तानको जिम्मेवारी दिइएका सन्दिप लामिछानेले हालसम्म क्यानको निर्णयबारे केही बोलेका छैनन् । उनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने वा नसम्हाल्नेबारे पनि कुनै प्रतिक्रिया जनाएका छैनन् । सन्दीपको निर्णयले पनि आगामी दिन कसरी बढ्न छ भन्ने निर्धारण गर्नेछ । 

  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १४:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया