नेकपा एमाले मोरङमा विवाद देखिएको छ । आज बसेको जिल्ला कमिटी बैठकलाई नेकपा एमालेका युवा नेताहरुले बहिस्कार गरेका छन् ।
जिल्ला अधिवेशनको मिति तय भइसकेको बेला पदाधिकारीहरु टुंग्याउन लागेपछि पदाधिकारीका आकांक्षी दुई नेताले विरोध गरेका हुन् । उनीहरुले पार्टीमा अहिलेको मोरङ नेतृत्वको स्वेच्छाचारिताको विरोध गर्नु पर्ने भन्दै बैठक बहिस्कार गरेका हुन् ।
जिल्ला कमिटीमा सचिवका आकांक्षी रबिन थापा र उपसचिव आकांक्षी सन्तोष बान्तवालगायतका नेताहरुले अहिले मोरङ एमालेमा भइरहेको गतिविधिको विरोध गरेका छन् ।
‘पार्टीभित्र युवा पुस्तालाई उचित सम्मान र जिम्मेवारी नदिएकाले हामीले विद्रोह गरेका हौँ,’ थापाले फरकधारसँग कुराकानी गर्दै भने, ‘मोरङमा हाम्रो पार्टीमा राजनीतिक शैली र सँस्कार, पद्धति र युवाप्रतिको सम्मान हराउँदै गएको छ ।’
पार्टीको केन्द्रमा युवाहरुलाई सम्मान गरे पनि र एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई समान व्यवहार गरे पनि मोरङ नेतृत्वले यस्तो नगरेको आरोपसमेत उनले लगाएका छन् ।
‘पार्टीमा लामो समय योगदान गरेका, समर्पण गरेका युवाहरुलाई पाख लगाउन खोजियो,’ थापाले भने, ‘आफ्नो खुसीले पार्टी नेतृत्व अगाडि बढेको देखिएपछि हामीले विद्रोह गरेका हौँ । न्याय नहुँदा एमालेमा न्याय खोज्ने परम्परा छ, हामी त्यसमा अडिग छौँ ।’
उनले पार्टीमा न्याय चाहिने र त्यसका लागि आफू सधैं लागिरहने पनि बताएका छन् ।
नेकपा एमाले मोरङका नेता तथा प्रदेश १ का सदस्य, प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले पनि जिल्ला कमिटी अधिवेशनको मिति तोकिइसकेको र २२ दिनका लागि पदाधिकारी चयन गर्न खोजिएको भन्दै यसमा विरोध जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।