logo-img

विश्वप्रकाश भन्छन् - बिपी र युवाको सपना एकाकार गरेर कांग्रेस अघि बढाउँछु

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका संस्थापक नेता बिपी कोइराला र वर्तमान युवाको सपना एकाकार गरेर कांग्रेसलालाई अघि बढाउने बताएका छन् । कांग्रेस महामन्त्री निर्वाचित भएपछि सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेर बिपीलगायत नेताको सालिकमा माल्यार्पणपछि उनले यस्तो बताएका हुन् ।

'कांग्रेस र देश दुवैमा रूपान्तरणको आवश्यकता छ, राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले अब विकृति, विसङ्गति अन्त्यको नेतृत्व लिएर सामाजिक रुपान्तरण गर्नेछ, राजनीतिमा गुम्दै गएको सहिष्णुता पुनस्र्थापनाका लागि पनि पार्टीमा निर्वाचित महामन्त्रीका नाताले म र गगन थापा क्रियाशील हुनेछौँ', उनले भने ।

महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्ने क्रममा आफूले अघिसारेका नीति निर्माणमा पार्टीका तर्फबाट आगामी नीति महाधिवेशनमा अर्का महामन्त्री थापाकोसमेत सहयोग लिएर प्रस्ताव पेश गर्ने जानकारी पनि शर्माले गराए । कांग्रेसलाई प्रविधि मैत्री बनाउन पार्टीको सञ्चार तथा सूचना विभागको प्रमुखको नाताले आफूले अघि सारेको कार्यक्रमलाई अब महामन्त्री भएर पूर्णता दिने प्रतिबद्धता पनि उनले जनाए ।

पार्टीको निर्वाचन समितिले शर्मा महामन्त्रीमा निर्वाचित भएको घोषणा गरेलगत्तै उनी नेता कार्यकर्ता एवं परिवारसहित सङ्ग्रहालय पुगेका थिए । सङ्ग्रहालयमा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी, सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, नेता योगेन्द्रमान शेरचन, दिवानसिंह राई, रामनारायण मिश्रलगातको सालिकमा माल्यार्पण गरेका थिए ।

उनले गत भदौ २४ गते बिपी जयन्तीको अवसर पारेर सङ्ग्रहालयमै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया