निर्माण सुरु भएको २२ वर्षसम्म पनि पूरा भएन मार्तडी–कोल्टी सडक

बाजुराको मार्तडी–कोल्टी सडक खण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीले सामान्य काम पनि नगर्दा सडकको अवस्था बिजोग बनेको छ । 

सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म पर्ने ४० किलोमिटर सडक कालोपत्रे गर्ने गरी प्रदेश र संघ सरकारबाट विनियोजन भएको भए पनि हालसम्म सडकको अवस्थामा कुनै सुधार गरिएको छैन । सडक कालोपत्रेका लागि खनिएको भए पनि मर्मत नगर्दा यात्रुहरु समस्यामा परेका छन् । 

मार्तडीदेखि कोल्टीसम्म तीन खण्डमा निर्माणका लागि पूर्वाधार विकास कार्यालय अछामले टेन्डर गरेको थियो । 

मार्तडीदेखि चुथीसम्म ९ किलोमिटर पहिलो खण्ड, चुथिदेखि ढम्कनेसम्म ५ किलोमिटर दोस्रो खण्ड र चुथीदेखि कोल्टीसम्म २६ किलोमिटर ठेक्कामार्फत निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । सँगै टेन्डर भएका अन्य सडकको काम सञ्चालन भएको भए पनि मार्तडी–कोल्टी सडकखण्डमा भने अझसम्म पनि काम हुन सकेको छैन ।
 
पटक–पटक सडक सुधारका लागि हारगुहार गरे पनि नियमनकारी निकायले ध्यान नदिएको चुथीका स्थानीय रमाकान्त रोकायाले बताए । उनले भने, ‘सडकखण्डमा यात्रुहरु गाडी तानेर यात्रा गर्न बाध्य भएका छन् । अव्यस्थित सडक र खाल्डाखुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालन भइरहेका छन् ।’ 

यता, बडिमालिका नगरपालिका वडा नं ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले भने चुथीदेखि ढम्कनेसम्मको सडकको एक–दुई ठाँउमा गाडी तानेर सवार गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘चुथीदेखि ढम्कनेसम्मको ५ किलोमिटर सडकको जिम्मा लिएको बाँनिया ईश्वशेर जेबी कम्पनीले काममा ढिलाइ गर्दा समस्या भएको छ ।’
 
बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सडक निर्माण गर्न पटक–पटक ठेकेदार र आयोजना कार्यलयलाई निर्देशन दिएको भए पनि ठेकेदारले कुनै वास्ता नगरेको बताए । यता, आयोजना कार्यालय साँफेबगरका प्रमुख रुद्र बोगटीले ठेकेदार कम्पनीको म्याद असारमा सकिएको र कोरोनाको कारण भनेर आउँदो असारसम्म म्याद थपिएको बताए । 

मार्तडी–कोल्टी सडकखण्ड ४० किलोमिटर कालोपत्रेका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रकम विनियोजन भएको थियो । यो सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजनामा परेको सडक हो ।  



विगतमा ४० किलोमिटरमा ३५ करोडभन्दा बढी खर्च भइसकेको थियो । २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक निर्माण भएको २२ वर्षसम्म पनि पूरा हुन सकेको छैन ।



  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २०:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया