क्यानलाई ज्ञानेन्द्रको प्रश्न - क्रिकेटमा लागेर आजसम्म गरेको समर्पणको सम्मान यही हो ?

नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका चार खेलाडीले आफ्नो कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शुक्रबार तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल सहितका खेलाडीले क्रिकेटमा देखिएका सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन क्यानलाई आग्रह गरेका हुन् ।

क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिनसमेत खेलाडीहरूले अपिल गरेका छन् । 

‘क्यानले यस निर्णयमा पुनर्विचार गरोस भन्ने चाहन्छौँ । हामी सबै एउटै परिवार हौं । एकै ठाउँमा बसेर संवादबाट निकास निकालौँ भन्ने चाहेका छौँ’ मल्लले पत्रकारसँग भने । 

उनले आफूहरू संवादका लागि तयार रहेको भन्दै क्यानले आफ्नो निर्णय पुनर्विचार गर्न आवश्यक रहेको बताए । 

मल्लले राष्ट्रिय टोलीभित्र आफूले गुट बनाएको आरोप निराधार रहेको बताए । ‘कप्तान बनेपछि मैले पूरै टोलीको नेतृत्व गरिरहेको हुन्छु । यस्तो अवस्थामा मलाई लाग्दैन कि छुट्टै गुट बनाउनुपर्छ,’ उनले भने । 



आफूहरू यति ठूलो सजाय पाउनुपर्ने गरी कुनै कार्य नगरेको समेत मल्लले बताए । ‘मलाई लाग्दैन कि हामीले यति ठूलो सजाय पाउनु पर्ने कुनै कार्य गरेका छौँ । हामीले खेलाडीको हक हितका लागि क्यानसमक्ष आफ्नो माग मात्र राखेका हौँ’, मल्लले भने ।

क्यानको यस्तो रवाफले आगामी पुस्तालाई क्रिकेटमा लाग्न प्रोत्साहन नगर्ने मल्लको तर्क थियो । उनले भने ‘के हामीले क्रिकेटमा लागेर आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हक हितका लागि आवाज उठाएकै आधारमा वर्षैंसम्म देशका लागि खेलेका, आफ्ना सबै इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीलाई यसरी कारबाही हुन्छ भने यसमा भविष्य खोजिरहेका युवा पुस्ता कसरी आकर्षित होलान् ?’ 
 
क्यानको २९ मंसिरमा बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाउँदै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको थियो । 



त्यस्तै, बैठकले मिडियामा गएर आफ्नाविरुद्ध बोलेको भन्दै ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रायाक्टबाट ६ महिना बाहिर राख्ने निर्णय गरेको थियो ।  

विज्ञप्ति

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १९:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया