गगन र विश्वप्रकाशले महामन्त्रीकाे रूपमा के-के गर्न पाउँछन् ?

महामन्त्रीमा युवा नेताहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माको विजयलाई लिएर कांग्रेस पुस्तान्तरणको दिशामा गएको रूपमा टिप्पणी हुन थालेको छ । 

यी दुवै नेताको मूल एजेण्डा पुस्तान्तरणकै हो । पदाधिकारीको अधिकांश पदमा पुस्तान्तरण भएको पनि देखिएको छ । यसको पछि युवा महाधिवेशन प्रतिनिधिहरू कारक ठानिन्छन् ।

यसरी महामन्त्रीमा निर्वाचित थापा र शर्मा कांग्रेस विधान (नवौं संशोधन २०७५)अनुसार सभापति पछिको शक्तिशाली पदाधिकारी हुन् । उनीहरू बहाल हुन भने बाँकी छ।

पार्टीको क्रियाशील सदस्यतालाई लिएर पटकपटक विवाद हुँदा महामन्त्रीमा निर्वाचितमध्येका थापाले चर्का अभिव्यक्ति दिएका थिए ।

उनको भनाइ थियो- महाधिवेशनको मितिभन्दा ठीक एक वर्षअघि नै सदस्यताको विषय टुंग्याइनुपर्छ । सदस्यता वितरण र नवीकरणमा कुनै नेताले दुराशय राखिनु हुँदैन ।

यससम्बन्धी कार्य सम्पादन गर्ने जिम्मा भने अब थापासहितको शर्मालाई आएको छ । 



कांग्रेस विधानको (११) मा योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल नेपाली कांग्रेसको सदस्यता वा नेपाली कांग्रेसको क्रियाशील सदस्यता दिनुपर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने अन्य काम, कर्तव्य र अधिकार महामन्त्रीलाई हुन्छ । 

कांग्रेसको १४औँ महाधिवेशनपूर्व तल्ला तहको निर्वाचनमा बढी विवादित बनेको विषय नै क्रियाशील सदस्यता हो ।



प्रधानमन्त्रीसमेत रहेका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा तत्कालीन सभापति कर्ण मल्लले सदस्यता विवादकै कारण अधिवेशन नै बहिष्कार गरे । सर्लाही, धनुषा, रसुवा, सिन्धुपाल्चोकलगायत कयौं जिल्लामा समस्या देखापरे ।

कांग्रेसमा यस्ता समस्या सदाका लागि समाधान गर्न १५औँ महाधिवेशनपूर्व यी दुई महामन्त्रीले के गर्लान् ? विचारणीय छ । पार्टीलाई पद्धतिमा चलाउन नसक्दा यस्तो समस्या आएको उनीहरूको ठम्याइ थियो । 

यससँगै पार्टीको संगठन संरचनालाई क्रियाशील र प्रभावकारी बनाउने पनि उनीहरूलाई कार्याधिकार छ । जुन विधानको ४ नम्बरमा छ ।

विधानतः महामन्त्रीका रूपमा महामन्त्रीद्वय थापा र शर्माको कार्याधिकार यस्तो छ :

१) नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ । महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ ।

२) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी महामन्त्रीको हुनेछ ।

३) दैनिक कार्य सञ्चालनका लागि सभापतिलाई सहयोग पुर्याउने तथा महत्वपूर्ण विषयमा सभापतिलाई जानकारी र सुझाव दिने । 

४) पार्टीको संगठन संरचना क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टीसम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने/गराउने ।

५) पार्टीसम्बन्धी कार्यमा सभापतिको निर्देशानुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति बनाउने ।

६) केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने ।

७) पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने ।

८) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने ।

९) नेपाली कांग्रेसको सदस्यताबारे धारा ४ को उपधारा १ बमोजिमको कार्य गर्ने/गराउने ।

१०) पार्टी मातहतका निकायहरूलाई पार्टीको निर्णयको जानकारी गराउने तथा निर्देशन जारी गर्ने ।

११) योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल नेपाली कांग्रेसको सदस्यता वा नेपाली कांग्रेसको क्रियाशील सदस्यता दिनुपर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार ९:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया