महामन्त्रीका उम्मेदवारहरूको मतगणना बिहीबार राति सानेपामा हुँदैगर्दा कविता शर्मा फेसबुक हेरिरहिन् । फेसबुकमा मत परिणाम ‘अपडेट’ हुन्थ्यो । त्यहीँबाट उनले थाहा पाउँथिन्- कुन उम्मेदवारको कति मत आयो भनेर ।
उनलाई बढी चासो थियो- आफ्ना पति विश्वप्रकाश शर्माको । मनमा अर्कै किसिमले हडबडाइरहेकाे थियाे । जित्ने हुन् कि होइनन् भन्ने आशंका पनि थियाे । अन्ततः गणना गर्न बाँकी मतभन्दा प्रतिस्पर्धीसँगको मतान्तर बढी भएपछि विश्वप्रकाशले जित्छन् भन्ने लाग्यो ।
यसबीचमा विश्वप्रकाशको फोन आयो ।
‘कविता ! तिमी सुन्दरीजल जानुपर्छ छोराछोरीसहित । तयारी हुनु है । त्यहाँ बिपी जेल बस्नुभएको माटोलाई ढोगेर बिपीको तस्वीरमा माल्यार्पण गर्छु र धन्यवाद दिन्छु ।’
फोनमा यति कुरा भएपछि कविताले जित्नु भएछ भनी निर्क्योल् गरिन् । र, तयार पर्न थालिन् । अनि छोराछोरीकासाथ सुन्दरीजल पनि गइन् ।
गएको भदाै २४ गते त्यहीँ पुगेर महामन्त्री पदमा उनले उम्मेदवारी घोषणा गरेका थिए । घोषणा गरेको पदमा उनी जित्न सफल भए पनि ।
१३औँ महाधिवेशनबाट शर्मा कांग्रेस केन्द्रीय सदस्य भए । पछि सभापति देउवाले प्रवक्ता बनाए । उनै विश्वप्रकाश दुई दिनयता भने महामन्त्रीको हैसियतमा छन् । पद बहाल गर्न भने बाँकी छ ।
यो पद सभापतिपछि सर्वाधिक अधिकार भएको पद हो । कार्यकारी पदको रूपमा पनि लिइन्छ। यसरी पति विश्वप्रकाशको जित महामन्त्रीमा हुँदैगर्दा कविता भने हौसिएकी छैनन् । उनका अनुसार यसअघि झापा जिल्ला सभापतिदेखि संघीय संसदको निर्वाचनमा हार्दा पनि निराश भइनन्।
हार र जितलाई सहर्ष स्वीर्कानुपर्छ भन्ने उनलाई लाग्छ । यही बुझाइ भएकी कविता विश्वप्रकाशको जितलाई ‘ठूलो चुनौतिसहितको जित’ भन्छिन् ।
‘महामन्त्रीमा जित्दैगर्दा अर्को ठूलो जिम्मेवारी उहाँमा आएको छ । अझ बढी संयम, सक्रिय र सबल भएर काम गर्नुपर्ने दिन आयो । अझ बढी चुनौतीका दिनहरू आए भन्ने महसुस गरेकी छु’, कविताले फरकधारसँग भनिन्, ‘हौसिनेभन्दा पनि उहाँलाई आइपर्ने कामहरूमा साइडमा बसेर सक्दो साथ दिने र उहाँलाई सफल महामन्त्री बनाउन मेरो पनि मुख्य भूमिका हुने बुझेकी छु ।’
राजनीति गर्नेहरूले देश बिगारे भन्ने जनगुनासो कविताले पनि सुनेकी छिन् । भ्रष्ट नेता भए भन्ने पनि सुनेकै हुन् । यो कुराले भने उनलाई पोल्दोरहेछ ।
यस विषयमा कविताले भनिन्, ‘एउटी श्रीमतीको नाताले मलाई एउटा सामान्य डेरामा राखे पुग्छ। बास, दुई छाक रोटी दिनु भए पुग्छ । तर, इमान्दारिता कहिल्यै नगुमाउनुहोस् । कहिल्यै नचुक्नुहोस् । अहिलेसम्म जजसले भ्रष्टाचारी भनेर गाली खाए । त्यस्तो गाली मेरा श्रीमानका कारणले सातौं पुस्तासम्म खान नपरोस् ।’
राजनीति गर्नेहरूले देश बनाएनन् । जनताका पीरमर्का बुझेनन् । समृद्ध देश र सुखी नेपाली बनाएनन् । उल्टै भ्रष्टाचार गरे । गायक पशुपति शर्माको गीतमा भनिए जसरी लुट्नसम्म लुटे । नागरिकस्तरबाट सुनिने यी गुनासाहरू हुन् ।
यसप्रति कविताको ठम्याइ छ- भ्रष्टाचार हुने भनेको लोभले हो । यसकारण उनी सुझाउँछिन्, ‘मलाई दुई छाक रोटी इमान्दारिताका खान देऊ, बस् पुग्छ । तिमी देशको लागि लड ।’
कांग्रेसको आन्तरिक मात्रै नभएर राष्ट्रिय राजनीतिमा पनि स्थापित छन् विश्वप्रकाश । जनताको प्रत्यक्ष सरोकार रहने मुद्दामा स्पष्ट र प्रखर रूपमा भनाइ राख्छन् । राजनीतिमा संस्कारको विकास हुनुपर्ने भन्ने पक्षमा छन् । पार्टीमा पुस्तान्तरणको माग बोकेर हिँड्दै छन् । हालसम्म उनको स्वच्छ छवि छ । त्यही भएर पार्टीभित्र र बाहिर रुचाइएका नेता हुन् उनी ।
१४औँ महाधिवेशनमा बलियो प्यानलमा नसमेटिँदा हार्ने हुन् कि भन्ने पनि थियो । तर, महाधिवेशन प्रतिनिधिहरूले गुट नहेरी महामन्त्रीमा शर्मालाई जिताए ।
उनै विश्वप्रकाश जति नै ठूलो पदमा पुगे पनि सामान्य जीवनशैली अपनाएको, देश र जनताको सेवक भएको देख्ने मन छ श्रीमतीको कविताको । उनीहरू दाम्पत्य जीवनमा बाँधिएको आगामी २३ फागुनमा २० वर्ष पुग्दै छ ।
यसबीचमा जहिल्यै विश्वप्रकाशलाई अभिभावकको रूपमा हेरिएको बताउँछिन् उनी । तर, केयरको सन्दर्भमा भने बच्चाको रूपमा हेरिएको भान उनलाई हुँदो रहेछ र सहयात्राको दृष्टिले साथीको रूपमा ।
उनका अनुसार विश्वप्रकाश परिवारप्रति संवेदनशील पनि छन् ।
‘एउटा राजनीतिकर्मीले आफ्नो परिवारलाई दिनुपर्ने समय र खुसी हामीले प्रशस्तै पाएका छौँ । उहाँ हाम्रो जन्मदिनमा जहाँ भए पनि आइपुग्नुहुन्छ । विवाहोत्सवमा जहाँ भए पनि आइपुग्नु हुन्छ । हरेक चाडपर्वमा जहाँ भए पनि आइपुग्नुहुन्छ । यो भन्दा ठूलो खुसी हाम्रो लागि केही पनि हुँदैन।’
राजनीतिप्रति कविताको चासो थिएन २०५८ पहिले । थियो त अध्ययनप्रति । एकदिन भएको भेटमा उनलाई विश्वप्रकाशको बोल्ने शैली मन परेछ । जसबाट उनी प्रभावित भइन् । उनका अनुसार त्यसपछि उनीहरू प्रेममा परे । अन्ततः प्रेमविवाह सम्भव भयो । हाल एक छोरा र एक छोरीकी आमा कविता गृहस्थी जीवनमा छिन् । उनले कामना गरेकी छिन्, ‘विश्वप्रकाश देश उज्यालो पार्ने प्रकाश होउन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।