पाँच प्रभावशाली नेताबिनाको कांग्रेस केन्द्रीय समिति

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत २७ मंसिरमा भएको निर्वाचनको मतगणना जारी रहँदा केही प्रभावशाली नेताहरू भने केन्द्रीय समितिमा छुट्ने भएका छन् । उनीहरू हुन् – कूलबहादुर गुरुङ, नरहरि आचार्य र प्रदीप गिरी ।

यी तीन नेता महाधिवेशन प्रक्रियामै सहभागी भएनन् । त्यही भएर कांग्रेसको केन्द्रीय समितिमा उनीहरू हुने छैनन् ।

केन्द्रीय समितिमा उनीहरूको अनुपस्थितिलाई लिएर प्रजातान्त्रिक समाजवादका चिन्तक भनेर चिनिन थालेका युवा नेता धर्मेन्द्र नेम्बाङले चिन्ता प्रकट गर्छन् ।

उनले सामाजिक सञ्जालमा शनिबार तीनै जनाको नाम उल्लेख गर्दै भनेका छन्, ‘अब उनीहरूलाई केन्द्रीय समिति बैठकमा देखिन पाइने छैन ।’

तीनै जनाले वैचारिक नेताको छवि बनाएका छन् । निष्ठाको राजनीति गर्ने नेताका रूपमा पनि चिनिन्छन् यिनीहरू ।

नेतात्रयमध्ये गुरुङ महामन्त्री भइसकेका छन् । दुई नेता भने पटक पटक केन्द्रीय सदस्य भएका छन् ।



गुरुङ ती नेता हुन्, जसले देशमा गणतन्त्र घोषणा गरे । जुन राजतन्त्रको वैकल्पिक राजनीतिक व्यवस्था हो । घोषणा मिति हो, २०६५ जेठ १५ गते ।

गणतन्त्र घोषणा गर्दैगर्दाको राजनीतिक परिस्थिति सम्झिँदै गुरुङले गत १५ जेठमा भनेका थिए, ‘ज्येष्ठ संविधानसभा सदस्यको हैसियतले संविधानसभाको अध्यक्ष थिएँ । २०६५ को जेठ १५ गते गणतन्त्र घोषणा गरेँ । घोषणा गर्दैगर्दा मसहित ६०१ जना सांसदलाई राजपरिवार र तत्कालीन शाही सेना (हालको नेपाली सेना) ले ‘गणतन्त्र घोषणा गर्ने तिमीहरू नै होइनौँ’ भन्दै गोली ठोकेर कतै मार्ने त होइन ? डर थियो । चाहेको भए मार्थे पनि ।’



संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका उम्मेदवार पनि भए गुरुङ । निष्ठाको राजनीति गर्ने र देशलाई गणतन्त्रमा लान संविधानसभा अध्यक्षको हैसियतले घोषणा गर्ने उनै नेता गुरुङ अब कांग्रेसको केन्द्रीय समितिमा नदेखिने भएका हुन् ।

वृद्धावस्थामा पुगेकाले पनि उनको उम्मेदवारी कुनै पदमा नभएको उनीनिकट एक नेताले बताए । ती नेताका अनुसार राजनीतिक जीवनबाट अलग हुने चाहना गुरुङमा छ । उनमा श्रवण क्षमता पनि ह्रास आएको छ ।

कांग्रेसका अभिभावक भनिने यी नेतापछि चर्चा गरौँ, नेता आचार्यको । कांग्रेसमा गणतन्त्रको मुद्दा बोक्ने पहिलो नेता हुन् आचार्य । जुन माओवादीले जनयुद्धदेखि उठाउँदै आएको मुद्दा हो ।

कांग्रेसले आधिकारिक रूपमा गणतन्त्रको मुद्दा बोकेको थिएन, गणतन्त्रलाई स्वीकार गर्न बाँकी नै थियो । त्यतिबेला नेविसंघका तत्कालीन महामन्त्री (हाल पार्टी महामन्त्री) गगनकुमार थापाको साथ आचार्यलाई थियो । उनी पनि गणतन्त्रको एजेण्डा पार्टीमा स्वीकार्य बनाउन माहोल बनाउने नेताको रूपमा चिनिन्छन् । तर, कांग्रेसलाई गणतान्त्रिक व्यवस्थामा प्रवेश गराउने नेता भने आचार्य नै हुन् ।

पार्टीमा उनको बौद्धिक, प्रखर र स्पष्ट वक्ताको छवि छ । ११ औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध उनले सभापति पदमा उम्मेदवारी दिएका थिए ।

महाधिवेशनमा हार्न पुगे । १२ औँ महाधिवेशनमा भने निष्ठाको राजनीति गर्ने अर्का ज्येष्ठ नेता भीमबहादुर तामाङलाई सभापति पदमा दह्रो गरी साथ दिए । उनी महामन्त्री पदका उम्मेदवार थिए । अन्ततः सभापतिमा तामाङ र महामन्त्रीमा आचार्य पराजित भए ।

कांग्रेसलाई विचारले चलाउनुपर्छ भन्ने उनको सर्वकालीन मान्यता छ । 

यी दुई नेतापछि कांग्रेसको यो कार्य समितिमा नदेखिने अर्का नेता गिरी हुन् । कांग्रेसमा ‘थिंक ट्यांक’ भनेर उनलाई चिनिन्छ । उनी प्रजातान्त्रिक समाजवादको अब्बल व्याख्याता हुन् । अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर उनी कांग्रेसको जीवनमा विचार भर्ने नेता भनेर चिनिन्छन् ।

२०५१ पछि पटक पटक सांसद भए पनि । तर, मन्त्री हुन कहिल्यै चाहेनन् । कारण – मन्त्री भएपछि व्यस्त भइन्छ र अध्ययन गर्न पाइँदैन । मन्त्री पदका लागि नलोभिने नेता गिरीलाई पनि देउवा नेतृत्वको वर्तमान कार्य समितिमा देख्न नपाइने भएको छ । यसअघि उनी बारम्बार केन्द्रीय सदस्य भइरहन्थे ।

यसरी वैचारिक र निष्ठाको राजनीति गरेका तीन नेताका अतिरिक्त नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पनि कांग्रेस केन्द्रीय समितिमा देख्न नपाइने भएको छ ।

पौडेल महाधिवेशन प्रक्रियामा असन्तुष्टि जनाउँदै पार्टी राजनीतिबाट अलग भएका हुन् । उनी साझा उम्मेदवार संस्थापनइतर पक्षबाट भएर देउवासँग प्रतिस्पर्धा गर्न चाहन्थे । आफू नभए अरु कोहीलाई साझा उम्मेदवार बनाउने पनि योजना थियो । तर, उनको चाहना पूरा भएन । त्यसपछि विज्ञप्ति निकालेर महाधिवेशन प्रक्रियाबाट अलग भएको घोषणा गरे । परिणामतः उनी अब कांग्रेस केन्द्रीय समितिमा हुने छैनन् ।

नेता सिटौलाले भने आफ्नो टिमबाट युवा नेता प्रदीप पौडेललाई उत्तराधिकारीका रूपमा विकास गर्न लागेको देखिएको छ । देउवाको टिममा समावेश गराएर महामन्त्रीमा प्रतिस्पर्धा गराए पनि । प्रतिस्पर्धामा जित निकाल्न सकेनन् ।

नेता सिटौला तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन भूमिका निर्वाह गर्नेमध्येका एक जना सूत्रधार पनि हुन् । उनै नेता सिटौला अब केन्द्रीय समितिमा नदेखिने भएको छ । उनी सुशील कोइराला नेतृत्वको केन्द्रीय समितिमा महामन्त्री भएका थिए ।

तर, देउवाले केन्द्रीय सदस्यमा मनोनीत गर्न भने सक्छन् । जुन विधानले उनलाई मनोनीत गर्न पाउने अधिकार दिएको छ । मनोनीतमा पर्ने/नपर्ने भने टुंगो छैन ।

  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १७:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया