कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन् । कांग्रेस सहमहामन्त्रीमा पराजित भएपछि शाहीले नैतिकताका आधारमा राजीनामा देलान् कि नदेलान् भनेर बहस चलिरहँदा उनले यस्तो बताएका हुन् ।
शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेसँग २७८ मतले पराजित भएका थिए । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि शनिबार एक सन्देश जारी गर्दै उनले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
सन्देशमा उनले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा शुभकामना दिएका छन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा भएको जित–हारलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ ।
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले राष्ट्रिय चुनावमा पिछडिएका क्षेत्रका पार्टी कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने ध्येयमा आफू रहेको उल्लेख गरेका छन् ।
उनले सन्देशमा भनेका छन्, ‘मप्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबुटीलाई धोका दिएर बीचैमा छाड्नु मेरो धर्म र नैतिकता होइन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।