एमसिसीबारे चित्रबहादुर केसी भन्छन्– फकाउन आइरहन्छन्, हाम्रो विरोध यथावत छ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गर्ने जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजे बोलाएको बैठकअघि बस्न लागेको सत्ता गठबन्धनको बैठकमा नै एमसिसीको पक्षमा जनमोर्चा नरहेको सन्देश पुनः दिने जनाएका छन् ।

‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धारणा के हो भने चीन विरोधी क्याम्पमा नेपाललाई लैजान एमसिसी ल्याइएको हो । अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्नु हुँदैन,’ केसीले सञ्चारकर्मीसँग भने, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसिसीको पक्षमा कुनै नेपाली छैनन् ।’ 

प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्ने प्रयास गरेमा सत्ता गठबन्धनबाट जनमोर्चा अलग्गिन सक्ने उनको चेतावनी छ । अमेरिकी अनुदान एमसिसी पारित गराउनका लागि आफूलाई दबाब र फकाउने दुवै काम गरिरहेको केसीले जानकारी दिए ।

‘एमसिसीका प्रतिनिधिले त मलाई भेटेका छैनन्, तर एमसिसीको नेपाली दलालहरू भने म भएको ठाउँमा आउँछन्, कतिपय त बुद्धिजीवीहरू नै लागेको देख्दा अचम्म लाग्छ,’ केसीले भने, ‘फकाउने र दबाब दिने दुवै काम गरे पनि म भने डग्मगाएको छैन, हामी विरोधमा नै छौँ ।’ 

केसी निवासमा एमसिसीको प्रतिनिधि बनेर को–को नेपाली बुद्धिजीवी आएका थिए? त्यो भने उनले खुलाउन अझै चाहेनन् । उनले यति मात्र भने, ‘तिनलाई चिन्ने मौका पाइएको छ, समय आएपछि भनौँला ।’ 



उनका अनुसार सम्पूर्ण नेपाली एमसिसीको विरोधमा भएकाले संसदबाट पारित हुने अवस्था छैन । 



  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार ११:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया