कैलालीमा २५ वर्षीय युवक हत्या प्रकरण : प्रहरीले फेला पार्‍यो हत्यापछिको फोन रेकर्ड

कैलालीका जानकी गाउँपालिका–९ का २५ अरुण दास हत्याको फोन कल रेकर्ड बाहिरिएको छ । दासको शरीरबाट टाउको छिनालिएको अवस्थामा शनिबार शव फेला परेको थियो । 

दासको हत्या जानकी गाउँपालिकाका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको हो ।

दासकै साथी भएको बताउँदै एकजना युवकले आफूलगायतका केहीले हत्या गरेको आशयको कुरा गरेको फोन कल रेकर्ड बाहिरिएपछि प्रहरीले यसमै केन्द्रीत भएर घटना अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले बाहिरिएको भनिएको कल रेकर्ड सत्य, तथ्यमा आधारित भए/नभएको बारेमा अनुसन्धान सुरु गरिसकेको बताए । 

‘रिसिभरलाई आइडेन्टिफाई गरिएको छ, घटनाको जानकारी दिने युवाका बारेमा जानकारी बटुलिरहेका छौं,’ उनले भने, ‘प्रहरीको ध्यान अन्यत्र मोड्नका लागि पनि यसरी कुराकानी गरिएको हुनसक्छ । हामी सबै तथ्य र सम्भावनाहरुका बारेमा सुक्ष्म ढंगले अनुसन्धानमा जुटेका छौं ।’   

उक्त फोन कलमा एकजना युवाले टाउको र शरिर अलग हुने गरी हत्या गरेपछि आफूहरू भागेर भारत गइरहेको बताएका छन् । ‘हामी बेङ्लोर जाँदै छौं । अहिले रुपैडिहा पुगेका छौं,’ ती युवाले भनेका छन्, ‘एक/दुई दिनमा त्यो लाश फेला पर्नेछ ।’ 



फोन रेकर्डमा ती युवाले बोल्दा ब्याकग्राउण्डमा अरूको स्वर पनि सुनिन्छ । ‘घटनास्थलमा चुरोटका ठुटा र प्याकेटहरू भेटिएका छन् । फोनमा कुरा गर्ने ती युवाको आवाज सुन्दा पनि लागूऔषध प्रयोग गर्ने हुन् कि भन्ने शंका लागेको छ,’ डिएसपी जोशीले भने, ‘उनीहरू समूहमै सामुदायिक वनमा गएको र केही बिषयमा बादबिबाद भएको कुरा पनि आएको छ ।’

दासको शव आफन्तलाई जिम्मा लगाइ सकिएको छ । प्रहरीका अनुसार दास अति निम्न वर्गीय परिवारका हुन् । उनी मजदुरी गर्थे । उनका बुबाआमा पनि रोजीरोटीका लागि भारतमा काम गर्छन् । प्रहरीले अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको छ ।



स्थानीयका अनुसार मृतक दासका बुबा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउजाउ गर्दै आएका थिए । करिब ३ साताअघि उनी भारतबाट फर्किएका थिए । 

  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १४:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया