प्रधानमन्त्री-मुख्यमन्त्रीहरु छलफल : घरदैलोमार्फत खोप अभियान सञ्चालन गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरुसँग छलफल गर्दै लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पुर्याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न आग्रह गरेका हुन् । 

सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । मन्त्री खतिवडाले पुस महिनाभित्रमै खोप लगाउनेको प्रतिशतमा वृद्धि हुने विश्वास पनि व्यक्त गरे । 

‘हाम्रो आह्वान भनेको सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार छ । खोप हामीसँग छ । खोपको अभाव छैन, लगाइदिनुस् । घरदैलो अभियान चालेर भए पनि हामीले लक्षित समूह सबैलाई खोप लगाउने अभियानको रुपबाट सञ्चालन गर्नुपर्छ भनेर प्रधानमन्त्रीले आह्वान गर्नुभयो,’ स्वास्थ्यमन्त्रीले भने, ‘पुस महिनाभित्रमा अहिले जुन प्रतिशतको जनसंख्याले खोप लगाएका छन्, त्योभन्दा धेरै नै माथिल्लो प्रतिशतले खोप लगाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

खोप केन्द्रहरुलाई वृद्धि गर्नुपर्ने र तीनै तहको सरकारका साथसाथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न संघसंस्था, क्लवहरुको समेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताए । उनले हाल १२ वर्षदेखि १७ वर्ष उमेरसमूहका विद्यार्थीलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जानकारी दिए । 





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १८:५२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया