ओली प्रतिगमनकै बाटोमा छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् ।

समाजवादी प्रेस संगठन नेपालले सोमबार आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओली संसद् अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन् । 

प्रचण्डले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावनाविपरीत नभएको भन्दै अहिले संसद् अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे । उनले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र विरोधी भएको पुष्टि हुने पनि बताए । 

‘अदालतको फैसला छ, ह्वीप लाग्दैन भन्ने फैसला छ । अनि सभामुखले १५ दिन भित्र उहाँले लिनुपर्ने निर्णय १३ दिनकै दिन लिनुभएको छ । त्यहाँ कहीँ कतै ऐनको उल्लंघन पनि छैन । संविधानको मर्म र भावनाको उल्लंघन पनि छैन । तर अहिले पनि केपीजी माधवजी देखिएपछि त्यहाँ उपस्थित नहुने कसो अस्ति नेपाली कांग्रेसको महाधिवेशनमा आउनुहुन्न की भनेको आउनुभयो । नत्र माधवजी कहीँ जाने भन्ने भयो भने त्यहाँ उहाँ नजाने । योभन्दा अराजनैतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र अरू केही हुन्छ?,’ उनले प्रश्न गरे, ‘उहाँको अघि यो त प्रष्ट नै छ । निर्वाचन आयोगले मान्यता दिएको छ । अदालतले निर्णय गरिदिएको छ । संसदले स्वीकार गरेको छ । ५ दलीय गठबन्धन बनेर सरकार चलिरहेको छ ।’  

प्रचण्डले संसद् अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको पनि आरोप लगाए । उनले ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसिसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबीसमेत गरे । प्रचण्डले ओलीले संसद् अवरुद्ध गरेर विधेयकहरू पारित हुन नदिने षडयन्त्रमा लागेको दाबी पनि गरे । 

‘उहाँले अहिले पनि संसद् अवरोध गर्नुको कारण भनेको के हो भने, उहाँले तर्क राख्नुभएको हामीले सुनेका छौँ । गठबन्धन टुट्छ भने उहाँले नेपाली कांग्रेसलाई एकलौटी सरकार बन्न दिने । यदी नेपाली कांग्रेसले गठबन्धन तोडेर एमालेको समर्थन लिन जाने हो भने । गठबन्धन टुट्ने हो भने एमसिसी पास गर्न सहयोग गर्ने । उहाँले खुलेआम दिएको तर्क हो यो । अर्कोतिर सदन चल्न नदिएर कुनै पनि विधेयकहरू परित हुन नदिने डिजाइन । यो सबै प्रतिगमनकै निरन्तरतामा उहाँ हुनुहुन्छ । उहाँले जस्ता शक्तिहरूसँग सहकार्य गर्ने कोशिस गरिरहनुभएको छ, ती सबै प्रतिगमनका पक्षधरहरूसँग नै गरिरहनुभएको छ । उहाँको निरन्तर प्रयासले तपाई/हामी सबैलाई नकारात्मक ढंगले सतर्क हुन मद्दत गरेको छ,’ प्रचण्डले भने । 



उनले ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउने समेत बताए । 



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ७:५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया