नोबेललाई प्रशासनको निर्देशन : विद्यार्थीसँग अतिरिक्त शुल्क किन? कारणसहित उपस्थित हुनू

जिल्ला प्रशासन कार्यालय मोरङले नोबेल मेडिकल कलेज शिक्षण अस्पताललाई स्पष्टिकरण सोधेको छ । विद्यार्थीसँग अतिरिक्त शुल्क लिनुको कारण खुल्ने कागजातसहित मंगलबार बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएकाे हाे ।

'अभिभावकसहितको छलफल राखेका छौँ,' मोरङका प्रमुख जिल्ला अधिकारी  काशिराज दाहालले भने, 'उहाँहरूले पुष्टि गर्ने कागज ल्याउन सक्नु भएन भने भोलिदेखि नै पठनपाठन सुरु गर्नुपर्छ ।'

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाए मात्रै पढाइ सुरु गर्ने बताएपछि विद्यार्थी र अभिभावक आन्दोलित छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा झण्डै ५ लाख रुपैयाँ बढी मागेपछि अभिभावक आन्दोलित बनेका हुन् ।

कलेजले आयोगले तोकेकोभन्दा ४ लाख ८२ हजार रुपैयाँ बढी बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेशका मन्त्रीदेखि प्रशासनको साथ खोजेका छन् । अभिभावकले साेमबार प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापनपत्र बुझाउँदै अतिरिक्त शुल्कको विषयमा छानबिन गरिदिन माग गरेका थिए । अविभावक तथा विधार्थी आन्दोलित भएपछि प्रमुख जिल्ला अधिकारीले २४ घन्टा भित्र कागजातसहित उपस्थित हुन भनि चिठ्ठी लेखिसकेका छन् । 

कलेजले स्नातक तह (एमबीबीएस) मा भर्ना हुने विद्यार्थीबाट इन्टर्नशिपबापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार, होस्टेल शुल्क १ लाख ४४ हजार रुपैयाँ बुझाउन दबाब दिँदै आएको छ । 

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि जम्मा कूल रकम ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्ष १४ लाख ७८ हजार ६७५ रुपैयाँ अभिभावकले बुझाएका छन् ।



चिकित्सा शिक्षा आयोगले नै परिक्षा लिएर विद्यार्थीलाई कलेज रोज्न लगाएको थियो । 'नोबेल मेडिकल कलेजले आफै विद्यार्थी भर्ना गराउन पाउँदैन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले भने, 'काठमाडौं विश्वविद्यालय मार्फत उनीहरू त्यहाँ गएका हुन् ।' विद्यार्थीले काठमाडौं विश्वविद्यालयको नाममा पैसा बुझाएपछि अन्य पैसा लिन नहुनेसमेत उनले बताए । काठमाडौं विश्वविद्यालयलाई यो विषयमा पत्र नै लेखिसकेको उनले बताए । 

नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा. रामहरी घिमिरेले भने यो देशव्यापी समस्या रहेको बताएका छन् । उनले काठमाडौं विश्वविद्यालयले नै लिन भनेकोले लिएको समेत बताए । अभिभावकसँग छलफल गरेर पढाइलाई नियमित गर्ने समेत बताए । 



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ८:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया