सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं संस्करण समाप्त भएको छ । लिगमा हालसम्म मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहँदा च्यासल युथ र फ्रेन्ड्स रेलिगेसन जोनमा छन् ।
यही चरणमा जावलाखेलले गोल गरेसँगै लिगमा अब कुनै पनि टोली गोलविहीन रहेनन् । यो चरणका सातमध्ये चार खेलमा जित/हारको नतिजा निस्कँदा तीन खेल बराबरीमा सकिए । लिगमा अपराजित रहेका साविक विजेता मछिन्द्र, मनाङ मर्स्याङ्दी, संकटा र त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं चरणमा पनि त्यसलाई निरन्तरता दिए ।
लिगको पाँचौं चरणमा अम्पायरले २८ पहेँलो कार्ड देखाए । यो हालसम्मकै सर्वाधिक पहेँलो कार्ड हो । समग्रमा लिगमा १०५ पहेँलो र एक रातो कार्ड देखाइएको छ । पाँचौं चरणमा कुल १५ गोल भए ।
हालसम्म जारी लिगको ३५ खेलमा ४८ खेलाडीले ६५ गोल गरेका छन् । जसमा एक खेलाडीले चार, चार खेलाडीले तीन, ६ खेलाडीले दुई, ३५ खेलाडीले एक र दुई खेलाडीले एक/एक आत्मघाती गोल गरे ।
काठमाडौं उपत्यका बाहिर पहिलो खेल
नेपाली शीर्ष लिगको ६७ बर्से इतिहासमा पहिलोपटक काठमाडौं उपत्यका बाहिर खेल भयो । पाँचौं चरणअन्तर्गत ३ पुसमा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच पोखरा रंगशालामा ऐतिहासक खेल भएको हो । जसमा मनाङले ३–१ को सहज जित हात पार्यो ।
मनाङले आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्ने सोच बनाउँदै लिगका केही खेल पोखरा रंगशालामा खेलाउने प्रस्ताव राखेको थियो । मनाङको सो प्रस्तावलाई नेपाल पुलिस, बिग्रेड ब्वाइज र च्यासल युथ क्लबले स्विकार गरेसँगै लिग इतिहासमा पहिलोपटक ‘ए’ डिभिजन लिगको खेल काठमाडौं उपत्यका बाहिर हुने पक्का भएको थियो ।
मनाङले अब १७ पुसमा बिग्रेड ब्वाइज र २४ पुसमा च्यासल युथ क्लबसँग पोखरा रंगशालमै खेल्नेछ ।
तीन टोलीको पहिलो जित
लिगको पाँचौं चरणमा आएर तीन टोलीले पहिलो जित दर्ता गरे । जावलाखेल युथ, हिमालयन शेर्पा र एपिएफ फुटबल क्लबले पाँचौं चरणमा पहिलो जित दर्ता गरेका हुन् ।
जावलाखेलले च्यासललाई १–० तथा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज र एपिएफले फ्रेन्ड्स क्लबमाथि समान ३–१ को जित निकाले । जारी लिगमा जावलाखेलको यो पहिलो गोलसमेत हो । अब लिगमा जितविहीन एक मात्र टोलीका रूपमा फ्रेन्ड्स क्लब छ ।
रेफ्री विवाद
‘ए’ डिभिजन लिगअन्तर्गत पाँचौं चरणको सुरुवातदेखि नै रेफ्री विवादमा तानिए । मैदानभित्र खेलाडीसँग होस् वा प्रशिक्षकसँग रेफ्रीको विवाद देखियो ।
जारी सिजनको पहिलो चरणदेखि नै रेफ्रीको क्षमता र गुणस्तरमा प्रश्न उठिरहेका थिए । भिआइपी क्षेत्रमा बसेर पूर्वखेलाडी तथा प्रशिक्षकहरूले पनि रेफ्रीप्रति गुनासो तथा आलोचना गरेको प्रस्टै सुनिन्थ्यो ।
खेलपछि पोस्ट म्याच कन्फरेन्समा पनि टोलीका प्रशिक्षकले रेफ्री ‘ए’ डिभिजन लिग खेलाउने लायक नभएको भन्दै खुलेरै आलोचना गरेका थिए ।
लिग खेलाइरहेका रेफ्री र एन्फाबीचमा विवाद पनि आयो । यो विवाद र रेफ्रीको राजीनामा प्रकरण पछि त झन् टोलीका प्रशिक्षक उनीहरूमाथि खनिएका थिए ।
मैदानमा खेलाडी पनि रेफ्रीको निर्णयप्रति सन्तुष्ट नरहेको प्रष्टै देख्न सकिन्थ्यो । उनीहरूले स–साना कुरामा पनि रेफ्रीसँग विवाद गरेको देखियो ।
पहिलोपटक विभागीय टोलीमा विदेशी खेलाडी
लिगको पाँचौं चरणअन्तर्गको अन्तिम खेलमा फ्रेन्ड्स क्लबविरुद्ध जापानी गोलरक्षक युया कुरियासमाले विभागीय टोली एपिएफको गोल पोस्ट सम्हाले ।
नेपाली शीर्ष लिगमा एपिएफका लागि डेब्यु गरेसँगै कुरियामा विभागीय टोलीका लागि खेल्ने पहिलो विदेशी खेलाडी बने ।
लिगको डेब्यु खेलमा केरियामाले फ्रेन्ड्सका केही राम्रा प्रहारलाई विफल पार्दै टोलीलाई पहिलो जित दिलाउन मद्दत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।