‘विश्वप्रकाशलाई देउवाले नै पठाएका हुन् प्रकाशमान सिंहकहाँ’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नयाँ नेतृत्व चयन गरेर सकिएको छ । कांग्रेस पदाधिकारीमा सभापति शेरबहादुर देउवानिकट नेताहरूको बर्चश्व देखिएको छ ।

यसपटक महाधिवेशनमा सबैभन्दा बढी चर्चामा रहेको प्रसंग हो- महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापाको विजय । दुवैजना देउवाइतर समूहबाट चुनावी प्रतिस्पर्धामा थिए । 

देउवालाई कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले सहयोग गर्दा पनि महामन्त्रीमा देउवा प्यानलबाट चुनावमा होमिएका प्रकाशशरण महत र प्रदीप पौडेल दुवैले पराजय भोगे ।

अहिले देउवासमूहभित्र यी दुई उम्मेदवारको हारको विषयमा व्यापक छलफल हुन थालेको छ । आफूले सभापतिमा जित्नका लागि सिटौलालाई साथ लिएकाले देउवाले अरू कसैका लागि पनि खासमा ध्यान दिन नसकेको चर्चा पनि चलेको छ ।

योभन्दा पनि बढी देउवानिकट नेताहरूले प्रकाशशरण महत र प्रदीप पौडेललाई हराउन भूमिका खेलेको निष्कर्ष देउवाको एउटा समूहले निकालेको छ । 

देउवानिकट भएका महामन्त्रीका आकांक्षी एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँणलगायतले देउवालाई उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि प्रदीप पौडेल र प्रकाशशरण महतलाई महामन्त्री उम्मेदवार नबनाउन अनुरोध गरेका थिए । 



तनहुँका शंकर भण्डारी, एनपी साउदलगायतले त केही मानिसहरू जम्मा गरेर देउवाकहाँ डेलिगेसन नै गएका थिए । तर, सिटौलालाई साथमा लिए पहिलो चरणमा नै सभापतिमा निर्वाचित हुने चाहनामा थिए, देउवा । 

त्यसैले उनले आफूनिकट यी नेताहरूलाई प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउन आफू बाध्य भएको बिफ्रिङ गरेका थिए । तर, खाँण, कार्की र साउद तीनै जनाले प्रदीप पौडेल मात्र होइन, प्रकाशशरणलाई समेत महामन्त्री उम्मेदवार बनाएकोमा देउवासँग असन्तुष्टि पोखेका थिए।



देउवानिकट एक नेताका अनुसार देउवाले यसअघि विश्वप्रकाश शर्मालाई आफ्नो प्यानलबाट उम्मेदवार बनाउने योजना बनाएका थिए । तर, कार्की, खाँण, साउद र प्रकाशशरणको जोडबलका कारण उनले अन्तिम समयमा शर्मालाई महामन्त्रीमा उम्मेदवार बनाउन सकेनन् ।

कांग्रेस महाधिवेशनमा उम्मेदवारी मनोनयनको दिन सोमबार विहान ११ बजेसम्म देउवा समूहले कसलाई महामन्त्री बनाउने भन्ने कुराको टुंगो लगाएको थिएन ।

‘देउवा सिटौला लिनका लागि महामन्त्री पद दिन आफू तयार भइसकेका थिए,’ कांग्रेसका नवनिर्वाचित एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, आफ्नो समूहमा कुरा मिलाउन उनले सकेका थिएनन् । प्रदीप पौडेललाई महामन्त्रीमा उठाउने सिटौलाको चाहनालाई देउवानिकटका यी नेताहरूले नै मानिरहेका थिएनन् ।’

अर्कोतिर, महामन्त्रीकै उम्मेदवार बनेका मिनेन्द्र रिजाल पनि शशांक कोइरालालाई देउवा क्याम्पमा ल्याएर आफू देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने योजनामा थिए । तर, अन्तिम समयमा रिजाल शेखर कोइराला समूहमा गए । 

शशांक देउवाको समूहमा अट्ने सम्भावना नदेखेपछि उनी पनि मनोनयनको दिनमा नै बिहान शेखर कोइरालाकहाँ पुगेका थिए । 

महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीको पदबाट समेत राजीनामा दिएका रिजालले आफ्नो उम्मेदवारी घोषणा गर्दा त्यसैले भनेका थिए, ‘म महामन्त्रीको उम्मेदवार हुँ तर टाउको को हुन्छ थाहा छैन ।’

‘उहाँ पनि शशांकलाई उपसभापति उम्मेदवार बनाएर आफू देउवा समूहबाट नै महामन्त्री उम्मेदवार बन्न चाहनुहुन्थ्यो,’ उनीनिकट एक नेता भन्छन्, ‘तर, अन्तिममा यो सम्भव भएन ।’

एकातिर सिटौलाले महामन्त्री पद मागिरहेका थिए भने अर्कोतिर शशांकलाई लिँदा पनि महामन्त्री पद दिनु पर्ने भएकाले देउवा स्वयंले यो प्रस्तावलाई अस्वीकार गरेका थिए ।

सिटौलालाई उम्मेदवारी मनोनयनको दिन बिहान ११ बजे बालुवाटार बोलाएर देउवाले महामन्त्री दिए पनि सहमहामन्त्री दिन नसकिने बताएका थिए । तर, सिटौलाले खानेपानीमन्त्री समेत रहेका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार हुनेमा अडान लिए । 

सिटौलाको दबाबका कारण देउवाले पौडेललाई महामन्त्रीमा र चौधरीलाई सहमहामन्त्रीमा आफ्नो प्यानलमा सहभागी गराए । पौडेलले महामन्त्रीमा जित निकाल्न सकेनन्, चौधरी सहमहामन्त्री भइसकेका छन् ।

सिटौलाको समर्थन जुटाउन महामन्त्रीमा प्रदीप पौडेललाई उठाउन तयार भएका देउवाका लागि यही समयमा समस्या बनेका थिए- विश्वप्रकाश शर्मा । देउवाले शर्मालाई गुमाउन चाहन्थेनन् । तर, बाँकी एक महामन्त्रीमा पनि उनलाई ल्याउन सक्दैनथे । 

त्यसैले, देउवाले विश्वप्रकाश शर्मासँग सल्लाह गरेर उनलाई प्रकाशमान सिंहकहाँ पठाए । 

‘सभापतिको निर्वाचन दोस्रो चरणमा गएको खण्डमा प्रकाशमान सिंहको साथ चाहिँदा पनि विश्वप्रकाशले भूमिका देखाउन सक्ने अनुमान देउवाले गरेका थिए,’ कांग्रेसका नवनिर्वाचित ती केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘त्यसैले उनले नै शर्मालाई प्रकाशमान सिंहकहाँ पठाएका हुन् ।’

देउवाले आफू सभापतिमा निर्वाचित हुनका लागि आफ्नो समर्थनमा नेताहरू जुटाएका मात्र थिएनन्, आफूइतर पक्षमा पनि विभाजन ल्याउने प्रयास गरेका थिए । यही प्रयासस्वरूप देउवाले शर्मालाई प्रकाशमान सिंहकहाँ पठाएको र आफूले महामन्त्रीमा साथ दिने पनि बताएका थिए ।

‘देउवाको संकेतका कारण नै विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार भएका हुन्,’ कांग्रेसका ती नेताले भने, ‘अनि देउवाको संकेतका कारण नै उनीनिकट नेताहरूले विश्वप्रकाश शर्मालाई मत दिएका छन् ।’

ती नेताको दाबीअनुसार सहमहामन्त्रीमा निर्वाचित प्रदेश २ का महेन्द्र यादवले समेत यसको विषयमा प्रदेश २ का आफूनिकट प्रतिनिधिहरूलाई विश्वप्रकाश शर्मालाई मत दिन अनुरोध गरेका थिए । 

‘महेन्द्र यादवले समेत महाधिवेशनमा विश्वप्रकाशलाई मत दिन अनुरोध गरेका थिए,’ ती नेता भन्छन्, ‘देउवाकै कारण विश्वप्रकाश महामन्त्रीमा निर्वाचित भएका हुन् ।’

  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १३:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया