माओवादी केन्द्र प्रदेश १ को नेतृत्व चयन थप पेचिलो बन्दै गएको छ । सहमतिको आधारमा नेतृत्व चयन गर्ने भनिए पनि पदाधिकारीका आकांक्षी बढ्दै गएपछि नेतृत्व चयनमा समस्या भएको हो ।
अघिल्लो साता पुष ७ गते भित्रमा पदाधिकारी चयनको विवाद टुंगोमा पुर्याउने भन्दै प्रदेश कमिटीको बैठकले अजम्बर काङमाङकाे संयोजकत्वमा नेतृत्व छान्ने कार्यदल बनाएको थियो ।
तर, तोकिएको समयसीमा सकिन लाग्दा पनि कार्यदलले पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारी हुन चाहनेको संख्या बढ्दै जाँदा सहमतिबाट पदाधिकारी छनौटमा समस्या देखिएको कार्यदलका एक सदस्यले बताए ।
कार्यदलमा प्रदेश १ का सहइन्चार्ज अजम्बर काङमाङ संयोजक छन् । यस्तै केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी सदस्य रहेका छन् ।
कार्यदलले पनि पदाधिकारी टुंग्याउन समस्या भएपछि आज पदाधिकारीका आकांक्षीलाई छलफलका लागि बोलाएको छ । कार्यदलले सहमतिमा पदाधिकारी छनाेट गर्न खोजे पनि नेता तथा कार्यकर्ताको भने चुनावी प्रक्रियामा जान कार्यदललाई दवाव परेको छ ।
कार्यदलका सदस्य तथा केन्द्रीय सदस्य इन्द्र आङ्वोले भोलिसम्ममा पदाधिकारी छनाेट हुने बताए । उनका अनुसार सहमतिको प्रयास भइरहेको छ । तर, अहिले नै सहमतिमा पदाधिकारी छनाेट गर्ने भन्नेमा टुंगो लागि सकेको छैन ।
‘हामी सबैको सहमतिमा नेतृत्व छनाेट गर्छौं । यसका लागि भोलिसम्मको समय लाग्ने छ’, उनले भने ।
प्रदेशको अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका ध्रुवबहादुर बुढाथोकी, देवान किराती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङ लगायतले दाबी गरेका छन् ।
उनीहरूले फेसबुकमा प्रचार अभियान समेत सञ्चालन गरेका छन् । यसैगरी महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी वि.क.लगायतकाे दाबी छ । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादव, झापाका पूर्णसिंह राजवंशीलगायतले दाबी गरेका छन् ।
खुला उपाध्यक्षमा भने सुनसरीका भोला बस्नेतले दाबी गरेका छन् । यस्तै सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्का लगायतले दाबी गरेका छन् ।
सहसचिवमा भने सोलुखुम्बुका ठमनाथ पराजुली, सुनसरीका मजदुर नेता भानु मैनाली र मोरङकी रचना राईकाे दाबी छ । कोषाध्यक्षमा सुनसरीका मदन चुँडाल, भोजपुरका भविन्द्र अधिकारले दाबी गरेका छन् ।
नौजना पदाधिकारी छान्नुपर्ने प्रदेशमा पदाधिकारीको आकांक्षी धेरै भएपछि चुनावी प्रक्रियामा जान नेता तथा कार्यकर्ताले दबाब दिएका छन् ।
मिक्सोलाई अध्यक्ष बनाउने तयारीमा नेतृत्व
गएको बुधबार विराटनगरमा भएको प्रदेश कमिटीको बैठकमा अध्यक्षको दौडमा रहेका तीन केन्द्रीय सदस्यहरूले अध्यक्षको दावी छाडे ।
केन्द्रीय सदस्यहरू इन्द्रबहादुर आङ्वो, हेमराज भण्डारी र सुरेश किरातीले आफूहरू प्रदेश अध्यक्षमा नउठ्ने बताएपछि एकाएक चर्चामा आए- पाँचथरका माओवादी नेता हर्क नेम्वाङ मिक्सो । बैठकमै उनलाई अध्यक्ष बनाउने विषय चर्चामा ल्याइयो ।
यसअघिसम्म उनको नाम चर्चामा थिएन । अर्थमन्त्री जनार्दन शर्माका स्वकियको रूपमा काम गरिरहेका नेम्वाङकाे नाम अध्यक्षको रूपमा आएपछि सुनसरीका दुई माओवादी नेताहरू शिवकुमार डाँगी र मुकेश मेन्याङ्वोले अध्यक्षको दावी गरे ।
जसले गर्दा प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । बैठकले सहइन्चार्जको संयोजकत्वमा पदाधिकारी छनाेट गर्ने कार्यदल बनायो ।
माओवादी केन्द्र स्राेतका अनुसार नेम्वाङलाई सहमतिमै अध्यक्ष बनाउन जोड दिइएको छ । उनी लामो समयदेखि प्रचण्ड निकट रहेर काम गरिरहेका छन् । यसअघि प्रदेश अध्यक्षको बलियो दावेदारी आङ्वोको थियो । उनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री समेत छन्।
मन्त्री पनि उनैलाई, अध्यक्ष पनि उनैलाई भन्ने विरोध आएपछि आङ्वोलाई ब्याक हटाएर नेम्वाङलाई अघि सारिएको स्राेतको दावी छ ।
चुनाव भए आङ्वोले जित्ने भएपछि पार्टी नेतृत्वले केन्द्रीय सदस्यहरू प्रदेशमा नउठ्ने सहमति गराउँदै हेमराज भण्डारी र सुरेश किरातीलाई समेत ब्याक गराएको थियो । आङ्वोलाई अध्यक्षबाट पछि हटाउन नेम्वाङ्लाई अध्यक्ष बनाउने सहमति भएको स्राेतकाे दावी छ । एकै जिल्ला भएका नेम्वाङलाई आङ्वोले साथ दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।