'ए' डिभिजन लिग जारी छ । जारी लिगमा १४ क्लबको सहभागिता रहेको छ । जारी सिजनमा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । स्टार खेलाडीको ट्याग लगाएका केहीले भने सोचेजस्तो राम्रो खेल्न सकेनन् । फुटबल टिम गेम हो । यद्यपि व्यक्तिगत प्रदर्शन पनि खेलमा उत्तिकै महत्त्वपूर्ण मानिन्छ । केही खेलाडी यस्तो भए जो टोलीका लागि ‘लक्की चार्म’ सावित भए ।
मार्टिन्स अजयी
जारी लिगमा ४ गोलसहित सर्वाधिक गोलकर्ता बने नाइजेरियन फरवार्ड मार्टिन्स । उनी सातदोबाटोमा आवद्ध खेलाडी हुन् ।
उनले तेस्रो चरणअन्तर्गत एपिएफविरुद्ध ३ गोल गरेका थिए । उनी लिगमा ह्याट्रिक पूरा गर्ने एक्ला खेलाडी हुन् ।
अजयीले पाँचौं चरणमा आर्मीविरुद्ध पनि एक गोल गरे । सातदोबाटोका लागि उनी प्रमुख हतियार सावित भएका छन् ।
निरज बस्नेत
संकटा क्लबका डिफेन्डर निरज बस्नेत क्लबका लागि महत्त्वपूर्ण खेलाडी हुन् ।
उनले पाँच खेलमध्ये ३ खेलमा १/१ गोल गरेका छन् । उनी टोलीको सर्वाधिक गोलकर्ता पनि हुन् । उनले मनाङ मर्स्याङ्दी, फ्रेन्ड्स र पुलिस क्लब विरुद्ध १/१ गोल गरेका छन् ।
संकटा क्लबको संकट मोचनजस्तै बनेका उनी लिगमा समेत महत्त्वपूर्ण खेलाडी हुन् । उनी २ खेलमा 'मोस्ट भ्यालुयबल प्लेअर अफ दी म्याच' बनेका छन् ।
सुनिल बल
मछिन्द्र क्लबका फरवार्ड सुनिल बल जारी प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये पर्छन् । उनले मछिन्द्रका लागि हालसम्म ३ गोल गरेका छन् । उनको मिडफिल्डदेखि फरवार्डसम्मको पोजिसनमा देखाएको प्रदर्शन उत्कृष्ट रहेको छ ।
मछिन्द्रका प्रायः खेलाडी चोटग्रस्त बन्ने गरेका छन् । कोही खेलाडी पनि पूर्ण फिट देखिँदैनन् । सुनिल बल भने आवश्यकताअनुसार सबै पोजिसनमा फिट रहेर टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् ।
सुनिलले न्युरोड टिम (एनआरटी)विरुद्ध २ र हिमालयन शेर्पाविरुद्ध १ गोल गरेका छन् ।
सेसेहाङ आङ्दाम्बे
त्रिभुवन आर्मी क्लबका मिडफिल्डर सेसेहाङ आर्मीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
दुई खेलमा ‘मोस्ट भ्यालुयबल प्लेअर अफ दि म्याच’ बनेका उनको प्रदर्शन यस सिजनमा आर्मीको टोलीका लागि उत्कृष्ट देखिन्छ ।
इन्जुरीका कारण राम्रा खेलाडी बाहिर बस्दा पनि आर्मीका लागि सेसेहाङको प्रदर्शनले मैदानमा खेलाडीको अभाव खड्किएको छैन ।
उनले टोलीका लागि एक गोल पनि गर्न नसके तापनि मिडफिल्डमा उनको प्रदर्शन प्रभावशाली देखिएको छ ।
अञ्जन विष्ट
मनाङ मस्याङ्दी क्लबका कप्तान अञ्जन विष्ट राष्ट्रिय टोलीका पनि आशा लाग्दा खेलाडी हुन् । उनी राष्ट्रिय टोलीमा पनि उत्कृष्ट फरवार्ड भनेर चिनिन्छन् । मैदानमा उनले देखाउने प्रदर्शनले धेरैको मन जित्न सफल भएको छ ।
अञ्जनले दुवै गोल पहिलो पटक घरेलु मैदान पोखरा रंगशालामा पुलिस क्लबविरुद्ध गरेका थिए । उनी उक्त खेलमा ‘मोस्ट भ्यालुयवल प्लेयर अफ दि म्याच’ पनि घोषित भए ।
आशिष लामा
रेलिगेसनबाट बच्नका लागि संघर्ष गर्दै आएको एपिएफले चौथो चरणमा आएर पहिलो अंक जोडेको छ ।
पोस्ट म्याच कन्फ्रेन्समा पनि प्रशिक्षक कुमार थापा निकै उदास देखिन्थे । यही उदासीको तोड बनेर देखा परे आशिष लामा ।
चार खेलसम्म खासै राम्रो प्रदर्शन गर्न नसकेका आशिषले फ्रेन्ड्स क्लबसँग भएको पाँचौ खेलमा भने टोलीका लागि २ गोलले गरे । उनले पहिलो खेलमा ब्रिगेड ब्वाइजविरुद्ध १ गोल गरेका थिए ।
उनको प्रदर्शनले अंक तालिकाको पुच्छारमा रहेको टोली २ स्थान सुधार गर्दै हाल ११ औँ स्थानमा उक्लिएको छ ।
यसका साथै छिरिङ गुरुङ, पुजन उपरकोटी, दिनेश राजवंशी, लक्ष्मण रुचाल, राहुल रामचन्द्र यादव, अभिषेक बराललगायतले पनि लिगमा राम्रो प्रदर्शन गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।