एउटा यस्तो देश जसले आफ्नो परमाणु हतियार आफैँ नष्ट गर्‍यो

दक्षिण अफ्रिकाका राष्ट्रपति फ्रेडरिक विलियम डी क्लार्कले २४ मार्च १९९३ मा एउटा यस्तो कुराको पुष्टि गरे जसलाई कयौं वर्षदेखि मात्र ‘हल्ला’ को रूपमा हेरियो ।  

उनले भनेका थिए, ‘मेरो देशले एक गोप्य प्रोजेक्टमा काम गरिरहेको थियो जसले परमाणु हतियार निर्माण गरेको थियो ।’ दक्षिण अफ्रिकी संसदलाई सम्बोधन गर्ने क्रममा उनले देश र दुनियाँलाई सो प्रोजेक्टमार्फत ६ वटा परमाणु हतियार बनाएको जानकारी दिएका थिए ।

ती परमाणु बमहरू नष्ट गरिएको सूचनासमेत उनले संसदलाई दिएका थिए । र, उनले सैन्य आवश्यकताको लागि परमाणु कार्यक्रम पूर्णरूपमा बन्द गरिएको दाबीसमेत गरेका थिए । दक्षिण अफ्रिका १९९१ को जुलाईसम्ममा संयुक्त राष्ट्रसंघको न्युक्लियर नन्–प्रोलिफरेशन ट्रीटी (एनपीटी)को हिस्सा बनिसकेको थियो । 

उक्त घोषणासँगै डी क्लार्कले राष्ट्रसंघीय परमाणु एजेन्सी इन्टरनेशनल एटमिक इनर्जी अर्गनाइजेशन (आइआइए)लाई परमाणुस्थलको खुला अनुगमन गर्न दियो । आफ्नो दाबी झुठ नभएको पुष्टि गर्न आइआइएलाई अनुगमनको अनुमति दिइएको थियो । 

उनले आइआइएले दक्षिण अफ्रिकाका सबै परमाणुस्थलको भ्रमण गरी दाबी सत्य वा गलत भएको पुष्टि गर्न सक्ने अनुमति दिएका थिए । यो घोषणासँगै डी क्लार्कले परमाणु हतियार विकास गर्ने थोरै देशको समूहमा दक्षिण अफ्रिकालाई सहभागी गराएका थिए । 

दक्षिण अफ्रिका त्यस्तो देश बन्यो जसले एनपीटीको हिस्सा बन्नु अगावै परमाणु हतियार पूर्णरूपमा त्याग्यो । सन् १९९० को दशमा युक्रेन पनि आफ्नो परमाणु हतियार नष्ट गर्न सहमत भएको थियो । तर, ती हतियार युक्रेनले आफैँले विकास नगरेर पूर्वसोभियत संघबाट प्राप्त गरेको थियो ।   



शान्तिपूर्ण उद्देश्यको लागि परमाणु कार्यक्रम 

दक्षिण अफ्रिकाले सन् १९४८ मा कानुन निर्माण गरेर एटमिक इनर्जी बोर्ड स्थापना गरेको थियो । यसको उद्देश्य परमाणु ऊर्जाको सम्भावना खोजी गर्नु थियो । 



सन् १९६० को दशकको सुरुवाती वर्षमा दक्षिण अफ्रिकाले अनुसन्धान र विकास गतिविधि सुरु गर्‍यो । उसले राजधानी प्रिटोरियाबाट करिब ४० किलोमिटर टाढा पेलिंडाबा परमाणु प्लान्ट स्थापना गर्यो । 

परमाणु कार्यक्रमको सुरुवाती चरणको उद्देश्य शान्तिपूर्ण थियो । दक्षिण अफ्रिकासँग युरेनियमको भण्डार थियो । युरेनियमको व्यवस्थापन गर्न पनि शान्तिपूर्ण उद्देश्यका साथ परमाणु कार्यक्रमको सुरुवात गरिएको थियो । 

परमाणु हतियार निर्माण गर्न युरोनियम नभई नहुने वस्तु हो, जुन दक्षिण अफ्रिकासँग थियो । सन् १९६० को दशकमा प्राप्त सुरुवाती सफलतापछि दक्षिण अफ्रिकी सरकारले औद्योगिक स्तरमा काम गर्न पायलट प्लान्ट स्थापना गरेको थियो । 

सन् १९७० मा तत्कालिन प्रधानमन्त्री बीजे वोस्र्टरले संसदलाई यी योजनाका बारेमा जानकारी दिएका थिए । उनले परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यको लागि भएको प्रतिवद्धता दोहोर्याएका थिए ।

परमाणु कार्यक्रमको अर्को उदेश्य भनेको आफूसँग रहेको युरोनियमको भण्डारबाट भविष्यमा कसरी बढी आर्थिक फाइदा लिन सकिन्छ भन्ने थियो । त्यसपछि यो परियोजना विस्तारै नागरिकको सुरक्षा केन्द्रित बन्दै गयो । सन् १९७४ मा एक रिपोर्टमा आफूसँग रहेको युरेनियमबाट परमाणु हतियार बनाउन सकिने निश्चित देखिएपछि सरकारले गोप्य परियोजनाको लागि स्वीकृति प्रदान गर्‍यो ।

अनि सुरु भयो परमाणु हतियार निर्माण कार्य । नागरिक सुरक्षा हुँदै सैनिक उद्देश्यका साथ परमाणु हतियार विकास गर्ने योजना अघि बढ्यो । 

सुरक्षाको लागि हतियार 

डी क्लार्कले १९९३ मा संसदलाई भनेका थिए– ‘दक्षिण अफ्रिकाले सीमित युद्ध क्षमताका परमाणु हतियार निर्माण गर्ने निर्णयको सुरुवात सन् १९७४ बाट गरेको थियो ।’ 

सैन्य उद्देश्यले परमाणु हतियार निर्माण गर्नु पछाडि एउटै कारण थियो– तत्कालिन सोभियत संघको सैनिक विस्तारबाट दक्षिण अफ्रिकालाई आइपर्ने खतरा । 

यस्तै, कम्युनिस्ट विचारधारा भएका देशहरूको संगठनबाट हुनसक्ने खतराबाट जोगिन पनि दक्षिण अफ्रिकालाई परमाणु हतियार बनाउन प्रेरित गरिरहेको थियो ।

अफ्रिका महादेशमा फेरिएको सुरक्षा अवस्थाले दक्षिण अफ्रिकालाई झन् छिटो परमाणु हतियारको नजिक पुर्‍याएको थियो । पोर्चुगलले अफ्रिकाका विभिन्न देश छोडेर गइसकेको थियो ।

अंगोला र मोजाम्बिक उपनिवेशबाट मुक्त भएका थिए । पोर्चुगलले छोड्नेबित्तिकै ती देशमा गृहयुद्ध सुरु भएको थियो । वामपन्थी र पूँजीवादी राष्ट्रबीच शीत युद्ध सुरु भइसकेको थियो । क्षेत्रीय सुरक्षा अवस्था अस्थिर बन्दै थियो । 

अंगोलामा क्युबाली सेनाको संख्या बढिरहेको थियो । यसैकारण दक्षिण अफ्रिका देश र जनतालाई सुरक्षित गर्ने हतियारको खोजीमा थियो । त्यतिबेला दक्षिण अफ्रिकाको अवस्था निकै नाजुक थियो । देशभित्र उथलपुथल चलिरहेको थियो । दक्षिण अफ्रिकाले लिएको रंगभेदी नीतिका कारण अन्तर्राष्ट्रिय समुदायबाट आलोचित भइरहेको थियो । यसैकारण अन्य राष्ट्रबाट हतियार खरिद गर्न दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाइँदै थियो । 

विविध कारणले गर्दा दक्षिण अफ्रिकाको अवस्था निकै नाजुक बनेको थियो । चौतर्फी दबाबका कारण दक्षिण अफ्रिकालाई आफ्नो सुरक्षा गर्न हम्मेहम्मे परिरहेको थियो । अमेरिकाले परमाणु हतियारसँग जोडिएका जानकारी दक्षिण अफ्रिकालाई उपलब्ध नगर्न उर्दी जारी गरेको थियो । 

सन् १९७८ मा अमेरिकाले एउटा कानुन पारित गर्‍यो, जहाँ परमाणु अप्रसार सन्धिको पक्षधर नभएका राष्ट्रलाई परमाणु प्रविधि सम्बन्धि जानकारी दिन प्रतिबन्ध गरिएको थियो । 

शीत युद्धको दौरान विश्व दुई हिस्सामा विभाजन भएको थियो । शीतयुद्ध तत्कालिन सोभियत संघ र अमेरिकाबीच चलेको थियो । विश्वका राष्ट्रहरू यिनै दुई देशको पक्ष/विपक्षमा विभाजित भएका थिए । तर दक्षिण अफ्रिकालाई अमेरिका र सोभियत संघ दुवैको समर्थन थिएन । 

जब सन् १९७७ मा दक्षिण अफ्रिकाले भूमिगत परमाणु परीक्षणको तयारी गरिरहेको थियो तब अमेरिका र सोभियत संघ दुवै मिलेर उक्त परीक्षण रोकेका थिए ।  

गोप्य रणनीति 

कसैको साथ नपाएपछि दक्षिण अफ्रिका जसरी पनि परमाणु हतियार विकास गर्नुपर्ने निष्कर्षमा पुगेको थियो । देशको सुरक्षाको लागि परमाणु हतियार आवश्यक रहेको ठहर दक्षिण अफ्रिकाको थियो । यसै सिलसिलामा दक्षिण अफ्रिका सरकारले सन् १९७८ मा तीन चरणमा परमाणु रणनीतिलाई स्वीकृति दियो । 

पहिलो रणनीति थियो– देशको परमाणु क्षमताबारे कसैलाई जानकारी नदिने, यसलाई स्वीकार पनि नगर्ने र अस्विकार पनि नगर्ने । दोस्रो चरण– दक्षिण अफ्रिकामाथि खतरा उत्पन्न भए मात्र कार्यन्वयन गर्ने भन्ने थियो । यो चरणमा अमेरिका जस्ता महाशक्ति राष्ट्रलाई गोप्य रूपमा आफूसँग परमाणु हतियार भएको जानकारी दिने योजना बनाइएको थियो । यसले अन्तर्राष्ट्रिय खतरा कम गर्ने विश्वास लिइएको थियो । 

तेस्रो चरण– यदि दोस्रो चरणबाट पनि देशमाथिको खतरा कम नभए तेस्रो चरणमा जाने भन्ने थियो । यो चरणमा सार्वजनिक रूपमा दक्षिण अफ्रिकासँग परमाणु हतियार रहेको घोषणा गर्ने योजना रहेको थियो । साथै परमाणु बमको भूमिगत परीक्षण गर्ने योजना पनि थियो । 

यी सबै चरण पार गरेपछि दक्षिण अफ्रिकाले देश युद्धमा गइहाले पनि परमाणु बमको प्रयोग नगर्ने प्रतिबद्धता जनाउने योजना बनाइएको थियो । परमाणु हतियार प्रयोग गरे ठूलो अन्तर्राष्ट्रिय दबाबको सामना गर्नुपथ्र्यो, जुन थेग्न दक्षिण अफ्रिकालाई निकै कठिन पथ्र्यो । 

यो रणनीति लागू गर्नको लागि दक्षिण अफ्रिकालाई कम्तिमा पनि सातवटा परमाणु बम बनाउन आवश्यक थियो । दक्षिण अफ्रिकाले पहिलो परमाणु बम सन् १९८२ मा निर्माण गरेको थियो । तर, सातौं बम भने उसले बनाएन । यथार्थमा यो रणनीति पहिलो चरणबाट अघि बढेन । 

दक्षिण अफ्रिकाले निर्माण गरेको परमाणु बम त्यति नै शक्तिशाली थियो जति अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा खसालेको बम थियो । 

स्वयं हतियार नष्ट

यति दुःख गरेर निर्माण गरेको परमाणु बम दक्षिण अफ्रिकाले किन आफैँले नष्ट गर्‍यो? यो जिज्ञासा धेरैको मनमा उठ्छ । राष्ट्रपति डी क्लार्कका अनुसार यसको कारण सन् १९८० को अन्तर्राष्ट्रिय राजनीतिक अवस्थासँग जोडिएको छ । 

संसदमा सम्बोधनका क्रममा उनले अंगोलामा युद्धविराम, क्युबाका ५० हजार सैनिक अंगोलाबाट फिर्ता र नामिबियाको स्वतन्त्रताको लागि तीन पक्षबीच सम्झौता भएको कुरा पनि उल्लेख गरेका थिए । 

यसको अलवा उनले वर्लिनको पर्खाल भत्केको, शीत युद्धको समाप्ती र सोभियत संघ विघटन भएका विषयलाई पनि सम्बोधनमा समेटेका थिए । सम्बोधनका क्रममा उनले यसैकारण अब परमाणु हतियारको आवश्यकता नरहेको उल्लेख गरेका थिए । त्यति मात्र होइन परमाणु हतियारकै कारण अन्तर्राष्ट्रिय सम्बन्धमा गतिरोध उत्पन्न भएको तर्क पनि उनले राखेका थिए । 

‘जुन युद्ध ग्रामिण क्षेत्रमा लड्नुपर्थ्यो त्यहाँ यस्ता हतियारको कुनै काम नै थिएन । यो सोच्दा पनि दुःख लाग्छ– हामी एकछिनमा पूरा सहरलाई नष्ट गर्न सक्छौं । मलाई सुरुदेखि नै परमाणु बम आफ्नो घाटीमा अड्केको पासो जस्तो लागेको थियो,’ हतियार नष्ट गरेको धेरै वर्षपछि सन् २०१७ मा उनले द एटलान्टिक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका थिए । 

परमाणु हतियार किन नष्ट गर्नुपर्‍यो भन्ने बारेमा उनले थप स्पष्ट पारेका थिए, ‘हामीसँग त्यस्तो चिज थियो जसको प्रयोग गर्ने हाम्रो चाहना नै थिएन । साच्चै भन्ने हो भने यस्ता हतियारको प्रयोग गर्नु नै हुँदैन । यसको प्रयोग गरेपछि नैतिक रूपमा आफ्नो बचाउ गर्न सकिँदैन ।’ 

सन् १९८९ मा डी क्लार्क जब सत्तामा आए उनले परमाणु कार्यक्रम स्थगित गर्न सुरु गरेका थिए । उनको योजना निर्माण भइसकेका बम पनि नष्ट गर्नु थियो, जसमा उनी सफल भए । परमाणु प्लान्ट बन्द गर्नु थियो । त्यसमा पनि उनी सफल भए । 

यो सँगसँगै दक्षिण अफ्रिका सरकारले एनपीटीको हिस्सा बन्ने प्रक्रिया सुरु गरेको थियो । त्यसपछि देशमा आन्तरिक राजनीतिक सुधारका कार्यक्रम अघि बढे । रंगभेद नीतिको अन्त गरियो र राजनीतिक परिवर्तनपछि सत्ता नेल्सन मण्डेलाको हातमा गयो । 

के पाठ सिक्ने? 

संसदमा सम्बोधन गर्दा डी क्लार्कले दक्षिण अफ्रिकाको निर्णयबाट अन्य देशले पनि परमाणु हतियार त्याग्न तयार हुने दाबी गरेका थिए । 

द एटलान्टिकलाई दिएको अन्तर्वार्तामा उनले परमाणु मोह त्याग्ने राष्ट्रमा उत्तर कोरियाको नाम लिएका थिए । तर, उत्तर कोरियाले परमाणु हतियार त्याग्नेभन्दा पनि बढाउँदै लगेको छ । 

उनले अन्तर्वार्तामा उत्तर कोरियाले परमाणु हतियार निर्माण कार्य नत्याग्नुको कारणबारे भनेका थिए, ‘उत्तर कोरियालाई बम बनाउनबाट रोक्न अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्धका बढी जोड दिए । यसको बदलामा प्रोत्साहन राशि उपलब्ध गराउने कुरालाई प्राथमिकता दिएनन् ।’ 

दक्षिण अफ्रिकाको परमाणु ऊर्जा कर्पोरेसनका पूर्वनिर्देशक वाल्डो स्टन्फले सन् १९९५ मा आफ्नो रिपोर्टमा दक्षिण अफ्रिकाको अनुभवबाट सिक्नु पर्ने व्यवहारिक पाठ भनेर केही बुँदा उल्लेख गरेका थिए । 

स्टन्फले कुनै पनि देशले डर–धम्कीको भरमा मात्र उसले परमाणु कार्यक्रम नत्याग्ने चेतावनी शक्ति राष्ट्रलाई दिएका थिए । परमाणु बम  बनाउने प्रविधि निकै उच्चस्तरीय हुने भएपनि औद्योगिक देशलाई यो बनाउन कठिन नहुने धारणा उनको थियो । दक्षिण अफ्रिकाले दश वर्षमा २० करोड डलर खर्च गरेर परमाणु हतियार निर्माण गरेको उदाहरण उनले प्रस्तुत गरेका थिए । 

दबाब दिन कूटनीतिक रूपमा अलग गर्ने रणनीतिले विशेष बेला काम गरे पनि अन्य समयमा भने नोक्सान नै गर्ने दाबी स्टन्फको छ । उनले भनेका छन्, ‘१९७८ मा अमेरिकाले दक्षिण अफ्रिकालाई न्यूक्लियर रिएक्टर चलाउन आवश्यक पर्ने इन्धनमाथि रोक लगायो  र आर्थिक प्रतिबन्ध पनि लगायो । तर यसले दक्षिण अफ्रिकाका जे जति अमेरिकी प्रभाव थियो त्यो अन्त गरिदियो ।’ 

महाशक्ति राष्ट्रको दबावले एक हदसम्म काम गर्ने बुझाई उनको छ । तर पूर्ण रुपमा परमाणु मोह त्याग्न भने क्षेत्रीय तनाव नै कम गर्नुपर्ने सुझाव उनको छ । ‘दक्षिण अफ्रिकाको सम्बन्धमा यस्तै भएको थियो । मध्यपूर्व, दक्षिण एसिया र कोरियाली प्राय द्विपमा पनि यस्तै हुनसक्छ,’ स्टन्फले भने । –बिबीसी  

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार ८:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया