कांग्रेस महाधिवेशन : निर्वाचनको अन्तिम परिणाम आज आउने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज खस आर्य, आदिवासी जनजाति र दलित क्लस्टरको मतगणना भइरहेको छ । 

खस आर्यबाट १३, आदिवासी जनजातिबाट १५ र दलितबाट नौ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसको विधानमा छ । आज ३७ केन्द्रीय सदस्यको मतपरिणाम आउनेछ । अरू परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।

तीन क्लस्टरबाहेकको निर्वाचन परिणाम प्राप्त भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले  जानकारी दिए ।

पार्टी विधानमा १२१ केन्द्रीय सदस्य र १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । एक सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ । यसैगरी, ३३ केन्द्रीय सदस्य मनोनयनको अधिकार पनि सभापतिलाई दिइएको छ ।

आगामी चार बर्से कार्यकालका लागि गत मङ्सिर २७ गते मतदान भएको थियो । विद्युतीय मतदान प्रक्रियामा जान सहमति नजुटेका कारण निर्वाचनको अन्तिम परिणाम आउन एक हप्ताभन्दा बढी समय लागेको छ । 

आज बेलुकीसम्म भने सबै परिणाम प्राप्त भइसक्ने निर्वाचन समितिले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १३:५७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया