कांग्रेस अधिवेशनमा सरकारी र भारतीय गाडीको व्यापक प्रयोग

जनकपुरधाममा जारी नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनअन्तर्गत निर्वाचनको प्रचार-प्रसारमा सरकारी तथा भारतीय नम्बर प्लेटका गाडीको व्यापक प्रयोग भएको छ ।

कांग्रेस प्रदेश अधिवेशनका उम्मेदवार तथा नेता-कार्यकर्ताले प्रचार-प्रसारमा सरकारी तथा भारतीय गाडीको व्यापक प्रयोग गरेका हुन् ।

कांग्रेसको मंगलबारदेखि जारी अधिवेशनमा जनकपुरधाममा भारतीय गाडी निर्वाध रूपमा सञ्चालनमा देखिएका छन् । त्यस्ता सवारी साधनमा पार्टीको झण्डासमेत राखेर गुडाउने गरिएको पाइएको छ । यस्ता सवारी खुलमखुला नगरभित्र निर्वाध गुडिरहँदा पनि यसको नियमन गर्ने निकाय भने मौन देखिएको छ ।

आर्थिक ऐन, ०६५ मा एउटै चेचिस नम्बर र नम्बर प्लेटका गाडी एक वर्षमा पटक–पटक वा एकमुष्ट गरी जम्मा २९ दिन मात्र अस्थायी पैठारी गराई चलाउन पाउने प्रावधान छ ।

भारतीय सीमासँग जोडिएका जिल्लाका कतिपय उम्मेदवारका आफन्त भारतका विभिन्न गाउँमा बस्छन् । त्यही भएर उनीहरूका नाममा दर्ता रहेका गाडीको प्रयोग बढेको हुनसक्ने स्थानीय दिलीप साहले बताए ।

नियमन गर्ने निकाय राजस्व अनुसन्धान इकाई कार्यालय, प्रहरी, भन्सार र स्थानीय प्रशासन हुन् । यी निकायले देखेर पनि नदेखेझैँ गरेको नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले बताए । उनले बिनाअवरोध निर्वाध रूपमा कुनै पार्टी विशेषको निर्वाचन प्रचार-प्रसारमा भारतीय नम्बर प्लेटका गाडी प्रयोगमा आउनु दुःखद रहेको बताए ।



यता, प्रदेश २ सरकारका दुई मन्त्री र केही प्रदेश सांसदसमेत उम्मेदवार रहेकाले सरकारले उनीहरूका लागि उपलब्ध गराएको सवारीसाधन पनि निर्वाचन प्रचार-प्रसारमा प्रयोग भएको छ । कांग्रेसका मन्त्री र सांसदलाई सरकारले उपलब्ध गराएको सवारीसाधन अहिले कार्यकर्ता ओसार्ने प्रमुख साधन बनेका छन् ।

प्रदेश उपसभापतिका उम्मेदवार महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले आफूले प्रयोग गरिरहेको सरकारी गाडीमै निर्वाचन प्रचारप्रसार तथा कार्यकर्ता ओसार्न प्रयोग गरिरहेको देखिएको छ ।



  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १५:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया