खाजाका लागि प्रख्यात नाम बाजेको सेकुवा रेस्टुरेन्ट केही समयका लागि बन्द भयो । संस्था बन्द भएर उनीसँगै सबै कर्मचारी बेरोजगार भए । काम बन्द भए पनि उनी धेरै समय फाल्तु बसेनन् । आफूले बाजेको सेकुवाबाट आर्जन गरेको सीपलाई सदुपयोग गर्ने विचार गरे र सुरु भयो, उनको आफ्नै खाजा पसल ।
रेस्टुरेन्ट निर्वाध रूपमा चलिरहेको भए सायदै नूतन चौधरीको आफ्नै व्यवसाय हुन्थ्यो । संस्थागत रूपमा बाजेको सेकुवा घाटामा गए पनि नूतन चौधरीलाई भने फाइदा नै भयो ।
बाजेको सेकुवामा वेटर हुँदै उनी कुकसम्म पुगेका थिए । अघिल्लो दिन नियमित काम सकेर घर फर्केका उनले भोलिपल्ट ड्युटीमा आउँदा मात्र आफूले काम गर्ने संस्था बन्द भएको खबर पाए ।
केही समयपछि बाजेको सेकुवा पुनः सुचारु भयो । जागिर छुटेका सबैले पुनः त्यहीँ ठाउँमा काम गरे । तर, नूतन पुरानो जागिरमा फर्केनन् । त्यतिवेलासम्म नूतन आफ्नै व्यवसायको मालिक भइसकेका थिए । उनले सुरु गरिसकेको ठेला पसल ‘बन्द’ भएन ।
नूतनले व्यवसाय सुरु गरेको थाहा पाएर बाजेका सेकुवाका म्यानेजरलगायत सबैले राम्रो प्रतिक्रिया दिए । उनीहरूले ठेलामा बनाएको खाजा खाए । सफलताको कामना गरे । त्यसपछि त हो, उनको हौसला झनै बढ्यो ।
०००
देशको केन्द्रबिन्दु, काठमाडौं । सबैजसो मानिस यहाँ अवसरको खोजीमा आइपुग्छन् । यो देशको मात्र होइन, एकहिसाबले यो अवसरैअवसरको राजधानी हो । काठमाडौं आउनुअघि यस्तै लागेको थियो, सुनसरी झुम्का बजारका नूतन चौधरीलाई पनि ।
नूतनका जेठा दाजु काठमाडौंमा नै थिए । ठेक्कापट्टाको कामले उनको दैनिकी सामान्य बनाएको थियो । दाजुले बोलाएपछि नूतन एक दिन पनि ढिला नगरी काठमाडौं छिरेका थिए । प्लस टु पास हुनेबित्तिकै राजधानी छिरेका नूतन आजसम्म काठमाडौंमा आफ्नै पौरखले बाँचिरहेका छन् ।
सुरुमा दाजुले आफैँले ठेक्का पाएको घरनिर्माणमा नूतनलाई पनि काम लगाइदिए । केही समय ठमेलका विभिन्न ठाउँमा उनले ज्यामी काम गरे । त्यहाँ काम गर्दै गर्दा उनलाई लाग्न थाल्यो– सधैँ यस्तो काम गरेर हुँदैन । सजिलो काम खोज्नुपर्छ । नूतनले त्यो क्षण स्मरण गरे, ‘थोरै भने पनि पढेको छु, केही सीप सिक्न पाए काम पनि राम्रो पाइन्थ्यो होला जस्तो लाग्थ्यो ।’
उनले राजधानीमा होटल तालिम सिकाउने धेरै इन्टिच्युटका बारेमा पत्रिकामा विज्ञापन देखेका थिए । पढेका थिए । सोचे– तालिम लिन पाए र होटलमा काम पाइयो भने त गज्जबै हुने थियो ।
यही सोचले उनले होटलसम्बन्धी तालिम लिने ठाउँ खोजे । संयोगले निःशुल्क तालिम गर्ने अवसर पाए । ६ महिने कुक तलिममा उनले तीन महिना सैद्धान्तिक कक्षा लिए ।
त्यसपछिका तीन महिना प्रयोगात्मक तालिमका लागि बाजेको सेकुवा रेस्टुरेन्ट अनामनगरमा सरुवा भए । तालिम सुरु भएको एक महिनामै उनले काम नै गर्ने अवसर पाए । नूतन भन्छन्– मैले इमानदार भएर नै काम सिकेको थिएँ । मेरो कामले म्यानेजर खुसी भएको हुनुपर्छ ।
नूतनको कामप्रतिको लगनशीलता र सिकाइले बाजेको सेकुवाका व्यवस्थापन समूहलाई ‘इम्प्रेस’ पार्यो । त्यसैले उनले कुक बन्ने अवसर पाए ।
सिकाइ सुरु गरेको एक महिनामा नै रोजगारीको अवसर पाउँदा नूतनको खुसीको सीमा नै रहेन । त्यो पनि बाजेको सेकुवाजस्तो प्रतिष्ठित रेस्टुरेन्टमा । उनी अझै लगनशील भएर काममा लागे ।
तीन वर्ष भएको थियो, उनले बाजेको सेकुवामा काम गर्न थालेको । अन्तिम समयमा अतिरिक्त समयसमेत काम गर्दा उनले मासिक २२–२४ हजार पारिश्रमिक लिन्थे ।
तर, गएको वैशाखमा सरकारले अचानक बाजेको सेकुवामा सिलबन्दी गर्यो । नूतनलगायत अन्य कर्मचारी छाँगाबाट खसेजस्तो भए । छँदाखाँदाको जागिर जाँदा जोसुकैलाई त्यस्तै हुन्छ । रेस्टुरेन्ट बन्द भएको विषयमा ठूलै खैलाबैला भयो । पत्रपत्रिकाले विभिन्न कोणबाट समाचार लेखे ।
‘बेलुका काम सकेर गएको थिएँ,’ उनले भने, ‘भोलिपल्ट त बन्द भयो भनियो । अब यो कहिल्यै पनि खुल्दैन भनेर पनि हल्ला आयो ।’
उनको मनमा पनि प्रश्न जन्मियो– साँच्चै कहिल्यै पनि खुलेन भने के गर्ने ?
आफ्नै मनमा जन्मिएको एउटा प्रश्नबाट नूतनको जागिरे जीवनले युटर्न लियो । उनी जागिरेबाट व्यवसायी बने ।
०००
अन्यत्र काम गरुन्जेल नूतनले आफैँले व्यवसाय सुरु गरौँला भन्ने कहिल्यै सोचेका थिएनन् । जब आफैँ व्यवसाय सुरु गरे, उनले सोचेको भन्दा पनि धेरै सन्तुष्टि पाए ।
त्यसो त जागिर सकिएसँगै उनले दाजुसँग पनि सल्लाह गरेका थिए– अब के गर्ने होला ? दाजुले तुरुन्तै उपाय सुझाएका थिए, अब भाइसँग मिलेर आफैँले व्यवसाय सुरु गर ।
‘दाजुले भन्नुभयो सीप सिकेकै छौ, अब आफैँले होटल खोल, केही परे म सहयोग गर्छु’ नूतनले दाजुले भनेको वाक्य सम्झिए ।
अरूको कामको भर पर्दा यसैगरी भोलि फेरि अलपत्र पो पर्नुपर्ने हो किजस्तो पनि नूतनलाई नलागेको होइन । तै पनि दाजुले ‘परेको सहयोग गरौँला’ भनेकाले नूतनमा केही गर्ने हौसला बढेको थियो ।
व्यवसाय सुरु गर्ने क्रममा ठूलै ठाउँ खोजेर तामझामले होटल खोलौँ किजस्तो लागेको थियो, नूतनलाई । तर, खोजेको र भनेजस्तो ठाउँ नभेटेपछि उनले योजना बनाए, ठेलामा नै आफ्नो व्यवसाय सुरु गर्ने ।
पुरानो ठेला किने । सुरुमा बानेश्वर चोकमा ठेला राख्ने योजना बनाएका थिए । तर, त्यहाँ उपयुक्त हुने ठानेनन् । र, मदनभण्डारी कलेजसँगै सञ्चालन गरे । करिब एक लाख लगानी गरेर नूतनको व्यवसाय सुरु भयो ।
दैनिक एक हजारदेखि दुई हजारसम्म नाफा गर्छन्, नूतन । ‘अहिलेसम्मको धेरै नाफाचाहिँ चार हजार रुपैयाँ भएको थियो,’ उत्साहित हुँदै सुनाउँछन्, उनी ।
बेलुका ४ बजेदेखि साँझ ९ बजेसम्म उनको व्यापार समय हो । ६ देखि ८ बजेको समयमा सबैभन्दा धेरै व्यापार हुने उनी बताउँछन् । उनले आफ्ना ग्राहकसँग सल्लाह–सुझाब माग्दै आएका छन् । प्रायः ग्राहकले सफाइमा जोड दिन सुझाब दिन्छन्, उनलाई ।
०००
एकजना बाजे थिए, जो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडि खुला चाउरमा सेकुवा पोलेर बेच्थे । उनी पकाउन पनि निकै सिपालु थिए । उनले बनाएको सामान्य खाजा सेकुवाका लागि मानिसहरूको भिड जम्मा हुन्थ्यो । पछि बाजेले साबिकको ठाउँबाट केही पर सटर लिए ।
बाजेले बनाएका सेकुवा नै विशेष थियो । उनले बनाएको सेकुवा खान पर–परबाट पनि मानिसहरू आउन थाले । खोज्न थाले– यहाँ सेकुवा बेच्ने बाजेको सेकुवा पसल कहाँ छ ? दौरा सुरुवाल लगाएर सेकुवा बेच्ने मानिसलाई ग्राहकले बाजे भन्न थाले ।
पछि तिनै बाजेको पसलको नाम नै ‘बाजेको सेकुवा’ रहन गयो ।
उनै बाजेको छोरा चेतन भण्डारीले आजको बाजेको सेकुवा चलाइरहेका छन् । बाजेको सेकुवाबारे नूतनले सुनेको ‘कथा’जस्तै लाग्ने यथार्थ हो यो ।
नूतन भन्छन्– ‘एकजना बाजेले सुरु गरेको सेकुवाको आज यत्रो चर्चा छ, बिस्तारै मेरो पनि होला नि !’
आफूले गरेको कामको चर्चा बाजेको सेकुवाजस्तो होस् भन्ने नूतनको चाहना मात्र होइन, भावी योजना पनि हो । उनलाई थाहा छ, यो एकैचोटि सम्भव छैन । तर, बिस्तारै चर्चा बटुल्नेमा भने उनी निश्चिन्त छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।