प्रधानन्यायाधीशलाई महाअभियोग लाग्नसक्ने बार अध्यक्षको संकेत

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लाग्नसक्ने संकेत गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण भएको संकेत पाएको बताए । उनले प्रधानन्यायाधीशले चाहेजस्तै गरी संसदमा प्रधानन्यायाधीशको बर्हिगमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने बताए ।

‘न्यायपालिकाको गरिमा कायम राख्नको लागि, न्यायपालिका निष्पक्ष, स्वच्छ, स्वतन्त्र बनाउनको लागि सरकारदेखि लिएर प्रतिपक्षसम्मले विशेष पहल, भूमिका निर्वाह गर्नुपर्दछ भन्ने हामीले आवाज उठाउँदै आएका छौँ । यसतर्फ अहिले दलका नेताज्यूहरूले ध्यान दिनुभएको हो की भन्ने संकेत हामीले पाएका छौँ । चोलेन्द्र शमशेरको आगमन अदालतमा जतिदिन हुन्छ त्यति दिनसम्म नै न्यायपालिकाको आस्था तल जाँदै गर्छ । न्यायपालिकाको आस्था कायम राख्नका लागि, सेवाग्राहीलाई न्याय किनबेच गर्नु नपर्ने सर्वसुलभ, निष्पक्ष न्याय, स्वच्छ न्याय दिलाउनको लागि हामी बार एसोसिएसन वाचडगको रूपमा रहेका छौँ । उहाँले चाहे अनुसारको बर्हिगमन गराउने एउटा अर्को बाटो छ संसद । थलो संसद छ । त्यो संसदको थलोमा अहिले हाउस चलिराखेको हुनाले त्यहाँ छलफल हुने नै छ, छिट्टै छलफल हुन्छ । त्यहाँबाट एउटा निष्कर्ष निस्कन्छ’ उनले भने ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म बार एसोसिएसनले गरेको विरोधको कार्यक्रम जारी रहने पनि बताए ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १५:२४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया