अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी)बारे पछिल्लो समय नेपालमा फेरि बहस सुरु भएको छ । ६ पुसमा सुरु भएको प्रतिनिधिसभा बैठकमा यो विषयले ‘इन्ट्री’ पाउने सम्भावना पनि निकै बढेको थियो ।
तर, सभामुख अग्निप्रसाद सापकोटाले नचाहँदा यो विषय टेबुल नै भएन ।
संसदमा एमसिसीलाई लैजान नसकेपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाए । गठबन्धनको बैठकलगत्तै उनले सर्वदलीय बैठक पनि बोलाए । तर, यो सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी भएन ।
त्यसैले एमसिसीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अहिले सोचमग्न छन्, प्रधानमन्त्री देउवा । देउवाले बुधबार मात्रै पनि यो विषयमा सत्ता साझेदार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । प्रचण्डका अनुसार उनले अहिले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल नेतृत्वमा बनेको कार्यदलले दिने सुझाव पर्खिने बताएका छन् ।
प्रचण्डले पछिल्लो समय दिएको एक अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका राष्ट्रिय सम्मेलनसम्म यस विषयमा अगाडि नबढ्ने पनि बताएका छन् । ११–१३ पुसमा हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सकिएपछि यस विषयमा प्रधानमन्त्री देउवाले आफूसँग सरसल्लाह गर्ने बताएको प्रचण्डले पछिल्लो अन्तर्वार्तामा बताएका हुन् ।
एकातिर प्रचण्डसँग यसको छलफललाई अहिलेलाई थाँती राख्ने बताएका देउवाले यो परियोजना अधिकारीहरुसँग चाहिँ यसअघि नै यसपटकको प्रतिनिधिसभाको सत्रमा एमसिसी पारित गर्ने वचन दिएको बाहिर आइसकेको छ । यस्तो अवस्थामा उनले अबको रणनीति कसरी अगाडि बढाउँदै छन् त ?
‘यसबारे अनेक पहल भएका छन्,’ माओवादी केन्द्रका एक नेताले फरकधारसँग भने, ‘तर, सभामुख यसमा तयार नहुँदासम्म वा हाम्रो पार्टी यसमा तयार नहुँदासम्म यसबारे केही हुँदैन । यो लम्बिँदै मात्र जान्छ ।’
पछिल्लो समय एमसिसीको विषयमा जति बहस भएका छन्, यसले यो विषय आगामि निर्वाचनको चुनावी अजेन्डा हुने निश्चित भइसकेको छ । आम नेपालीमा एमसिसी खराब हो भन्ने तर्क स्थापित भइसक्दा देउवाले यसलाई पनि बुझेकाले उनले संसदबाट यसलाई पारित गर्न हतार नगर्ने अनुमान गरिएको छ ।
‘देउवानिकट नेताहरुले पनि अहिले तत्काल एमसिसीलाई अनुमोदन गर्न हतार गर्न नहुने अडान राखेका छन्,’ देउवानिकट एक नेताले फरकधारलाई बताए, ‘यसले भोलि निर्वाचनमा कांग्रेसलाई असर गर्ने विषयमा सबैजना सचेत छन् ।’
एकातिर माओवादी केन्द्रले एमसिसीबारे अहिलेसम्म नदिएको धारणा र अर्कोतिर चुनावी अजेन्डा बन्ने सम्भावना बढिरहेको यो सन्दर्भमा देउवाले के गर्लान् त ?
‘यसलाई अनुमोदन गर्न देउवाले एमालेको भए पनि सहयोग चाहिँ लिन्छन्, तर यो त्यति सजिलो छैन,’ माओवादी केन्द्रका ती नेताले भने । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सार्वजनिक भएको एक अन्तर्वार्तामा भनेका छन्, ‘हिजो मात्रै मेरो प्रधानमन्त्रीसँग कुरा भयो । बुद्धिजीवी नागरिकहरुको बैठक बस्ने कि भन्ने थियो । प्रधानमन्त्रीले पनि यो विषय बुझ्नु भएको छ र अनावश्यक रुपमा प्रेसर आउँछ भन्ने लाग्दैन ।’
तर, यसअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले एमसिसीबारे अनावश्यक भ्रम फैलिएको बताएका थिए । उनले एमसिसी नेपालको हितमा भएको पनि बताएका थिए ।
बिहीबार नै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीबारे बिथोलिने काम एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन् । बाँकेमा भएको एक पत्रकार सम्मेलनमा उनले एमसिसी संसदमा लैजानु पर्ने विषय नै नभएको तर ओली प्रधानमन्त्री हुँदा उनका अर्थमन्त्रीले यसलाई संसदमा लगेको आरोप लगाएका हुन् ।
एकातिर माओवादी केन्द्र एमसिसीलाई तत्काल संसदबाट अनुमोदन गर्न तयार नहुँदा देउवाले के गरिरहेका छन् त ?
‘एमसिसीका कारण अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना बढिरहेको छ,’ देउवानिकट एक नेता भन्छन्, ‘सत्तामा रहेका कुनै पनि दलले एमसिसीलाई अस्वीकार गरेको खण्डमा र सरकारबाट समर्थन फिर्ता लिएको खण्डमा नयाँ गठबन्धन बन्ने सम्भावना बढेको छ ।’ यसरी सरकारबाट फिर्ता नै हुनसक्ने दलका रुपमा अरु तयार नभए पनि राष्ट्रिय जनमोर्चा नेपालले यसको विरोधमा बोलिरहेको छ । एक जना मात्र सांसद भए पनि देउवाले जनमोर्चाले समर्थन फिर्ता लिएको खण्डमा संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ ।
‘त्यस्तो अवस्थामा नयाँ समीकरण विकास हुनसक्छ, एमाले र कांग्रेस सरकारमा आउन सक्छन्,’ कांग्रेसका ती नेता बताउँछन् ।
कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएको खण्डमा त्यो चुनावी सरकार हुने अनुमान पनि गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै शेरबहादुर देउवालाई गठबन्धन भत्काएको खण्डमा आफूले सरकारलाई साथ दिने बताइसकेका छन् ।
‘त्यसैले अहिलेका दलहरुलाई पनि नचिढाउने तर एमसिसीलाई अगाडि बढाउने योजनामा प्रधानमन्त्री देउवा छन्,’ ती नेताले भने । तर, यस्तो अवस्थामा आएमा देशमा राजनीतिक समीकरण फेरिने मात्र होइन, यसले नयाँ अवस्था सिर्जनासमेत गर्ने माओवादी केन्द्रका ती नेता बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।