के महरा बन्लान् माओवादी केन्द्रका महासचिव ?
प्रचण्डसँग महरा । फाइल तस्वीर ।

नेकपा माओवादी केन्द्रले ११ पुसमा काठमाडौंमा गर्ने राष्ट्रिय सम्मेलनमा आफ्नो नयाँ नेतृत्व चयन गर्ने छ । माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको माओवादीकै शीर्ष नेताहरुले बहस गर्न थालेका छन् । 

प्रचण्ड स्वयंले पनि बिहीबार दिएको एक अन्तर्वार्तामा आफूले नचाहे पनि साथीहरुका कारण आफूले माओवादी केन्द्रको अध्यक्ष बन्नु पर्ने अवस्था रहेको बताएका थिए । 
अध्यक्षमा निर्विकल्प देखिएका प्रचण्डपछि माओवादी केन्द्रमा अर्को पदका लागि भइरहेको खिचातानी चाहिँ महासचिव पदका लागि हो । महासचिव पदका लागि यसपटक माओवादी केन्द्रमा तीन नेताले रुचि देखाएका छन् । तीन नेता हुन्– जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन र कृष्णबहादुर महरा ।

फरकधारमा जनार्दन शर्मा प्रभाकर र वर्षमान पुनबारे को महासचिवका लागि बढी बलियो भन्ने विषयमा अर्को लेखमा हामी चर्चा गर्नेछौँ । अहिले चर्चा गरौँ कृष्णबहादुर महराबारे ।

शर्मा र पुनले पछिल्लो समय प्रचण्डसँग निकटता बढाएका मात्र छैनन्, प्रचण्डका कतिपय अजेन्डामा चर्कोसँग साथ दिँदै आएका छन् । तर, यसपटक यी दुवैबाहेक महरा महासचिव हुने सम्भावना बढेको पनि बताइन्छ । राजनीतिमा कमब्याक गर्न खोजिरहेका महराले यस विषयमा प्रचण्डसँग छलफल गरेको पनि स्रोतको दाबी छ ।

स्रोतहरुका अनुसार पछिल्लो समय नेकपा माओवादी केन्द्र र अन्य कम्युनिस्ट घटकबीच फेरि एकता होस् भन्ने चाहन्छन्, प्रचण्ड । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) र मिलेसम्म बाबुराम भट्टराईलाई पनि नेकपा माओवादी केन्द्रमा नै ल्याउने प्रयासमा छन्, प्रचण्ड ।

यसका लागि अहिले महराले विशेष भूमिका खेलेको बताइएको छ । त्यसैले महरा माओवादी केन्द्रका महासचिव हुने सम्भावना बढेको माओवादी केन्द्रका नेताहरु नै बताउँछन् ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार २०:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया