काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारीसाधनको पार्किङ नयाँ ‘पार्किङ भवन’मा सारेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनअगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रकोे चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ ।
निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङको नयाँ व्यवस्था गरेको हो । टर्मिनलअघि अव्यवस्थित पार्किङले अस्तव्यस्त भएको र बढ्दो सवारी चापले यात्रुलाई असहज भएकाले पार्किङ तलको क्षेत्रमा सारिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए ।
“टर्मिनलअघि सवारीको अस्तव्यस्ता देखिएको र यात्रुलाई असुविधाका साथै भिडभाडमा अवाञ्छित गतिविधि पनि हुन सक्ने भएकाले हामीले पार्किङ भवनमा सवारी पार्क गर्ने व्यवस्था गरेका हौं,’ उनले भने ।
‘नजिकिएको एसिया प्यासिफिक सम्मेलनलाई समेत मध्यनजर गर्दै सरोकार भएका निकायसँग छलफल गरेर पार्किङको नयाँ व्यवस्था गरिएको प्रवक्ता तिवारीको भनाइ छ ।’ यो व्यवस्थापछि सवारीसाधनले अब विमानस्थलको गोल्डेन गेटबाट प्रवेश गरेर बाहिरिँदा पार्किङ भवनको नयाँ गेट प्रयोग गर्नुपर्नेछ ।
यही मंसिर ९ गतेदखि विमानस्थलको माथिल्लो भागको पार्किङ ‘पार्किङ भवन’मा सारेको हो । माथिल्लो भागमा हरियो नम्बर प्लेट भएका १० वटा र कालो नम्बर प्लेट भएका १० वटा मात्रै ट्याक्सी हुन्छन् । बाँकी सम्पूर्ण ट्याक्सी भवनमा पार्किङ गरिनेछ । विशिष्ट र अतिविशिष्ट पाहुनाको पार्किङ भने पहिलाकै स्थानमा हुनेछ ।
एउटा ट्याक्सीले यात्रुलाई लिएर जान्छ । त्यसपछि मात्रै पार्किङ गरिएको ठाउँबाट अर्को ट्याक्सीमाथि उक्लिन्छ । निजी सवारी साधनले पनि भवनमा पार्किङ गरेर आफ्ना पाहुनालाई कुर्नुपर्नेछ । यात्रुको सहजताका लागि पार्किङको समस्या भएका अन्य स्थलको पनि आन्तरिक व्यवस्थापनका लागि परेको विमानस्थलले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायुसेवाप्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।