कांग्रेस नवनिर्वाचित पहिलो केन्द्रीय समिति बैठक बहिस्कार गरेर किन देवघाट पुगे शेखर ?

नेपाली कांग्रेसको सभापतिमा पराजित शेखर कोइराला आजको केन्द्रीय कार्यसमिति बैठकमा देखिएनन् । कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज सानेपास्थित पार्टीको मुख्यालयमा बसेको थियो ।

बैठकअघि केन्द्रीय निर्वाचन समितिले निर्वाचित सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र दिएको थियो । समितिले १३४ जनालाई प्रमाणपत्र दिँदा त्यहाँ शेखर भने उपस्थित थिएनन् । कांग्रेसको विधानतः शेखर स्वतः केन्द्रीय सदस्य हुन्छन् । सभापति देउवाले मनोनीत गरिरहनु पर्दैन ।

यद्यपि, उनी पार्टी कार्यालय सानेपा नपुगी चितवन पुगे । उनी सानेपाको कार्यक्रमलाई बेवास्ता गर्दै चितवनको देवघाटमा कोइराला सेवा समाजको कार्यक्रममा सरिक भएका हुन् । उनले त्यहाँ सम्बोधनसमेत गरेका थिए ।

उनले किन गए त देवघाट ? किन सानेपाको बैठकभन्दा उनलाई कोइराला सेवा समाजको कार्यक्रम महत्त्वपूर्ण लाग्यो ? शेखरनिकट नेताको भनाइमा सभापति देउवाले तोकेको वरीयतामा उनी असन्तुष्ट छन् । ती नेताका अनुसार वरीयता निर्धारणमा असन्तुष्ट रहेका शेखर सानेपाको कार्यक्रम बहिस्कार गरेर देवघाट पुगेका हुन् ।

सभापतिमा देउवासँग लडेका शेखरको वरीयता २० नम्बरमा तोकिएको छ । सभापति देउवाले तोकेको वरीयताअनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर राखिएका हुन् ।

नयाँ वरीयतामा पार्टी सभापति देउवापछि उपसभापति, महामन्त्री र सहमहामन्त्री छन् । त्यसपछि पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शशांक कोइरालालगायतका नेता छन् ।



यद्यपि, यसअघिका अधिवेशनमा सभापतिसँग लडेर हारेका नेताको वरीयता दोस्रो नम्बरमा हुने गर्थ्यो । १३ औँ महाधिवेशनमा देउवासँग सभापतिमा हारेका रामचन्द्र वरिष्ठ नेता भएका थिए । उनको वरीयता दोस्रो नम्बरमा थियो ।

त्यसअघि १२ औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित हुँदा पनि देउवाको वरीयता दोस्रो नम्बरमा राखिएको थियो ।



अहिले देउवासँग सभापतिमा हारेका शेखरलाई भने २० औँ वरीयतामा राखिएको छ । यसअघि १३ औं महाधिवेशनपछि उनका वरीयता ३५ औं नम्बरमा थियो ।

कांग्रेसमा वरीयताका विषयमा सानातिना मतभेद हुने गरे तापनि शेखरले बैठक नै बहिस्कार गरेसँगै वरीयता विवाद सतहमा आएको हो । यद्यपि उनले खुलेर यस विषयमा बोलेका छैनन् ।

शेखरनिकट नेताहरूले उनलाई तेस्रो वरीयता दिनुपर्ने धारणा राखेका छन् । उनीहरूले सभापति देउवा र पौडेल पछिको वरीयतामा शेखरलाई दिनुपर्ने माग राखेको हुन् । वरीयता निर्धारणमा असन्तुष्ट रहेका शेखरले भने आफूनिकट नेताहरूसँग देउवाविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन् । उनले नेताहरूलाई देउवाविरुद्ध खुलेर लाग्न समेत आग्रह गरेको उनीनिकट नेताहरूको भनाइ छ ।

यता देवघाटको कार्यक्रमलाई सम्बोधन गरेका शेखर भाइ शशांक र बहिनी सुजाता कोइरालासँग पनि असन्तुष्ट देखिए । 

उनले भनेका छन्, ‘एउटा कुरा त मैले के सिकेँ भने परिवारका अग्रजहरूले परिवार एक ठाउँमा उभिन्छ भने त्यो परिवारले चाहिँ भोलि राष्ट्रका निम्ति केही न केही गर्न सक्छ भन्ने उहाँहरूको भनाइ सत्यजस्तै लाग्यो मलाई ।’

कांग्रेसको १४ औँ महाधिवेशनमा उनलाई शशांक र सुजाताले असहयोग गरेका थिए । भाइ-बहिनीको असहयोगका कारणले पनि आफू सभापतिमा हारेको उनको तर्क छ ।

यता कांग्रेस कार्यसमितिको पहिलो बैठकले चारवटा निर्णय गरेको छ । बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्नेलाई धन्यवाद दिने, राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसका उम्मेदवारका लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने, दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको हो ।

  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार २०:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया