ज्येष्ठ नागरिकको अनुभवलाई नयाँ पिँढीमा हस्तान्तरण गर्न जरुरी : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरूप्रति सम्मान गर्नुपर्ने बताएका छन् ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले जीवनको उत्तरार्द्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु सबैको कर्तव्य भएको बताएका छन् । 

‘ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा उनीहरूका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्नु अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभई परिवार र समाज सबैको हो,’ उनले भनेका छन् ।

उनले उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘सभ्य नागरिकको पहिचान : ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।

‘दिनप्रतिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन गरी उनीहरूको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको हो’, सन्देशमा उनले भनेका छन्, ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाउँमा सदुपयोग गर्दै त्यसलाई नयाँ पिँढीमा हस्तान्तरण एवं पुस्तान्तरण गर्नु जरुरी छ ।’

प्रधानमन्त्री देउवाले परापूर्वकालदेखि चल्दै आएको ‘मातृदेवो भवः पितृदेवो भवः’ भन्ने हाम्रो संस्कारअनुसार आफूभन्दा ठूलालाई देवता समान सम्मान र आदर गर्ने व्यवहारलाई अक्षुण राख्नु हामी सबैको कर्तव्य भएको बताउँदै ज्येष्ठ नागरिक दिवसको अवसरमा समस्त ज्येष्ठ नागरिकमा शुभकामना व्यक्त गरेका छन् ।



सरकारले हरेक वर्षको ११ पुसलाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।  



  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार ७:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया