खप्तडमा निर्माणाधीन मन्दिरको आधा काम सकियो

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जको घोडादाउन पाटनमा नमूना मन्दिर निर्माणको काम जारी छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले खप्तड प्रवेश गर्ने पहिलो पाटन (घासे मैदान) मा भवानी माईको प्यागोडा शैलीको नमूना मन्दिर निर्माण कार्य गरिरहेको हो ।

घोडादाउन पाटनमा रहेको भवानी माईको ढुंगालाई बझाङको खप्तड छान्ना गाउँपालिकाका स्थानीयले बर्सौंदेखि ढुंगालाई पूजाअर्चना गर्दै आएका छन् । मन्दिर नहुँदा स्थानीयले ढुंगाको मूर्तिलाई भगवान् सम्झिदै रोग, भोग र शोकबाट मुक्ति मिलोस् र गाई भैँसीको सुरक्षा भवानीमाईले गरुन् भन्दै पूजाअर्चना गरिरहेका छन् । तर, अब भने पूजाअर्चनाका लागि गाउँपालिकाले मन्दिर निर्माण गर्न लागेको हो । 
 
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न हाल ढुंगाको मूर्ति भएकै स्थानमा प्यागोडा शैलीको नमूना मन्दिर निर्माण भइरहेको खप्तडछान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए । 

‘यो सुदूरपश्चिम प्रदेशको मात्र नभई देशकै पर्यटकीय क्षेत्र भएकाले गाउँपालिकाले सानो लगानीमा मन्दिर निर्माण गर्न लागेका छौँ । १७ फिट उचाई रहेको प्यागोडा शैलीको मन्दिरको चौडाइ आठ फिट रहने छ । सम्भव भएसम्म मन्दिरको बाहिरपट्टि स्थानीय कला, संस्कृति झल्कने काठहरूमा कलात्मक आकृतिसमेत राख्ने योजनामा छौँ,’ उनले भने, ‘बर्सेनि सरकारबाट खप्तडको विकासका लागि करोडौं बजेट आउने र रकमसमेत हिनामिना गरी गुणस्तरीय काम हुन नसकेकाले दिन प्रतिदिन खप्तडको बदनामसमेत हुँदै गएकाले गाउँपालिकाले मन्दिर निर्माण गर्न लागेको हो ।’

निर्माणाधीन मन्दिर, शौचालय तथा खानेपानी र प्रतीक्षालयसमेत निर्माण हुँदैछन् । यी सबै संरचना निर्माणका लागि गाउँपालिकाले १३ लाख बजेट विनियोजन गरेका छ । साथै, मन्दिर निर्माणमा केही स्थानीयले श्रमदान पनि गरेका छन् । रकम अपुग भएको खण्डमा गाउँपालिकाले थप व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष रोकायाले बताए । 

हालसम्म मन्दिर निर्माणको कार्य ५० प्रतिशत सकिसकेको निर्माण समितिका अध्यक्ष गजेन्द्रबहादुर रावलले बताए । ‘खप्तड क्षेत्र आफूहरूको वनसमेत भएकाले यस क्षेत्रको विकासका लागि सबैभन्दा जिम्मेवार भएर काम गरिरहेका छौँ । मन्दिर निर्माणपछि पर्यटकहरूको आगमनमा समेत वृद्धि हुने विश्वास छ,’ उनले भने, ‘करोडौं लगानीमा बनेको मन्दिर तथा भौतिक संरचना र हामीले थोरै लगानीमा बनाएको मन्दिरलाई तुलना गर्ने हो धेरै फरक छ । यसअघि त यहाँ भौतिक संरचना निर्माणका नाममा लुटतन्त्र मात्र भएको रहेछ ।’



पुराण तथा महाभारतमा समेत खेचराद्री पर्वतको रूपमा वर्णन गरिएको खप्तड क्षेत्र धार्मिक हिसाबले समेत हिन्दूहरूको प्रमुख तीर्थ स्थलसमेत हो । धार्मिक रूपमा यसको पर्याप्त प्रचारप्रसार हुन नसकेको भएपनि पाण्डव र कौरवहरूको लडाइँमा पाँच पाण्डवले १४ वर्ष बनवास बस्दा केही समय खप्तडमा समेत बिताएको किम्बदन्ती छ । खप्तड क्षेत्रमा विवाह, व्रतबन्ध, नवाह, सप्‍ताह तथा सत्य नारायणको पूजाआजा, रुद्री पाठ गर्नाले आफूले सोचेअनुसारको प्रतिफल मिल्ने गरेको धार्मिक विश्वास छ । 



  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १०:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया