प्रचण्डलाई मख्ख पार्ने देउवाको भाषण : संविधानसभाको श्रेयदेखि गठबन्धन टिकाउनेसम्मका कुरा !

प्रधानमन्त्रीका रुपमा पाँचौँ कार्यकालको रनिङमा छन्, कांग्रेस सभापति शेरबहादुर देउवा । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनेक खेल खेले । अन्ततः उनको खेल सफल पनि भयो ।  

पार्टी एकता गरेर बहुमतसहितको सरकार चलाइरहेका केपी शर्मा ओली आफूखुसी चल्न थालेपछि रुष्ट बनेका प्रचण्डले माधव नेपालसहितको साथ लिएर ओलीलाई सत्ताबाट बहिर्गमन गराइछाडे । गत निर्वाचनमा संसद्को तेस्रो शक्ति बनेको कांग्रेसलाई सरकारको मुख्य घटक बनाउन प्रचण्डको महत्वपूर्ण हात रह्यो । 

आफू प्रधानमन्त्री भएको पाँच महिना पुगिसक्दा पनि देउवाले प्रचण्डलाई धन्यवाद दिन उपयुक्त मञ्च पाइरहेका थिएनन् । आइतबार काठमाडौंको कमलादीमा  माओवादीले आयोजना गरेको महाधिवेशनको उद्घाटन सत्र देउवाका लागि प्रचण्डप्रति आभार व्यक्त गर्ने उपयुक्त मञ्च बन्यो । माओवादीको महाधिवेशनलाई शुभकामना दिन अतिथिका रुपमा पुगेका देउवाले मञ्चको राम्रै सदुपयोग गरे । आफ्नो शुभकामना मन्तव्यमा प्रचण्डलाई केन्द्रमा राखेर भाषण गरेका देउवाले प्रचण्डलाई धन्यवाद मात्र दिएनन्, प्रचण्ड माओवादीको ‘सर्वेसर्वा’ नै भएको भन्न भ्याए । देउवाले घुमाउरो पारामा एमसिसी पास गर्न प्रचण्डको साथ पनि मागे । त्यसो त देउवाले आफूहरुको गठबन्धन कसैको विरुद्धमा नरहेको पनि भन्न भ्याए । एमसिसी पास गर्ने कुरामा लचक देखिएका एमाले अध्यक्षलाई पनि देउवाले सम्झिए । भने, ‘ओलीजीहरुलाई, अरु पार्टीलाई नलागोस् कि हाम्रो खिलाफमा गठबन्धन बनाए भनेर ।’  
  
ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको खुलासा गरेका देउवाका लागि प्रचण्डले योसहित दुईपटक प्रचण्डले भूमिका खेले । देउवा यसअघिको कार्यकालमा पनि प्रचण्डकै सहयोगमा प्रधानमन्त्री बनेका थिए । प्रचण्डले लगाएको त्यो गुनप्रति आभारी हुँदै देउवाले माओवादीकै मञ्चबाट प्रशंसा गरे । देउवाले प्रचण्डकै कारण सबै परिवर्तन भएको मात्र भनेनन् माओवादीको अध्यक्षमा पुनः प्रचण्ड नै आउनुपर्नेसम्म बताए । माओवादीमा तत्काल नेतृत्व परिवर्तन हुने परिस्थिति नभए पनि फर पार्टीका नेताले मुक्तकण्ठले गरेको प्रशंसाले प्रचण्डलाई अझ बलियो बनायो ।  

‘प्रचण्डकै बलले संविधानसभा निर्वाचन भएको हो’ 

हुन त माओवादी केन्द्रको महाधिवेशनमा अरु पार्टीको चर्चा हुने कुरा पनि भएन । तर, देशको प्रधानमन्त्री र कांग्रेस सभापतिको हैसियतमा शुभकामना दिन पुगेका देउवा अधिकांश् समय प्रचण्डमै केन्द्रित देखिए । 

संविधासभाको चुनाव गराउनेदेखि संविधान बनाउनेसम्ममा प्रचण्डकै महत्वपूर्ण हात रहेको उनले बताए । प्रचण्डको योगदानको कदर आफूहरुले गर्नुपर्ने देउवाको भनाइ थियो । 



‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान दिनुभएको छ । संविधानसभाको चुनाव गराउनमा यो सत्य कुरा हो कि उहाँको बलले संविधानसभामा हामीहरु गएका हौँ,’ सुरुमै उनले भने ।  

प्रचण्डलाई नै अध्यक्ष बनाउन आग्रह 



हुन त प्रचण्ड माओवादी केन्द्रको अब पनि निर्विकल्प अध्यक्ष हुन् । सरकार बनाउन मात्र नभई गठबन्धन टिकाइराख्न समेत जोड गरिरहेका प्रचण्ड नै माओवादीके अध्यक्ष बनून् भन्ने देउवाको पनि चाहना छ । उनले सम्बोधनको अन्तिमतिर माओवादीको अबको नेता पनि प्रचण्ड नै देखेको उल्लेख गरे । 

उनले त्यसो भनिरहँदा प्रचण्ड मुसुमुसु हाँसिरहेका थिए । 

माओवादीमा प्रचण्डपछिको उत्तराधिकारी को बन्छ भनेर सतहमा देखिएको छैन । ३ दशकदेखि नेतृत्वमा रहँदै आएका प्रचण्डको बाहिर जति आलोचना भए पनि पार्टीभित्र त्यो अवस्था छैन । यसअघि नेतृत्वमा दाबी गर्दै आएका दिग्गज नेताहरु माओवादीबाट अलग भइसकेका कारण पनि प्रचण्डलाई चुनौती दिन सक्ने नेता माओवादीम बाँकी छैनन् । 

सोही तथ्यलाई उजागर गर्दै देउवाले भने, ‘मलाई विश्वास छ, हुन त मैले तपाईंहरु कसलाई नेता बनाउनुहुन्छ मैले भन्ने कुरा आएन । मैले हेर्दाखेरि त अहिले पनि प्रचण्डजी नै होलाजस्तो लाग्छ ।’ 

यस्तो छ, प्रचण्डलाई खुसी पार्ने देउवाको भाषणको पूर्णपाठ

अहिले महाधिवेशन भएको छ, अत्यन्त महत्वपूर्ण समयमा भएको छ । 

पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान दिनुभएको छ । संविधान सभाको चुनाव गराउनमा यो सत्य कुरा हो कि उहाँको बलले संविधानसभामा हामीहरु गएका हौँ । (तालीको गड्गडाहट)

यसमानेमा संविधानसभाबाट संविधान बनाउने कुरा, ००७ सालमा कांग्रेस पार्टीको कुरा पुष्पकमल दाहालजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर आजसंविधान सभाबाट संविधान बनेको छ । समावेशी, समानुपातिक आधारमा छ । संघीयता छ, गणतन्त्र छ । यसैकारणले गणतान्त्रिक समावेशितासहितको समावेशी संविधान जो नेपालमा आएको छ, यो अत्यन्तै महत्वपूर्ण बनेको छ । यसमानेमा संविधान बनाउने काममा पुष्पकमल दाहालजीको सबैभन्दा महत्वपूर्ण योगदान छ भन्ने कुरा हामी सबैले मान्नुपर्छ । 

र, अहिलेको बेलामा हाम्रो गठबन्धन बनेको छ । यो कुनै कसैको विरोधमा होइन । तर, के छ भने, यो अहिलेको संविधान बीचमा भंग भयो । मन पर्यो भंग भयो । यो भंग नहोस् । बीचमा संसद भंग नभएर पूरा चलोस् भन्ने उद्देश्यका साथ संविधान बनाएकोजस्तो लाग्छ । म पनि संविधानसभामा संलग्न थिएँ । संविधान बनाउने काममा मेरो केही न केही भए पनि योगदान छ । यसमानेमा यो संविधानको आधारमा हामीले फेरि अदालतमा गएर बनाएको पाँचदलीय गठबन्धन छ । यो खराब गठबन्धन होइन । यो संविधान साथसाथै संसद् बचाउने गठबन्धन हो । यो पूरा समयसम्म चल्नेछ । यसमा कसैले शंका नगरे हुन्छ । म त अगाडि पनि गठबन्धन जाओस् भन्ने चाहन्छु । यसमा सबै सहमति चाहिन्छ । यो कसैको खिलाफमा होइन । उता, ओलीजीहरुलाई अरु पार्टीलाई नलागोस् कि हाम्रो खिलाफमा गठबन्धन बनाए भनेर । तर, आफूले त मिल्न पाइन्छ नि ! यसको लागि कुरा हो । अरु कुराहरु तपाईंहरुका एजेण्डाहरु होलान् । छलफल व्यापक हुनेछ भन्ने विश्वास मलाई छ । मैले अघि नै भनिसकेँ, प्रचण्डजीको धेरै योगदान छ, यो संविधान बनाउन । शान्ति प्रक्रियामा पनि । शान्ति प्रक्रियाका केही कुराहरु बाँकी छन् । मलाई विश्वास छ, हामी शान्ति प्रक्रियालाई पूरा गराएर छिटै समाधान गराएर स्थायी शान्तिमा जानेछौँ । 

मलाई लामो कुरा भाषण गर्नु छैन, यहाँ बोल्नैपर्ने भयो, यहाँ एमसिसी राष्ट्रघाती भनियो । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसिसी राष्टघाती भनिदिए । राष्ट्रघाती भन्नेले पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्न पर्यो, कहाँ छ राष्ट्रघाती ? म पनि नेपालको प्रधानमन्त्री हुँ, नेपालको खिलाफमा जाउँला मैले ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ । किन राष्ट्रघाती काम गरुँला ? किन राष्ट्रघाती सन्ीि गरुँला ? त्यसकारण हामीले स्पष्ट रुपमा के छ भने, यस सन्दर्भमा पढ्नुस्, छलफल गर्नुस् । हाम्रोबीचमा पनि छलफल हुँदै छ । प्रचण्डजीहरु हुनुहुन्छ, अरु नेतासँग छलफल गरिरहेका छौँ । यो एमसिसी एकदम नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो हेर्नुस् । सित्तैमा आएको पैसा चाहिन्न भन्छ । वर्ल्ड बैंक, एडिबीले पठाएको ऋण लिन्छौँ, अन्तर्राष्ट्रिय कानुन कायम हुन्छ । एमसिसी आएको छ, नेपालको कानुन मान्छौँ भनेको छ तैपनि मान्न दिन्न। राम्रोसँग बुझ्न पर्यो क्या । मलाई विश्वास छ, यसमा सहमति भएर आउँदोमा पास गराउनेछौँ । 

यहाँ लामो भाषण भयो । लामो–लामो बोल्ने वक्ताहरु छन् । सबैभन्दा छोटो बोल्ने मै हुँ, मै पनि आज लामो बोलेँ । अन्त्यमा, महाधिवेशन सफलताको हार्दिक कामना गर्दै अत्यन्त सौहार्दपूर्ण तरिकाले सफल हुनेछ । मलाई विश्वास छ, हुन त मैले तपाईंको कोलाई नेता बनाउनुहुन्छ मैले भन्ने कुरा आएन् । मैले हेर्दाखेरि त अहिले त प्रचण्डजी नै होला जस्तो लाग्छ, मलाई । यसैकारण उहाँलाई पनि हार्दिक शुभकामना भन्दै बिदा हुन्छु । धन्यवाद । जयनेपाल ! 


  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार २२:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया