गोलको वर्षा भएको खेलमा लेस्टरमाथि म्यानचेस्टर सिटीको शानदार जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि ६–३ को शानदार जित हात पारेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई सहज जित दिलाउन रहिम स्टर्लिङले दुई तथा केभिन डि ब्रुएन, रियाद महारेज, इल्के गुन्डोगन र एमेरिक लापोर्टेले समान एक गोल गरे । 

लेस्टरका जेम्स म्याडिसन, एडेमोला लोकमन र केलिची इहानाचोले एकएक गोल फर्काए । खेलको पाँचौं मिनेटमा डि ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । 

१४ औं मिनेटमा महारेजले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । युरी टिलेमन्सले एमेरिक लापोर्टेलाई फउल गरेपछि पाएको पेनाल्टीमा महारेज चुकेनन् ।

२१ औं मिनेटमा गुन्डोगनले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए । २५ औं मिनेटमा स्टर्लिङले पेनाल्टीमा गोल गर्दा सिटीले ४-० को आरामदायी अग्रता लियो ।

यसपटक पनि टिलेमन्सले नै  स्टर्लिङलाई फउल गर्दा सिटीले पेनाल्टीको अवसर पाएको थियो । दोस्रो हाफमा लगातार तीन गोल गर्दै लेस्टरले खेलमा फर्कने संकेत देखाएको  थियो ।



उसका लागि ५५ औं मिनेटमा म्याडिसन ५९ औं मिनेटमा एडेमोला र ६५ औं मिनेटमा केलिचीले गोल गर्दै खेललाई ४-३ को अवस्थामा ल्याए । ६९ औं मिनेटमा एमेरिक लापोर्टेले गोल गर्दै सिटीलाई ५-३ ले अघि बढाउँदा लेस्टरको खेलमा फर्कने सम्भावना कमजोर बनेको थियो ।

८७ औं मिनेटमा स्टर्लिङले  व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै सिटीलाई शानदार जित दिलाए । यो जितसँगै शीर्षस्थानमा कामय रहेको सिटीले १९ खेलबाट ४७ अंक जोड्दा पराजित लेस्टर २२ अंकका साथ १० औं स्थानमा छ । 




  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ७:३०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया