निर्मला कुर्मी बेपत्ता प्रकरण : मुद्दा लड्न मानेनन् वकिल, आरोपितले दिए ज्यान मार्ने धम्की

बाँकेको नेपालगञ्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि माइतीघर मण्डलामा धर्ना जारी छ । अधिकारकर्मी तथा स्थानीय गरी १६ जनाले गत ९ मंसिरबाट सुरु भएको धर्ना कायमै राखेका हुन् । निर्मला र नन्कुन्नीले न्याय नपाएसम्म आफूहरू घर नफर्किने उनीहरूको अडान छ । 

काठमाडौंमा धर्ना दिइरहँदा उता नेपालगञ्जमा आन्दोलन गरिरहेका व्यक्तिका आफन्तलाई पटकपटक धम्की आइरहेको छ । आफूहरू ३२ दिनदेखि काठमाडौंमा धर्नामा बसिरहँदा आरोपित भने नेपालगञ्जमा खुलेआम धम्की दिँदै हिँडिरहेका उनीहरूको आरोप छ ।

मुद्दा फिर्ता लिनुपर्ने भन्दै मुख्यसहित अन्य र आरोपितहरूले घरमै पुगेर धम्की दिन थालेका आन्दोलनको अगुवाइ गरिरहेकी अधिकारकर्मी रूबी खानले बताइन् ।  निर्मलाको न्यायका लागि भन्दै महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालले उजुरी दिएकी थिइन् ।

आरोपितहरूले महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका आफन्तलाई पनि धम्की दिएका छन् । गुरुतालले निर्मलाको न्यायको लागि भन्दै उजुरी दिएकी थिइन् । उनले आरोपितहरूले आफूलाई स्कुल गएका छोराछोरी बेलुका सकुशल फर्किन नसक्नेसम्म चेतावनी दिएका बताइन् । 

काठमाडौंमा आएर आन्दोलन गरिरहेका पीडित परिवार सदस्य तथा आफन्तहरूले  पिडकबाट जति धम्की आए पनि आफूहरूको आन्दोलन नरोकिने बताएका छन् । ‘तिम्रो छोरा, तिम्रो श्रीमान् सबैलाई झुटो मुद्दामा फसाइदिन्छौँ, अंगभंग पारिदिन्छौँ । मान्छे बेपत्ता पारिदिन्छौँ, बिहान घरबाट निस्किएपछि साँझ घरमा जीवितै फर्किने भनेर नसोचे पनि हुन्छ भन्दै धम्की दिइरहेका छन्,’ रुबीले भनिन् । 



त्यस्तै, आरोपित पक्षले आन्दोलनकारीका घरघरमा पुगेर धम्क्याउने मात्र नभएर प्रलोभन पनि देखाउने गरेको छ । साथै, परिवारका सदस्यलाई त्रास देखाएर धर्ना बसेकालाई घर फिर्ता बोलाउन पनि आरोपितहरूले चेतावनी दिइरहेका छन् । ‘उस्तै पनि मुस्लिम समुदायका महिलाहरूलाई घरबाट बाहिर निस्किन गाह्रो हुन्छ, त्यसमा झन् भड्काउने काम आरोपितहरूले गरिरहेका छन्,’ आन्दोलनरत मनकुमारीले भनिन् ।

उनले आफूहरू जतिसुकै ठूलो समस्या आए पनि सामना गर्न तयार भएको तर न्याय नपाउँदासम्म घर नफर्किने पनि बताइन् । ‘पहिलो चरणमा राज्यले हामीलाई ठग्यो, अब दोस्रोपटक आइसकेपछि न्याय नलिएसम्म घर फर्किदैनौं,’ मनकुमारीले भनिन्, ‘यो एउटा निर्मला र नन्कुन्नीको मात्र घटना होइन, समाजका हजारौं निर्मला र नन्कुनीको न्यायको लडाई हो ।’ 



केही समय मुख्य आरोपितबाहेक अन्य प्रहरी हिरासतमा थिए । अहिले उनीहरू पनि हाजिरी जमानीमा रिहा भइसकेका छन् । पहिले मुख्य आरोपित बादशाह कुर्मीको तर्फबाट मात्र धम्की आउने गरेपनि अहिले भने हिरासतबाट रिहा भएका अन्यले धम्की दिने गरेका रूबीले बताइन् । 

आरोपितले पटकपटक धम्की दिन थालेपछि आन्दोलनरत पक्षले जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालय बाँके, राष्ट्रिय मानवअधिकार आयोगलगायतमा उजुरी दिएका छन् । जिल्ला प्रशासनबाट प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले धम्की दिनेहरूलाई बोलाएर सम्झाइबुझाइ गर्ने आश्वासन दिएका थिए । तर, अहिलेसम्म प्रशासनले आफूहरूलाई नबोलाएको पीडित पक्षको गुनासो छ । 

बाँके प्रहरीले भने धम्की आएको विषयमा उजुरी नपरेको बताएको छ । उजुरी परेको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याकृष्ण अधिकारीले बताए । उक्त घटनाको अदालतबाट नै अन्तिम टुंगो लागिसकेको र थप प्रमाण फेला परेको खण्डमा आवश्यक अनुसन्धान अघि बढाइने उनको भनाइ छ । 

नेपालगञ्जमा वकिल पाउनै मुस्किल

निर्मला र नन्कुनी धोबीको न्यायका लागि मुद्दा लड्न नेपालगञ्जका कानुन व्यवसायीले अस्वीकार गर्दै आएका छन् । आर्थिक प्रलोभन र आरोपित पक्षको धम्कीका कारण  नेपालगञ्जका वकिलले मुद्दा लड्न आनाकानी गरिरहेका रुबीको आरोप छ ।  

‘कसैलाई डर धम्की आएको छ, कोहीलाई मोटो रकम मिल्यो होला । कोही पावरवालाकै पक्षमा छन्, अनि हाम्रो तर्फबाट कसरी मुद्दा लडिदिन्थे त?,’ उनले प्रश्न गरिन् ।  

नेपालगञ्जका दुई अधिवक्ता सुनिल श्रेष्ठ र विश्वजित तिवारीले भने सहयोग गर्दै आएका रुबिले बताइन् । नेपालगञ्जका कानुन व्यवसायी पीडितको पक्षबाट बहस गर्न तयार नभएपछि नेपाल बार एसोसिएसनलाई पत्र पठाएको उनको भनाइ छ । 

‘पीडितको पक्षबाट बहस गरिदिने र मुद्दा लडिदिने वकिल उपलब्ध गराईपाउँ भनेर नेपाल बार एसोसिएसनका अध्यक्षलाई नै पत्र पठाएका छौं । उहाँले पीडितको पक्षबाट मुद्दा लड्ने प्रतिबद्धता जनाउनुभएको छ,’ रुबीले भनिन् । 

अहिले यो मुद्दालाई मानवअधिकारकर्मी तथा अधिवक्ता मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्यालले हेरिरहेका छन् । यसमा अन्य अधिवक्ताहरूको पनि सहयोग लिने काम भइरहेको छ । 

पछिल्लो केही दिनयता अधिवक्ताहरूलाई उक्त घटनाबारे विस्तृतमा जानकारी गराउने काम भइरहेको रुबीले बताइन् । 

यो पनि पढ्नुहोस् 

निर्मला कुर्मी प्रकरण : धर्ना बसेकाहरू छेउ भएर कुद्छन् मन्त्री, न्याय माग्दा सुन्दैन सिंहदरबार

निर्मला कुर्मी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप

निर्मला कुर्मी बेपत्ता प्रकरण : मुख्य अभियुक्तलाई पक्रन माग गर्दै प्रशासन अगाडि धर्ना

  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १०:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया