भारत मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको चेतावनीपछि म्युजिक कम्पनी सारेगामाले अभिनेत्री सनी लियोनले अभिनय गरेको म्युजिक भिडियो ‘मधुवन’ परिवर्तन गर्ने घोषणा गरेको छ ।
भिडियोमा आएको प्रतिक्रिया र देशका नागरिकको सम्मान गर्दै मधुवन गीतको नाम र शब्द परिवर्तन गर्ने सारेगामाले प्रतिबद्धता जनाएको हो । उसले तीन दिनभित्र सबै प्लेटफर्ममा रहेको पुरानो गीत हटाएर नयाँ गीत राख्ने बताएको छ ।
हालै गृहमन्त्री मिश्राले अभिनेत्री सनी र गीतका गायकलाई चेतावनी दिँदै भिडियोका लागि माफी माग्न र तीन दिन भित्र भिडियो नहटाए कारवाही भोग्न तयार रहन भनेका थिए । यसअघि मिश्राको चेतावनीपछि डिजाइनर सब्यसाची मुखर्जीले आफ्नो मंगलसूत्रको विज्ञापन फिर्ता लिएका थिए ।
यो गीतमा सन् १९६० को फिल्म ‘कोहिनूर’मा मोहम्मद रफीले गाएको गीतको केही शब्द पनि थियो । यो गीतमा मथुराका पुजारीहरूले पनि आपत्ति जनाएका थिए ।
अखिल भारतीय तीर्थ पुरोहित महासभाका राष्ट्रिय अध्यक्ष महेश पाठकले सनीको गीतका कारण बृजभूमिको प्रतिष्ठालाई अपमानजनक ढंगले धमिलो बनाएको आरोप लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।