कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आयातमा मात्र नभई निर्यातमा पनि जोड दिन आग्रह गरेका छन् । युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले कर्णालीमा आयात मात्र हुने गरेकोमा अब निर्यातमा जोड दिन आग्रह गरेका हुन् ।
कर्णालीमा रहेका करोडौँ रुपैयाँका बहुमूल्य वस्तु (जडिबुटी) लाई यही प्रशोधन गरेर निर्यात गर्न सकिए सबै लाभान्वित हुने उनले बताए । ‘हामीसँग बहुमूल्य जडिबुटी छन् । त्यसलाई संकलन गरेर भारततर्फ निर्यात मात्र गरेको छौं,’ उनले भने, ‘त्यसलाई यही प्रशोधन गरेर निर्यात गरेको भए आफैँ बढी फाइदा लिन सक्थ्यौँ ।’
कर्णाली विकासका लागि ६ वटा ‘ब’ लागु गर्न सके यहाँको विकासको ढोका खुल्ने मुख्यमन्त्री शाहीले बताए । ‘बाटो, बिजुली, बजार, विचार, वन र व्यवस्थापन अति आवश्यक हो ।’ उनले भने, ‘विकट प्रदेशमा कनेक्टिभिटी राम्रो भए स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सृजना हुनसक्थे ।’
यस्तै, कर्णालीको आर्थिक विकासका लागि औद्योगीकरण आवश्यक रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । 'हामीले कर्णालीको विकासका लागि उद्योग नै सञ्चालन गर्न सकेका छैनौं,’ उनले भने, ‘उद्योगधन्दामा लगानी भित्र्याउन आवश्यक रहेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।