भिजिट भिसामा विकृति र विसंगति बढिरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । आइतवार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सो विषय उठान गरेका हुन् ।
भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरुले दुःख पाउने गरेको भन्दै सांसदहरुले भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा बोल्दै सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरुले कानूनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको बताए । विदेश जान सहज नहुँदा भिजिट भिसामा विदेश जानेहरु बढेको भन्दै उनले विदेश जान नै सहज बनाउनुपर्ने बताए ।
विदेश जान सहज नहुँदा विभिन्न खालका अपराधिक घटना घट्ने गरेको उनको भनाइ छ । नेपाली कामदारलाई आफूले गर्ने कामको बारेमा पूर्ण जानकारी हुनुपर्ने र दक्ष कामदार मात्र पठाउनुपर्नेमा उनले जोड दिए ।
सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राखिन् । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उनको भनाई छ । विदेश पुगेका नेपाली कामदारहरु दूतावास र घरमा समेत सम्पर्क गर्न नपाउनेसम्मको अवस्था हुने गरेको भन्दै उनले सहज रुपमा सम्पर्क गर्नसक्ने ग्यारेन्टी हुनुपर्ने बताइन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान् कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताए । स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीलाई नै प्रश्रय दिनुपर्ने उनको भनाइ छ ।
व्यवसायिक कामदारलाई विदेश पठाउन सक्नुपर्ने भन्दै उनले मन्त्रालयले सातै प्रदेशमा ट्रेनिङ सेन्टर सञ्चालन गर्न लागेको पनि जानकारी दिए ।
सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यस सँग सम्बन्धित सरकारी निकायहरु गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालयलगायत उच्च पदाधिकारी बसेर देखिएका विकृति र विसंगति हटाउनुपर्ने बताए ।
यस कामका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत अग्रसरता लिनुपर्ने उनको धारणा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।