logo-img

सबै दृष्टिले हेटौँडा राजधानी उपयुक्त : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै दृष्टिकोणबाट हेटौँडा प्रदेश ३ को स्थायी राजधानीको निमित्त उपयुक्त भएकाले त्यसका लागि राप्रपाको पूर्ण साथ र समर्थन रहने बताएका छन् ।

राजनीतिक तहमा कुनै विवाद गरिरहनु आवश्यक नरहेको भन्दै अध्यक्ष थापाले सबै दललाई सहमति र विश्वासमा लिएर हेटौँडालाई स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए ।

मकवानपुरे समाजको एक प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै थापाले हेटौँडा भौगोलिक, भौतिक एवं हावापानीको दृष्टिकोणले समेत उपयुक्त भएको दाबी गरे ।

बन्दै गरेको फास्ट ट्र्याक, धरान–चतरा राजमार्ग, हेटौँडा–काठमाडौं सुरुङमार्गका कारण हेटौँडा सबैतिरबाट जोडिने भन्दै भविष्यको निमित्त यो अत्यन्त सम्भावना बोकेको स्थान हुनेसमेत उनले बताए ।

हेटौँडालाई राजधानी बनाउन सबै राजनीतिक दलका शीर्ष तहका नेताहरू सकारात्मक भएको आफूले महसुस गरेको भन्दै थापाले मकवानपुरे समाजको चासो र चिन्ताको निमित्त धन्यवाद दिए ।

राजनीतिक वाद तथा आग्रह, पूर्वाग्रहबाट माथि उठेर सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए । 



मकवानपुरे समितिका अध्यक्ष अरुणकुमार गुरुङले तत्कालीन समयमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा हेटौँडालाई अस्थायी राजधानी बनाउन भूमिका खेलेकोमा थापालाई आभार प्रकट गर्दै हेटौँडालाई स्थायी राजधानी बनाउन थप अग्रसरता लिन अनुरोध गरेका थिए ।



  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया