सहिद स्मारक ए डिभिजन लिगमा नेपालका दुई विभागीय टोलीबाहेक अन्य सबै क्लबले विदेशी खेलाडी भित्र्याएका छन् । केही पुराना खेलाडी पुरानै टोलीमा आवद्ध भए भने केहीले टोली परिवर्तन गरेर नयाँ टोलीमा आवद्ध भए ।
विभिन्न क्लबमा आवद्ध भएका केही विदेशी खेलाडी उत्कृष्ट खेल प्रदर्शन गर्दै गेम चेन्जर साबित भएका छन् । उनीहरूको खेलले टोलीको स्तर तथा अंक तालिकालाई उठाउन सघाउ पुगेको छ । यी हुन् गेम चेन्जर विदेशी खेलाडी :
अजयी माटिन्स्
जारी ए डिभिजन लिगको यो सिजनका लागि सातदोबाटो युथ क्लबमा आवद्ध भएका खेलाडी हुन् अजयी माटिन्स् । नाइजेरियाका खेलाडी उनले यसअघि थ्री स्टार क्लबबाट ए डिभिजन लिग खेलेका थिए । यस लिगको तेश्रो चरणमा एपिएफविरुद्ध उनले ह्याट्रिक गरे ।
उनले लिगको छैटौं चरणसम्म आइपुग्दा ४ गोल गरेका छन् । उनको प्रदर्शन सातदोबाटोका लागि गनिएका क्लबसँग प्रतिस्पर्धा गर्न सहज भएको हो । मैदानमा उनले देखाएको खेलले सातदोबाटोलाई जित निकाल्न सहज भइरहेको छ ।
निकोलस फर्नान्डेस
भारतका मिडफिल्डर निकोलस फनान्डेस यस वर्षको ए डिभिजन लिगमा लागि जावलाखेल युथ क्लबका तर्फबाट खेल्दै छन् । उनले हालसम्म टोलीका लागि २ गोल गरेका छन् । पछिल्ला दुई खेलमा जावलाखेलले खेल जित्दै गर्दा उनको गोलले टोलीलाई ठूलो सहयोग मिल्यो वा यो भनौँ कि उनको गोलले पुछरमा रहेको जावलाखेललाई उठाउने काम गर्यो ।
च्यासलविरुद्धको खेलमा जावलाखेलले १–० को जित निकाल्दा उनले गरेको गोल नै निर्णायक बन्यो । त्यस्तै, छैटौँ चरणको खेलको अन्तिम खेलमा सातदोबाटो विरुद्ध २–० को गोल निकाल्दै गर्दा उनले १ गोल गरेका थिए ।
निया आन्द्रेस
क्यामरुनी खेलाडी निया आन्द्रेसले जारी ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबबाट मिडफिल्डर पोजिसनमा खेल्दै आएका छन् । लिगको छैटौँ चरणसम्मको खेलमा पाँच खेलमा राम्रो प्रदर्शन गरेका छन् । मछिन्द्र क्लबका लागि बलियो खेलाडी उनले हालसम्म आफैँले गोल भने गरेका छैनन् । तर, पाँच खेलमा एक गोलको लागि असिस्ट भने गरेका छन् ।
उनको प्रदर्शनले मछिन्द्रलाई मिडफिल्डमा बल पोजिसन बनाउन सजिलो भइरहेको छ ।
फ्राङ्क्लिन टाला
क्यामरुनी फुटबलर फ्राङ्क्लिन टाला जारी ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबमा आवद्ध रहेका छन् । डिफेन्डरको भूमिकामा मैदानमा उत्रिएका उनको प्रदर्शन मैदानभरि नै उस्तै देखिन्छ ।
डिफेन्सदेखि मिडफिल्ड अनि बेला मौकामा गोल गर्न पनि पुग्ने उनले टोलीलाई निकै राम्रो लय दिइरहेका छन् । उनले छैटौं चरणसम्म पाँचवटा खेलमा टोलीको पहिलो ११ को रोजाइमा परेका छन् । उनले हालसम्म १ गोल र १ गोलका लागि असिस्ट गरेका छन् ।
आफ्नो पोजिसनमा खरो उत्रिएका उनले टोलीलाई अन्य स्थानबाट पनि उत्तिकै बलियो साथ दिएका छन् ।
थम्पी अर्नेस्ट
जारी ए डिभिजन लिगमा संकटा क्लबबाट खेलेका क्यामरुनी डिफेन्डर थम्पी अर्नेस्ट टोलीका लागि महत्त्वपूर्ण खेलाडी बनेका छन् । उनले आफ्नो पोजिसनमा निकै राम्रो प्रदर्शन गरेका छन् । उनले टोलीको डिफेन्स लाइनलाई बलियो बनाएका छन् ।
उनी टोलीको पहिलो रोजाइको डिफेन्डर हुन् । उनको प्रदर्शनलाई प्रशिक्षक विष्णु गुरुङले पनि प्रशंशा गर्दै आएका छन् । हालसम्मको ६ खेलमा टोलीका लागि उनी पहिलो रोजाइमा रहेका छन् ।
राफालयल विडियस रिम
थ्री स्टार क्लबमा आवद्ध भएका क्यामरुनी डिफेन्सिभ मिडफिल्डर राफायल विडियम रिमले जारी ए डिभिजन लिगमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।
थ्रि स्टार क्लबका लागि महत्त्वपूर्ण खेलाडी मानिएका उनले ६ खेलमा १ गोलसमेत गरेका छन् । च्यासल युथ क्लबविरुद्धको खेलमा उनले १ गोल गरेका थिए । लिगको पहिलो चरणको खेलमा थ्री स्टार क्लबले चयासल युथ क्लबलाई ३–० को नतिजा हात पार्दा उनले १ गोल गरेका थिए ।
त्यस्तै अन्य अजरबैजानका खेलाडी नुर्लान नोर्भजुभ, नाइजेरियन ओलावाले अफिज जस्ता खेलाडी पनि जारी लिगमा राम्रो प्रदर्शन गरि रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।