बझाङ र बैतडीमा ९ हजार नयाँ मतदाता थपिए

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बझाङ र बैतडीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन शिविरबाट करिब ९ हजार व्यक्तिले नाम दर्ता गराएका छन् । जसमध्ये बझाङमा ३ हजार र बैतडीमा सञ्चालन भएको शिविरमा ५ हजारभन्दा बढी व्यक्तिले आफ्नो नाम दर्ता गराएका हुन् । 

सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र बाहिर जिल्ला गरी सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली विशेष कार्यक्रमअन्तर्गत बझाङमा २ हजार ७ सय १४ जनाले नाम दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रत्येक पालिका केन्द्रमै १० दिनसम्म टोली बसेर फोटोसहितको मतदाता नामावली संकलन गरिएको हो । जिल्लामा २८ मंसिरदेखि ८ पुससम्म सञ्चालन गरिएको शिविमा बुङ्गल नगरपालिकामा ४२९, बित्थडचिर गाउँपालिकामा २५७, केदारस्यूँ गाउँपालिकामा १६६ र दुर्गाथली गाउँपालिकामा १९२ र थलारा गाउँपालिकामा १७० जना नयाँ मतदाताहरूले आफ्नो नाम दर्ता गराएका छन् । 

यस्तै, छबिसपाथिभेरा गाउँपालिकामा १३४, खप्तडछान्ना गाउँपालिकामा १६५, मष्टा गाउँपालिकामा ९९, सुर्मा गाउँपालिका १५४, तलकोट गाउँपालिकामा २५१ र साइपाल गाउँपालिकामा ८६ जना नयाँ मतदाता थपिएका हुन् । त्यस्तै, जिल्ला प्रशासन कार्यालयबाट ३८४, जिल्ला निर्वाचन कार्यालयबाट २०८ जनाले मतदाता नामावली दर्ता गराएका छन् ।

त्यस्तै, ओडिआर (स्थायी ठेगानाकै ठाउँमा मतदान गर्ने गरी) दर्ताका लागि १९ जनाले  मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर प्रेम बोहराले जानकारी दिए ।

बिदाको दिनसमेत गरेर दुई चरणमा सञ्चालन भएको सो अभियानअन्तर्गत १७ मंसिरदेखि २६ मंसिरसम्म पहिलो र २८ मंसिर देखि ८ पुससम्म दोस्रो चरणमा कार्यक्रम सञ्चालन भएको थियो । 



हाल पनि जिल्लाका २ स्थानबाट फोटोसहितको नामावली संकलन कार्य भइरहेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन कार्य भइरहेको हो । जिल्ला प्रशासन निर्वाचन कार्यालयको हकमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म सञ्चालन हुने जनाइएको छ । 

बझाङमा हालसम्म १ लाख २४ हजार १३० बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् । उता बैतडीमा पनि दुई चरणमा सञ्चालन गरिएको मतदाता नामावली संकलन कार्यक्रमबाट ५ हजार ८ सय ११ जनाले नाम दर्ता गराएका हुन् । 



प्रत्येक पालिकाको केन्द्रमै टोली खटाएर फोटोसहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिए । बैतडीमा पहिलो चरणमा डिलाशैनी, सिगास, पञ्चेश्वर गाउँपालिका, मेलौली र पुर्चौडी नगरपालिकामा नाम दर्ता संकलन गरिएको थियो । 

दोस्रो चरणमा दोगडाकेदार, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिइएको थियो । अभियानअन्तर्गत सबैभन्दा बढी पुर्चौडीमा १ हजार २३८ र सबैभन्दा कम पञ्चेश्वरमा ११६ जनाले फाटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका निर्वाचन कार्यालय प्रमुख फुयाँलले बताए । 

उनका अनुसार पाटनमा १ हजार ७, जिल्ला प्रशासनमा ८९२, मेलौलीमा ५१४, दोगडाकेदारमा ४८५, डिलाशैनीमा ४५३, सुर्नयामा ४२८, शिवनाथमा ३३३, सिगासमा २८८ र निर्वाचन कार्यालयमा ५७ जनाले नाम दर्ता गराएका हुन् ।

जिल्लामा रहेका १० मध्ये ९ स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको हकमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म नामदर्ता गर्ने कार्यक्रम जारी रहने निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौडीबाट फोटोसहितको नामावली संकलन कार्य भइरहेको छ । बैतडीमा हालसम्म कुल १ लाख ५० हजारभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् ।

  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १०:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया