ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय टोलीका ५ खेलाडी

नेपालको सबैभन्दा चर्चित लिग ए डिभिजनमा साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीमा रहेका २३ खेलाडीमध्ये २० जनाले खेल्दै छन् ।

हरेक टोलीले १३ खेल खेल्ने लिगको झन्डै आधा खेल सकिँदा साफ च्याम्पियनसिप २०२१ मा राष्ट्रिय टोलीमा रहेका खेलाडीको प्रदर्शनमा दर्शकको विशेष नजर रह्यो ।

२३ मध्ये कप्तान किरण चेम्जोङ, रोहित चन्द र नवयुग श्रेष्ठले भने यो लिग खेलेका छैनन् । किरण र रोहितले विदेशी लिगमा सहभागी छन् भने नवयुगले घाइते भएका कारणले लिग नखेलेका हुन् ।

बाँकी २० खेलाडी भने विभिन्न टोलीमा अनुबन्धित भएर खेल्दै आएका छन् । राष्ट्रिय टोलीका खेलाडी भएका कारण उनीहरू सधैँ जसो क्लबको पहिलो रोजाइमा पर्छन् । 

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय टोलीका खेलाडी

सुनिल बल



मछिन्द्र क्लबबाट ए डिभिजन लिग खेलिरहेका सुनिलको प्रदर्शन राम्रो देखिएको छ ।  उनले क्लबका लागि ४ गोल गरेका छन् ।

छैटौं चरणको खेल सकिँदा क्लबका लागि भाग्यमानी सावित भएका सुनिलको गोल कतिपय अवस्थामा त निर्णायक नै बनेको छ ।



मछिन्द्र क्लबमा फरवार्डका रूपमा खेलिरहेका सुनिलको तीव्र गतिलाई रोक्न विपक्षी टोलीका खेलाडीलाई हम्मेहम्मे पर्ने गर्छ ।

कहाँबाट कति बेला बललाई गोलमा परिणत गर्छन् पत्तै हुँदैन । त्यो नै उनको राम्रो कला हो । उनको यही कलाको उत्कृष्ट प्रदर्शन देखियो, छैटौँ चरणमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध ।

मनाङविरुद्ध इन्जुरी टाइममा उनले फ्रिकिकमार्फत गोल गरेका थिए ।  सायद सुनिलले यस चरणसम्म आइपुग्दा गरेका गोलमध्ये सबैभन्दा महत्त्वपूर्ण र उत्कृष्ट थियो ।

अञ्जन विष्ट

अञ्जन विष्टले उपाधि दाबेदार मानिएको मनाङ मर्स्याङ्दीको कप्तानी गरिरहेका छन् ।

क्‍लबका लागि फरवार्डको भूमिकामा देखिएका अञ्जनले जारी लिगमा २ गोल गरेका छन् ।

उनले पोखरामा पुलिससँगको खेलमा २ गोल गरि टोलीलाई जित दिलाएका थिए । विदेशी फरवार्डसँगै उनको प्रदर्शनले मनाङलाई राम्रो सन्तुलनमा राखेको छ ।

विशाल श्रेष्ठ

हुन त मछिन्द्र क्लब स्टार खेलाडीले भरिपूर्ण क्लब हो । तीमध्ये एक हुन् विशाल श्रेष्ठ । मच्छिन्द्रको लागि गोलरक्षकको भूमिकामा देखा परेका विशालले राम्रो प्रदर्शन गरेका छन् ।

राष्ट्रिय टोलीमा कमै मात्र मौका पाउने विशालले लिगमा भने राम्रो प्रदर्शन गरेका छन् ।

६ मध्ये ५ खेलमा क्लिन सिट राखेका उनले लिगमा एक गोल मात्र खाएका छन् ।

लिगको पहिलो खेलमा एनआरटीका एरिक विष्टले गरेको सानदार फ्रिकिक प्रहार नै उनले खाएको  हालसम्मको एक मात्र गोल हो ।

उनको उत्कृष्ट गोलरक्षा क्षमताले नै हालसम्म मछिन्द्रको अंक तालिका अग्रता कायम छ ।

गौतम श्रेष्ठ

गौतमले आर्मीको राइट ब्याक पोजिसनमा खेल्दै राम्रो प्रदर्शन गर्दै आएका छन् । आर्मीको आक्रमणमा समेत योगदान दिँदै आएका उनले च्यासलविरुद्ध खेलमा जगजित श्रेष्ठका लागि सुन्दर असिस्ट गरेका थिए । उनको प्रदर्शनले टोलीको रक्षा पङ्क्ति बलियो बनेको छ । 

उनको प्रदर्शनले आर्मीका लागि अनुभवि डिफेन्डर दीपक गुरुङ बेन्चमा नै सीमित भएका छन् । 

आशिष लामा

राष्ट्रिय टोलीमा कमै अवसर पाएका आशिष लामाले एपिएफका लागि लिगको पहिलो खेलमा नै गोल गरे पनि त्यसले टोलीलाई जित दिलाउन भने सकेन ।

निकै रोमाञ्चक बनेको उक्त खेलमा एपिएफ ब्रिगेड ब्याइज क्लबसँग ३–२ ले पराजित भएको थियो ।  

क्लबमा अन्य खेलाडीको साथ राम्रो पाउन नसक्दा उनले टोलीका लागि गरेको प्रदर्शनले खासै महत्त्व राखेको थिएन् ।

पाँचौं चरणको खेलबाट विभागीय टोली एपीएफले विदेशी खेलाडी  अनुबन्ध गरेपश्चात भने टोलीको प्रदर्शन नतिजामुखी भएको छ । 

पाँचौं चरणमा फ्रेन्ड्स क्लबसँग भएको खेलमा ३–० को पहिलो जित दर्ता गर्दा उनले २ गोलको योगदान दिएका थिए । उनले जारी लिगमा कुल ४ गोल गरेका छन् ।

यीबाहेक अनन्त तामाङ, मनिष डाँगी, दिनेश राजवंशी, सुजल श्रेष्ठ, दीप कार्कीलगायतले पनि लिगमा राम्रो प्रदर्शन गरिरहेका छन् ।

  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १९:२५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया