सडक सफा विदेशी कि जनताका लागि ?
फाइल तस्बिर

काठमाडाैं- गत असारमा कुनै एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंका सडकमा मैले खाल्डा बनाएको हो र ?’ भन्दै जनतासँग प्रश्न गरे । त्यसपछि अनुत्तरदायी अभिव्यक्ति दिएको भन्दै ओलीको चौतर्फी आलोचना भयो ।

धुलो, धुवाँ र खराब सडकका कारण आक्रान्त काठमाडौंवासीलाई प्रधानमन्त्री ओलीले चार महिनापछि मंगलबार (११ मंसिर) अर्को जवाफ दिए– ‘काठमाडौंको सडकको धुलो सफा गरिन्छ, बढारिन्छ, धोइन्छ । अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ भनेर ।’ 

नभन्दै ओलीले भनेजस्तै काठमाडौंका सडकको धुलो सफा गर्न थालियो । रातारात सडक पखाल्न थालियो । 

तर, यसरी रातारात सडक सफा गर्नुको कारण भने अर्कै थियो । यसको पहिलो र महत्त्वपूर्ण कारण हो– एसिया प्यासिफिक समिट–२०१८ । शुक्रबारबाट आयोजना हुने समिटका लागि नेपाल आउने पाहुनाले प्रयोग गर्ने सडक विशेषगरी सफा गरिएको हो ।

ओलीले मंगलबारको भाषण गर्नुअघि शनिबार नै काठमाडौं महानगरपालिकाले ‘सहरी सौन्दर्य प्रवद्र्धन अभियान’ पनि सुरु गरिसकेको थियो । महानगरको यो अभियानमा सडक सफाइ पनि एउटा मुख्य ‘काम’ थियो ।

एसिया प्यासिफिक समिटलाई मध्यनजर गर्दै सफा गर्न थालिएको सडकलाई देखाउँदै ओलीले काठमाडौंका सडकबाट धुलो र धुवाँ हटाउने घोषणा गरे । सरकारको उपस्थिति देखाउन सडक सफा गर्ने ओलीको दाबी थियो । तर, के ओलीले भनेजस्तै जनताका लागि सडक सफा गरिएको हो त ? 



यदि जनताका लागि सडक सफा गरिएको हुन्थ्यो भने उपत्यकामा धुलो र धुवाँ उड्ने सबै सडक सफा गरिनुपथ्र्यो । नागढुंगा–कलंकी सडकखण्ड सफा गरिनुपर्थ्याे । बौद्ध–जोरपाटी सडक खण्ड सफा गरिनुपर्थ्याे । चापागाउँ दोबाटोबाट खुमलटारतर्फ जाने सडक सफा गरिनुपर्थ्याे । 

बुधबारदेखि उपत्यकाभित्रका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि हयात, याक एन्ड यती, र्याडिसन, द्वारिकाज र सोल्टी होटलसम्म पुग्ने सडक सफा गर्ने काम सुरु भयो । यसको मुख्य कारण यी होटलमा समिटका लागि आउने पाहुना बस्दै छन् । त्यसैले पनि सरकारले पाहुना बस्ने होटलसम्म पुग्ने सडक सफा गरेको हो । 



काठमाडौं र ललितपुर महानगरपालिकाका सडक सफा गर्ने संयन्त्र प्रयोग गरेर सरकारले एसिया प्यासिफिक समिटलाई मध्यनजर गर्दै सडक सफा गरेको हो । 

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरका अनुसार महानगरले सम्मेलनका लागि भनेर सडक सरसफाइमा विशेष ध्यान दिएको छ । महानगरले सडक विभागसँग सहकार्य गरेर उपत्यकाको धूलो न्यूनीकरण गर्न सडक सरसफाइ कायक्रम चलाएको कुवँरको भनाइ छ । जाडो मौसमको सुरुवातमा महानगरले नियमित रूपमा सडक सफाइ गर्ने गरेको उनी बताउँछन् ।

यसअघि गत भदौमा बिमस्टेक सम्मेलनको समयमा विशिष्ट पाहुनाको सवारी हुने भएकाले सडक सफा गरिएको थियो । तिनकुनेमा रहेको ठूलो मैदानको धुलो र फोहोर छोप्न मैदान वरिपरि पोस्टर नै प्रयोग गरिएको थियो ।

त्यो समय बिजुलीबजारमा निर्माणाधीन आर्क ब्रिज(पुल)को निर्माण सामग्री छोप्न ठूलो बोर्डमा प्रधानमन्त्री ओलीको तस्बिरसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पनि लेखिएको थियो ।

जोर–बिजोरको सकस

यही समिटका लागि भनेर महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सवारीका लागि जोर–बिजोर प्रणालीसमेत लागू गरेको छ । विभिन्न राष्ट्रका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूको सवारी आवागमनलाई व्यवस्थित बनाउन गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौं उपत्यकामा १६ मंसिरसम्म जोर–बिजोर प्रणाली लागू गरेको ट्राफिक प्रहरीले बताएको छ ।

सम्मेलनका लागि भनेर ४५ देशका १५ सयभन्दा बढी पाहुना नेपाल आउँदै छन् । सम्मेलनमा सात देशका राष्ट्र÷सरकार प्रमुखसमेत आउनेछन् । विदेशी पाहुनाको आवागमन सहज बनाउने भन्दै महानगरीय ट्राफिक प्रहरीले जोर–बिजोर प्रणाली लागू गरेको छ ।

जोर–बिजोर प्रणालीमा विद्यालय तथा अत्यावश्यक क्षेत्रका सवारीसाधन सहज रूपमा चल्न दिने भनिए पनि विशिष्ट पाहुनाको आगमनको समयमा भने मूल सडक खाली गरिएको छ । 

सफा गरिएको बाटोमा जनतालाई प्रवेश निषेधजस्तै बनाएपछि जनता प्रश्न गर्न थालेका छन्, ‘सरकार कसका लागि ? सडक सफा कसका लागि ?’ 

यसै साता मंगलबार भएको एक कार्यक्रममा ओलीले भनेका थिए, सरकार देखिन भन्नेहरूलाई देखाउनका लागि सरकारले तामझाम गरेको हो । हो, ओलीले भनेजस्तै सरकार देखिन्छ, तर नेपाली जनताका लागि होइन ।
 

  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार ११:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया