डा. केसीका माग सम्बोधन गर्न प्रधानमन्त्री देउवाले गरे ९ बुँदे प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ । उनीहरूबीच बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा डा. केसीका ७ बुँदे माग सम्बोधन गर्ने सम्बन्धमा प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री देउवाले डा. केसीको माग सम्बोधन गर्न ९ बुँदे लिखित प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीले विपि प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने सम्बन्धमा भएका प्राविधिक जटिलता एक/दुई दिनमा सल्ट्याई निकास दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने, चोलेन्द्र शमशेर प्रकरणलाई सम्बोधन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महाअभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनसन्धान व्यूरोलाई जिम्मा दिन र आन्दोलनकारीसँग संवाद गरी सहमति गरी घर फर्किने वातावरण बनाउन गृहमन्त्रीलाई तत्काल निर्देशन दिने प्रतिबद्धता पनि प्रधानमन्त्री देउवाले गरेका छन् ।

त्यस्तै, निजी मेडिकल कलेजलाई विद्यार्थीबाट अवैध रूपमा अतिरिक्त शूल्क लिन नदिने र त्यसो गर्ने कलेज सञ्चालकलाई कानूनको दायरामा ल्याउने, स्वार्थको द्वन्द्व हटाउनेसम्बन्धी कानून मस्यौदा गर्ने कार्यलाई तीव्रता दिन कानुन मन्त्रालयलाई निर्देशन दिने, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन अनुसारको कानुन तर्जुमा गर्नका लागि तीव्रता दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने प्रतिबद्धता समेत प्रधानमन्त्री देउवाले गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न निर्माण सम्पन्न भएका कलेजको हकमा पठाइ सुरु गर्ने र निर्माण सम्पन्न नभएको हकमा निर्माण कार्यलाई तीव्रता दिने, सरकारी स्वास्थ्य संस्थाबाट नि:शूल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा रहेका विद्यमान कमीकमजोरी हटाउन पहल गर्ने, यी प्रतिवद्धताको कार्यान्वयनका सम्बन्धमा सम्बन्धित मन्त्री तथा मन्त्रालयका पदाधिकारीको काम कारबाहीको अनुगमन गर्ने प्रतिबद्धता गरेका हुन् ।



भेटवार्ताका क्रममा डा. केसीले अब उप्रान्त सरकारी कामकाज वा प्रधानमन्त्रीको कार्य सम्पादन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अन्य मन्त्रालय, मन्त्री तथा पदाधिकारीसँग समन्वय गरी गर्न आग्रह गरेका थिए ।

कांग्रेस महामन्त्री गगनकुमार थापाको समन्वयमा भएको भेटघाटमा केसीको तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल, प्रितम सुवेदी, अधिवक्ता मोहना अन्सारी तथा डा. विष्णु पोखरेलसमेत उपस्थित थिए ।



प्रेस नोट

मिति २०७८ पौष १५ गते प्रधानमन्त्री श्री शेरबहादुर देउवा तथा डा. गोविन्द केसी वीच भेटघाट हुँदा डा. केसीका ७ बुँदे माग संवोधन गर्ने सम्बन्धमा प्रधानमन्त्री ज्यूबाट निम्न बमोजिम प्रतिबद्धता भयो ।

१. विपि प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने सम्बन्धमा भएका प्राविधिक जटिलता एक/दुई दिनमा सल्ट्याई निकास दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने ।

२. चोलेन्द्र शमशेर प्रकरणलाई सम्बोधन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महाअभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने ।

३. निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रिय अनसन्धान व्यूरोलाई जिम्मा दिन, आन्दोलनकारीसंग संवाद गरी सहमति गर्न तथा निजहरुलाई घर फर्किने वातावरण बनाउन गृह मन्त्रीलाई तत्काल निर्देशन दिने ।

४. निजी मेडिकल कलेजलाई विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त शूल्क लिन नदिने र त्यसो गर्ने कलेज सञ्चालकलाई कानूनको दायरामा ल्याउने ।

५. स्वार्थको द्घन्द्घ हटाउने सम्बन्धी कानून मस्यौदा गर्ने कार्यलाई तिव्रता दिन कानुन मन्त्रालयलाई निर्देशन दिने ।

६. विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन अनुसारको कानुन तर्जुमा गर्नका लागि तिव्रता दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने ।

७. प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न निर्माण सम्पन्न भएका कलेजको हकमा पठाई सुरु गर्ने र निर्माण सम्पन्न नभएको हकमा निर्माण कार्यलाई तिव्रता दिने ।

८. सरकारी स्वास्थ्य संस्थाहरुबाट निशूल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा रहेका विद्यमान कमीकमजोरी हटाउन पहल गर्ने ।

९. यी प्रतिवद्धताहरुको कार्यान्वयनका सम्बन्धमा सम्बन्धित मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुको काम कारबाहीको अनुगमन गर्ने ।

  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १९:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया