सार्वजनिक भयो ‘चिसो एस्ट्रे’को टिजर, गाउँले मदनलाई सहरिया बन्ने रहर

काठमाडौँ सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बित गर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ । 

चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । उनले आधुनिक बन्न खोज्दा आफैँलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्ममा प्रस्तुत गरेको बताएका छन् । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ दिन्शले भने । 

दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए । जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो । 

निर्देशक दिन्शले कवि भूपी शेरचनले धेरैअघि नै काठमाडौँलाई चिसो एस्ट्रेको विम्बको रुपमा प्रस्तुत गरेको र फिल्म उनको सोही विम्बबाट प्रभावित भएको पनि बताएका छन् । ‘त्यसैले फिल्म पनि सकभर पोइटिक हिसाबले नै बनाउन खोजेका छौँ,’ उनले भने । उनले फिल्मले पाश्चात्य चलचित्रले युवामा पार्ने प्रभावलाई पनि कथ्यमा समेटेको बताएका छन् । 

फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । 

कंगारु क्रियसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सहनिर्मातामा भने रुपेश ढुंगाना र नवीन ढुंगाना रहेका छन् । 



निर्माता महेशबाबु तिमल्सिनाले फिल्म मिहिनेत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए ।

फिल्ममा दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्ममा संगीत भने अजर जंगमको रहेको छ । उज्ज्वल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।



नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्नेछ । फिल्म यही वर्षको चैत ४ मा सार्वजनिक हुँदै छ । 

  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार २०:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया